close

जेमिनाई एआईले अब गुगल ड्राइभ फोल्डर भित्रका सामग्रीको समेत सारांश दिने

टेकपाना टेकपाना

मंसिर २८, २०८१ १४:४१

जेमिनाई एआईले अब गुगल ड्राइभ फोल्डर भित्रका सामग्रीको समेत सारांश दिने

 

काठमाडौं । अब गुगल ड्राइभका फोल्डरभित्र रहेका सामग्रीहरूको समेत एआईले समरी अर्थात् सारांश उपलब्ध गराउने भएको छ । गुगल ड्राइभमा जेमिनाई एआईलाई एकीकृत गरी यस्तो सुविधा उपलब्ध हुने भएको हो ।

यससँगै अब गुगलको एआई असिस्टेन्ट (सहायक) ले कुनै प्रोजेक्ट सम्बन्धी प्रश्नको उत्तर दिने वा कागजातहरूको सङ्क्षेपमा प्रस्तुत गर्ने मात्र नभई, फोल्डरभित्र रहेका सबै सामग्रीको सारांश पनि तयार पार्न सक्छ ।

यसका लागि गुगल ड्राइभमा रहेको कुनै पनि फोल्डर खोलेर माथिल्लो भागमा रहेको समराइज दिस फोल्डर (Summarize this folder) भन्ने नयाँ बटन चयन गर्नु पर्ने हुन्छ । त्यसपछि जेमिनाईले फोल्डरको सामग्रीको विवरण प्रस्तुत गर्छ । गुगलका अनुसार, जेमिनाई प्रयोग गरी फोल्डरभित्रका विशेष फाइलहरू खोज्न वा "यो फोल्डरको मुख्य विषयवस्तु के हो ?" (What is the theme of this folder?) जस्ता प्रश्नहरू सोध्न सकिन्छ ।

यस बाहेक तपाईँले जेमिनाईको साइडबारमा फोल्डरलाई तानेर राख्न पनि सक्नुहुन्छ, वा कुनै फोल्डरमा राइट-क्लिक गरेर ''आस्क जेमिनाई'' (Ask Gemini) भन्ने विकल्प चयन गर्न सक्नुहुन्छ ।

हाललाई, गुगलले जेमिनाईलाई लिखित कागजात, पीडीएफ, स्प्रेडशिट र प्रिजेन्टेसन फाइलहरूसम्म सीमित गरिएको बताएको छ । तर, नाइनटुफाइभगुगलले यो टुल परीक्षण गर्दा जेमिनाईले फोल्डरभित्र रहेका तस्विरहरू पनि पहिचान गर्न सक्ने जनाएको छ।

गुगलले पहिलो पटक जेमिनाईलाई गत जुन महिनामा ड्राइभ, डक्स, शिट्स, र स्लाइड्सको साइडबारमा दिन थालेको थियो । फोल्डर सारांश सुविधा अहिलेलाई भने गुगल वन एआई ग्राहक, जेमिनाई बिजनेस, इन्टरप्राइज, एजुकेसन, र एजुकेसन प्रिमियम प्रयोगकर्ताहरूका लागि उपलब्ध हुँदैछ ।

पछिल्लो अध्यावधिक: मंसिर २८, २०८१ १४:४१