काठमाडौं । चिप निर्माता एनभिदियाले ‘कहिल्यै नसुनेका ध्वनि’ बनाउने दाबी गर्दै नयाँ एआई म्युजिक एडिटर टुल सार्वजनिक गरेको छ । एक ब्लग पोस्ट लेख्दै एनभिदियाले ‘फुगाटो’ (Fugatto) नामक नयाँ टुल घोषणा गरेको हो ।
कम्पनीका अनुसार यो टुलले अनौठा र कहिल्यै नसुनेका ध्वनि सिर्जना गर्न सक्छ । यसका लागि टुलले टेक्स्ट र अडिओ दुवै इनपुट लिन्छ । प्रयोगकर्ताले दिने तिनै टेक्स्ट र अडिओका आधारमा टुलले संगीत, ध्वनि तथा भाषण तयार पारिदिन्छ ।
एनभिदियाले शेयर गरेको टुलको नतिजामा एउटा बाजाको आवाजलाई आधार बनाएर भिन्नभिन्न ध्वनि बनाएको सुन्न सकिन्छ । त्यस्तै गीतबाट आवाजमात्र निकालेको, मानिसको आवाज परिवर्तन गरेर नयाँ स्वर, लय र भाव दिएको आवाज पनि सुन्न सकिन्छ ।
यस्तो क्षमताको टुल बनाउन कम्पनीले बीबीसीको साउन्ड इफेक्ट लाइब्रेरी सहितका डेटासेट प्रयोग गरेको जनाएको छ । हाल बजारमा स्टेबिलिटी एआई, ओपनएआई, गुगल डीपमाइन्ड, एडोबी लगायतका कम्पनीहरूले यस प्रकारका टुल सार्वजनिक गरिसकेका छन् ।
एनभिदियाको फुगाटो कहिलेदेखि वा कसरी उपलब्ध हुनेछ भन्ने स्पष्ट जानकारी आइसकेको छैन ।