काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र टेस्ला तथा स्पेसएक्स कम्पनीका संस्थापक एलन मस्कबीच भिडिओ संवाद भएको छ । शुक्रबार साँझ सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै ओलीले मस्कसँगको संवादबारे जानकारी दिएका हुन् । उनले लेखेका थिए- "अहिले एलन मस्कसँग कुरा गरिरहेको छु ।"
छलफलमा नेपालमा स्टारलिङ्क इन्टरनेट भित्र्याउने विषयमा कुरा भएको बताइएको छ । ओली र मस्कबीच करिब ११ मिनेट माइक्रोसफ्ट टिम्समार्फत कुराकानी भएको थियो । सो क्रममा मस्कले स्टारलिंकको इन्टरनेट सेवा नेपालमा ल्याउने चाहना व्यक्त गर्दै यसको फाइदा र सहुलियतबारे जानकारी गराएका थिए ।
स्टारलिङ्कले भू-उपग्रहमार्फत करिब सय देशमा उच्च गतिको इन्टरनेट सेवा दिइरहेको छ । तर नेपालमा कानुनी अड्चन र नियामकीय चुनौतीका कारण स्टारलिङ्क इन्टरनेटको प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
यसअघि स्टारलिङ्क सन् २०२३ भित्र नेपालमा सेवा सुरु गर्ने योजना बनाएको थियो । त्यस क्रममा नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारीसँग छलफल गरी सेवा विस्तारको तयारी भइरहेको जानकारी दिइएको थियो । तर कानुनी व्यवधानकै कारण स्टारलिङ्क पछि हटेको थियो ।
स्टारलिङ्क नेपाल प्रवेश गर्न नेपालको कानुन कसरी बाधक बन्यो भन्ने पढ्न यहाँ क्लिक गर्नुहाेस् ।
नेपाल सरकारले पछिल्लो नीति तथा कार्यक्रममा भू-उपग्रहमा आधारित इन्टरनेट सेवा सञ्चालन गर्ने योजना ल्याएपछि भने स्टारलिङ्क उत्साही देखिएको छ । कम्पनीले आफ्ना प्रतिनिधि पठाई सरकारी स्तरमा छलफल चलाइरहेको छ । एक महिनाअघि स्टारलिङ्कका प्रतिनिधिले प्रधानमन्त्री ओली र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटी नेपालका दुर्गम र विकट क्षेत्रमा इन्टरनेट पुर्याउने योजना प्रस्ताव गरेका थिए ।
यसैबीच प्रधानमन्त्री ओलीले संवादका क्रममा मस्कलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल एक्समा मस्कलाई भ्रमणको निम्तो दिएको जानकारी दिए । मस्कले यसबारे के प्रतिक्रिया दिए भनेर खुलाइएको छैन ।
A short while ago, during my conversation with Mr. Elon Musk, I extended an invitation for him to visit Nepal. @elonmuskpic.twitter.com/dGYx9YpwjU
प्रधानमन्त्री ओलीले मस्कमार्फत अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई समेत दिएका थिए । मस्कले हालै सम्पन्न अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई जिताउन महत्त्वपूर्ण सहयोग गरेका थिए । यसपछि ट्रम्पले मस्कलाई अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसियन्सीको नेतृत्वमा नियुक्त गर्ने घोषणा गरेका छन् । यो नियुक्तिले मस्कलाई अमेरिकी प्रशासनको केन्द्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अवसर दिएको छ ।