close

नास्टमा ४० पदका लागि जागिर खुल्यो, अनलाइनबाट आवेदन दिन सकिने

टेकपाना टेकपाना

मंसिर २८, २०८१ १५:५७

नास्टमा ४० पदका लागि जागिर खुल्यो, अनलाइनबाट आवेदन दिन सकिने

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) ले ठूलो सङ्ख्यामा कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै नास्टले सहायकदेखि अधिकृत तहसम्म ४० पदमा ४३ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

नास्टले खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्न लागेको हो । आवेदन खुलेका पदहरूमा मुख्य प्रशासकीय अधिकृत (प्रथम), वरिष्ठ वैज्ञानिक अधिकृत (द्वितीय), प्रशासकीय अधिकृत (तृतीय), अटोमोबाइल प्राविधिक अधिकृत, बायोमेडिकल इन्जिनियरिङ प्राविधिक अधिकृत लगायत छन् ।

यी सबै पदहरूको लागि लिखित, प्रयोगात्मक र अन्तर्वार्ता परीक्षा हुनेछ । परीक्षा केन्द्र काठमाडौँमा नै रहने छ भने सबै पदको लिखित परीक्षा लोक सेवा आयोगले लिनेछ ।

इच्छुक व्यक्तिहरूले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, कर्मचारी प्रशासन नियमावली, २०६४ (संशोधनसहित) अनुसार १८ पुससम्म नियमित शुल्कमा र २५ पुससम्म दोब्बर दस्तुर तिरी नास्टको वेबसाइटमार्फत आवेदन दिन सकिने सूचनामा उल्लेख छ । तर हालसम्म वेबसाइटमा सूचना राखिएको छैन ।

यसैगरी, नास्टले कार्य क्षमता मूल्याङ्कनद्वारा हुने बढुवाका लागि पनि दरखास्त दिन आह्वान गरेको छ । कुल १२ पदको बढुवा गर्न लागेको नास्टले कर्मचारीहरूलाई सूचना प्रकाशित भएको ३० दिन भित्र आवेदन दिन अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २८, २०८१ १५:५७