काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ लाई एनसेलले प्रायोजन गर्ने भएको छ । यही १५ मङ्सिरदेखि सुरु हुने यो टी–२० प्रतियोगितामा एनसेल ‘पावर्ड बाई’ साझेदारको रूपमा आबद्ध भएको हो ।
एनसेल र नेपाल क्रिकेट संघ (क्यान) बीच यसका लागि भएको साझेदारी अन्तर्गत एनसेलले नेपाली क्रिकेट प्रेमीहरूका लागि यो क्रिकेट महोत्सवलाई ऊर्जा प्रदान गर्दै आफ्नै स्थानीय क्रिकेट प्रतिभाको विकासमा योगदान पुऱ्याउने विश्वास लिएको छ ।
यसका लागि गत हप्ता एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र क्यानका सचिव पारस खड्काले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको बताइएको छ ।
क्रिकेट भारतीय उपमहाद्वीपकै सबैभन्दा बढी लोकप्रिय खेलकुद मध्ये एक हो । अन्तर्राष्ट्रिय खेलाडीहरूको समेत सहभागीता रहने एनपीएल भारतको स्टार स्पोर्ट्समार्फत प्रत्यक्ष प्रसारण हुनेछ । एनसेलका सीईओ जाब्बोर यू–१९ महिला क्रिकेट टोलीले पहिलो पटक आईसीसी महिला यू–१९ टी–२० विश्वकपका लागि छनोट भएको उल्लेखनीय उपलब्धि लगत्तै एनपीएलसँग साझेदारी गर्न पाएकोमा खुसी व्यक्त गरे ।
"यसले नेपाली क्रिकेट खेलाडीहरूलाई उत्कृष्ट अनुभव र आफ्नो प्रतिभा प्रदर्शन गर्ने मञ्च प्रदान गर्नेछ । यो हामीमा रहेको खेलकुद क्षेत्र प्रतिको उच्च सम्मान र आकर्षणको प्रमाण हो," उनले भने ।
एनसेलले आफ्ना ग्राहकका लागि लाइभ स्क्रिनिङ मार्फत एनपीएलका खेलहरू आफू जहाँ भएपनि हेर्न सकिने सुविधा प्रदान गर्नेछ । यसका साथै एनसेलले खेल मैदानमा विभिन्न गतिविधि आयोजना गर्दै यो प्रतियोगिताभर ग्राहकका लागि विभिन्न योजनाहरू पनि ल्याउनेछ ।
६ पुससम्म त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने यो प्रतियोगितामा आठ टिमका १६० खेलाडीहरूले कूल ३२ खेल खेल्नेछन् । आठ टिमहरूले राउन्ड-रोबिन फर्म्याटमा प्रतिस्पर्धा गर्नेछन्, जसमा विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौं, लुम्बिनी, पोखरा र सुदूरपश्चिमलाई प्रतिनिधित्व गर्ने टिमहरू छन् ।
क्रिकेट र खेलाडीहरूको विकासमा सहयोग गर्ने लक्ष्यका साथ एनपीएल आयोजना गर्न लागिएको भन्दै सचिव खड्काले यसलाई विश्वकै प्रतिष्ठित क्रिकेट लिगमध्येको एक बनाउन चाहेको बताए ।