काठमाडौं । र्यापर एवं सफ्टवेयर इन्जिनियर उत्साह जोशी (युनिक पोइट) र आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले सँगै गाएको गीत हेभीको म्युजिक भिडिओ सार्वजनिक भएको छ । शुक्रबार जोशीले आफ्नो युट्युब च्यानलमा गीतको म्युजिक भिडिओ अपलोड गरेका हुन् ।
करिब चार महिनाअघि जोशीले 'हेभी/शुभप्रभात' शीर्षकमा गीत सार्वजनिक गरेका थिए । गीतको शब्द उनी आफैंले लेखेका हुन् । उनका अनुसार गीतमा प्रयोग गरिएको म्युजिक र युवतीको आवाज एआईको हो ।
"धेरैले यो गीत गाउने नेपाली युवती को हुन् भन्ने जिज्ञासा राख्नु भएको थियो," जोशीले टेकपानासँगको कुराकानीमा भने, "त्यसमा एआईकै आवाज र म्युजिक प्रयोग गरिएको छ ।" गीत बनाउन उनले सुनो एआई (Suno AI) प्रयोग गरेका छन्, जुन टुल नि:शुल्क छ ।
जोशीका अनुसार यस म्युजिकको आधिकारिक भिडिओमा एआई र भर्चुअल रियालिटीको विषयलाई प्रेमिल ढंगले प्रस्तुत गरिएको छ । भिडिओमा भर्चुअल रियालिटीका माध्यमबाट मानिसहरू कहाँसम्म पुग्न सक्छन् भन्ने कथावस्तु देखाइएको छ ।
जोशीका अनुसार यो भिडिओ नेटफ्लिक्सको ब्ल्याक मिरर सिरिजबाट प्रभावित भएर ल्याइएको हो । प्रविधिको डार्क साइड देखाउने सिरिजका रूपमा ब्ल्याक मिरर परिचित छ ।
यसअघि पनि एक नेपाली साङ्गीतिक ब्यान्ड द भाइब्जले एआई प्रयोग गरेर म्युजिक भिडिओ बनाएको थियो ।