काठमाडौं । टिकटकले १८ वर्ष मुनिका प्रयोगकर्तालाई ब्युटी फिल्टर प्रयोग गर्न प्रतिबन्ध लगाउने भएको छ । अनलाइन ब्युटी फिल्टरहरूको प्रयोगले आत्मसम्मान घट्दै गएको र मानसिक स्वास्थ्यमा असर बढ्दै गएको भन्दै टिकटकले ब्युटी फिल्टरहरूमा कडा प्रतिबन्ध लगाउन लागेको हो ।
टिकटकको प्रेस विज्ञप्ति अनुसार पहिलो चरणमा आउँदो सातादेखि युरोपका प्रयोगकर्तामाझ यो नियम लागू हुनेछ । यसपछि आँखा ठूलो देखाउने, ओठ मोटो बनाउने, छालाको रङ मुलायम बनाउने जस्ता ब्युटी फिल्टर किशोरीहरूले प्रयोग गर्न सक्ने छैनन् । वास्तविक मेकअपबाट नभई कृत्रिम तरिकाको मेकअपबाट हुने परिवर्तन रोक्न यस्तो कदम चालेको टिकटकले जनाएको छ ।
यसअघि गैरनाफामूलक संस्था 'इन्टरनेट म्याटर्स' ले तयार पारेको एक प्रतिवेदनमा ब्युटी फिल्टरले 'संसारलाई विकृत रूपले देखाउने' र 'सामाजिक दबाब सिर्जना गर्ने' उल्लेख गरेको थियो । फिल्टरले परिवर्तन गरेका अनुहार र फोटोलाई बालबालिकाले वास्तविक ठान्दा मानसिक समस्या देखिएको प्रतिवेदनको निष्कर्ष छ ।
टिकटकले खरायोको कान र कुकुरको नाक जस्ता फिल्टरमा भने प्रतिबन्ध लगाउने छैन । यो नयाँ नियम प्रयोगकर्ताले एपमा राख्ने उमेर अनुसार लागू हुने बताइएको छ ।
एपले बालबालिकाको मानसिक स्वास्थ्यमा प्रभाव पारेको विषयमा टिकटकले सरकारी संयन्त्रबाट पटक-पटक चेतावनी पाइरहेको छ । यसले गर्दा कम्पनीले १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई प्लेटफर्मबाट हटाउने प्रणाली ल्याउन लागेको समेत बताइएको छ ।
यसैबीच टिकटकले १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताका अकाउन्ट पहिचान गर्न नयाँ मसिन-लर्निङ प्रविधि परीक्षण भइरहेको जानकारी दिएको छ । यसपछि नियम उल्लङ्घन गर्ने झन्डै ६० लाख अकाउन्ट हरेक वर्ष हट्ने बताइएको छ ।