close

राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टले अब ४८ देशबाट क्यूआर भुक्तानी प्राप्त गर्न सक्ने

टेकपाना टेकपाना

मंसिर २५, २०८१ ८:१२

राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टले अब ४८ देशबाट क्यूआर भुक्तानी प्राप्त गर्न सक्ने

काठमाडौं । डिजिटल भुक्तानी प्रणालीलाई विश्वस्तरमा विस्तार गर्ने उद्देश्यसहित राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (नेपालपे) बीच क्रसबोर्डर भुक्तानीको सम्झौता भएको छ । यो सम्झौतापश्चात् नेपालपे क्युआरमार्फत विश्वका करिब ४८ देशसँग आबद्ध अलिपे प्लस नेटवर्कमार्फत भुक्तानी प्राप्त गर्न सकिने छ ।

सम्झौताअनुसार नेपाल क्लियरिङ हाउसले यो सेवाको सहजीकरण गर्नेछ । यससँगै नेपालपे क्यूआर लिएका राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टहरूले अन्तर्राष्ट्रिय ग्राहकहरूसँग भुक्तानी लिन सक्ने भएका छन् । 

यो सेवा विशेषगरी चीन, थाइल्याण्ड, हङकङ, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, दक्षिण कोरिया, स्विडेन, इटालीजस्ता देशका पर्यटकहरूका लागि उपयोगी हुने बताइएको छ । उनीहरूले आफ्नै देशका वालेट प्रयोग गरेर नेपालमा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् ।

राष्ट्रिय वाणिज्य बैंकले नेपालपे क्यूआर हालसम्म नलिएका ग्राहकहरूलाई आफ्नो नजिकको शाखामा सम्पर्क गरी यो सुविधा लिन आग्रह गरेको छ । यस किसिमका क्रसबोर्डर भुक्तानी प्रणालीले नेपालको पर्यटन, व्यापार र डिजिटल अर्थतन्त्रमा नयाँ सम्भावना ल्याउने बैंकको विश्वास छ ।

यसअघि अन्तरदेशीय भुक्तानी र नेपालको रिटेल पेमेन्ट सिस्टमलाई विश्वव्यापी रूपमा चिनाउन नेपालपे क्यूआर र अलिपे प्लसबीच साझेदारी भएको थियो ।

पछिल्लो अध्यावधिक: मंसिर २५, २०८१ ८:१५