close

सस्तोमा आईफोन पाइन्छ भन्दै फेसबुकमार्फत ठगी गर्ने ३ जना पक्राउ

टेकपाना टेकपाना

मंसिर २६, २०८१ १०:३८

सस्तोमा आईफोन पाइन्छ भन्दै फेसबुकमार्फत ठगी गर्ने ३ जना पक्राउ

काठमाडौं । फेसबुकमा सस्तोमा आईफोन बिक्रीमा राखेर ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार काठमाडौंका विभिन्न स्थानबाट ठगीमा संलग्न तीन जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा झापा घर भएका २१ वर्षीय अजित भण्डारी, गोरखा घर भएका १९ वर्षीय विपिन मक्राती र नुवाकोट घर भएकी २१ वर्षीया मधु तामाङ रहेका छन् । कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पछिल्लो समय पीडितहरूले आफूहरू ठगिएको भन्दै उजुरी दिएका थिए । त्यसैका आधारमा अनुसन्धान गर्दै जाँदा अजित भण्डारीको संलग्नता देखियो । त्यसपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्‍यो । त्यस क्रममा भण्डारीले तीन जना मिलेर ठगी गरेको खुलाएपछि मक्राती र तामाङलाई पनि नियन्त्रणमा लिएको हो । 

सोधपुछका क्रममा उनीहरूले फेसबुक मार्केटप्लेसमा सस्तोमा आईफोनको विज्ञापन राख्ने गरेको खुल्यो । “उनीहरू फेसबुक मार्केटप्लेसमा विज्ञापन राख्ने रहेछन्,” प्रहरी उपरीक्षक आचार्यले भने, “सस्तो देखेर किन्न आउने मान्छेलाई फोन अन्तिम हो, ठाउँ टाढा छ, पैसा पहिले नतिरे अर्कोले लिन्छ भनेर रकम पठाउन लगाउने रहेछन् । पैसा पाइसकेपछि ब्लक गर्ने, गायब हुने रहेछन् । यसरी तीनै जनाले मिलेर ठगी गरेको देखियो ।”

उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २६, २०८१ १०:४३