काठमाडौं । एक अध्ययनले भेपिङ अर्थात् विद्युतीय चुरोटका कारण मानव शरीरमा रक्तनलीको कार्यक्षमतामा तत्काल प्रभाव पर्ने देखाएका छ । रेडियोलोजिकल सोसाइटी अफ नर्थ अमेरिकाको वार्षिक साधारण सभामा प्रस्तुत उक्त रिपोर्टले यस्तो तथ्य बाहिर ल्याएको हो ।
भेप नामले चिनिने ई-सिगरेट ब्याट्रीद्वारा सञ्चालित चुरोटको डिजिटल स्वरूप हो । यसमा ब्याट्रीको तापले त्यसमा हुने तरल पदार्थलाई एइरोसोलमा रूपान्तरण गर्छ ।
भेप तान्ने व्यक्तिले त्यसैलाई धुवाको रूपमा फोक्सोभित्र लिन्छन् । चुरोटभन्दा भेपमा रसायन र टक्सिन कम समावेश गरिएको हुन्छ । त्यसैले धेरैलाई भेप चुरोट जति हानिकारक हुँदैन भन्ने भ्रम हुन्छ । तर, यस अध्ययनले भने तत्काल स्वास्थ्यलाई असर पर्ने देखाएको हो ।
“ई-सिगरेटलाई लामो समयदेखि परम्परागत चुरोटको तुलनामा कम हानिकारक विकल्पका रूपमा प्रचार गरिएको छ,” अर्कान्सस विश्वविद्यालयको मेडिकल साइन्सेस, लिट्ल रककी चिकित्सक मारियन नाबाउटले भनेकी छिन्, “धेरै जसोले ई-सिगरेटमा परम्परागत चुरोटमा हुने हानिकारक पदार्थ जस्तै फ्रि रेडिकल्स हुँदैन भन्ने सोच्छन् । किनभने यसमा जल्ने प्रक्रिया हुँदैन ।”
भेपिङले चुरोटभन्दा कम विषालु रसायनसँग सम्पर्क गराए पनि रक्तनलीको कार्यक्षमता र समग्र स्वास्थ्यमा भने नकारात्मक प्रभाव पार्न सक्ने उक्त रिपोर्टले देखाएको छ । पेन्सिलभानिया विश्वविद्यालयमा गरिएको अध्ययनमा डा. म्यारियन नाबाउट र उनका सहकर्मीहरूले चुरोट र ई-सिगरेट (निकोटिनसहित र बिना) को प्रयोगले रक्तनलीको कार्यक्षमतामा तत्काल पार्ने प्रभाव पत्ता लगाउने प्रयास गरेका थिए ।
अध्ययनमा २१ देखि ४९ वर्षका ३१ जना स्वस्थ चुरोट र भेपिङ प्रयोगकर्ताहरूलाई समावेश गरिएको थियो । उनीहरूलाई तीन छुट्टाछुट्टै सेसनमा सहभागी गराइएको थियो ।
यसका हरेक सेसनमा दुई पटक एमआरआई परीक्षण गरिएको थियो । पहिलोमा निकोटिन भएको ई-सिगरेट पिएपछि परीक्षण गरिएको थियो । त्यसपछि निकोटिन नभएको ई-सिगरेट पिउन लगाएर परीक्षण गरिएको थियो ।
अध्ययनका क्रममा रक्त प्रवाह रोक्न तिघ्राको माथिल्लो भागमा रक्तप्रवाह रोक्ने एउटा बेल्ट जस्तो उपकरण लगाएर परीक्षण गरियो । बेल्ट हटाएपछि तिघ्राको मुख्य धमनीमा (फेमोरल धमनी) रगत कति छिटो बग्छ र शरीरबाट मुटुतर्फ फर्किने रगतमा कति अक्सिजन छ भन्ने जाँच गरियो ।
त्यसपछि धूम्रपान र भेपिङ गर्ने व्यक्तिहरूको डेटा २१ देखि ३३ वर्ष उमेर समूहका धूम्रपान नगर्ने र भेपिङ नगर्ने १० व्यक्तिको स्क्यानसँग तुलना गरियो ।
यसबाट भेपिङ वा धूम्रपान गरेपछि तिघ्राको धमनीमा रगत बग्ने गति घट्छ भन्ने पत्ता लागेको उक्त रिपोर्टमा उल्लेख छ । यस धमनीले तिघ्रा र तल्लो शरीरमा अक्सिजन युक्त रगत पुर्याउँछ ।
निकोटिन भएको ई-सिगरेटले सबैभन्दा धेरै असर पुर्याएको उक्त अध्ययन रिपोर्टले देखायो । तर, निकोटिन नभएको ई-सिगरेटले पनि रक्तप्रवाह र अक्सिजन ग्रहण गर्ने फोक्सोको क्षमतामा कमी ल्याएको पाइएको थियो ।
डा. नबाउटले भनेकी छिन्, “यस अध्ययनले धूम्रपान र भेपिङले मानव शरीरका विभिन्न रक्त प्रणालीमा तत्काल कस्ता असर पर्छन् भन्ने देखाउँछ । यदि एउटा ई-सिगरेटको सानो मात्राको सेवनले धमनीहरूमा तत्काल प्रभाव पार्न सक्छ भने लामो समयको प्रयोगले रक्तनली सम्बन्धी रोग निम्त्याउन सक्छ भन्ने अनुमान गर्न सकिन्छ ।”
उनका अनुसार भेपिङ पूर्ण रूपमा सुरक्षित छैन भन्ने यस अध्ययनबाट देखिएको छ । “अन्ततः यस्ता उत्पादनहरूको नियमनमा वैज्ञानिक प्रमाणको भरमा सार्वजनिक स्वास्थ्यको पक्षमा निर्णय गर्नुपर्छ । धूम्रपान र भेपिङबाट टाढा रहँदा राम्रो हुन्छ,” उनले थपिन् ।