close

चर्चित र्‍यापर युनिक पोइट विश्वविख्यात आईटी कम्पनी टिम भ्युअरमा सफ्टवेयर इन्जिनियर

हिक्मत आचार्य हिक्मत आचार्य

मंसिर २०, २०८१ २०:३

चर्चित र्‍यापर युनिक पोइट विश्वविख्यात आईटी कम्पनी टिम भ्युअरमा सफ्टवेयर इन्जिनियर

काठमाडौं । नेपाली समाजको मध्यम वर्गीय परिवारका प्रायः युवा युवतीमा एउटा समान विशेषता हुन्छ; दुई सपना अनि तिनै बीचको रस्साकस्सी । एउटा उनीहरूको आफ्नै सपना हुन्छ, जुन पूरा हुने आशामा सदैव मनमा गुम्सिएर बस्छ । अनि अर्को परिवारको सपना, जसले मन र मस्तिष्क दुवैको आड पाएको हुन्छ । 

यी दुई सपनाको प्रतिस्पर्धामा कसले बाजी मार्छ ? त्यो त समयकै खेलमा भर पर्छ । कतिपय युवायुवती आमाबुबा वा अभिभावकको सपना तर्फ लम्किन्छन् । तर केही भने ती सपना थाती राखी आफ्नै सपनाको गन्तव्य तर्फ लाग्छन् ।

यस्तै परिस्थितिबिच रुमलिएका एक पात्र हुन्, नेपाली र्‍यापर युनिक पोइट । नाम जस्तै उनको जीवन यात्रा पनि युनिक अर्थात् पृथक् छ ।

नेपाली र्‍यापलाई माया गर्ने, बुझ्न खोज्ने वा चासो राख्ने अधिकांशले चिन्ने नाम हो ‘युनिक पोइट’ । उनै युनिक पोइटको वास्तविक नाम ‘उत्साह जोशी’ हो भन्ने थोरैलाई मात्र थाहा छ । बाल्यकालदेखि नै कम्प्युटरमा दख्खल राख्ने जोशी सफ्टवेयर इन्जिनियर पनि हुन् । उनी कसरी र्‍यापर बने ? र्‍यापको यात्रामा लागेका उनी एक समय पढाई नै छोड्ने अवस्थामा कसरी पुगे ? अनि फेरि सफ्टवेयर इन्जिनियर बन्ने सपना कसरी देखे ? पढ्नलाई उनले केकस्ता दुःख सङ्घर्ष झेल्नु पर्‍यो ? प्रायः कमैले देखेको र्‍यापर युनिक पोइट भित्रको यो  पृथक् सफ्टवेयर इन्जिनियरको पाटो कस्तो होला ?

सफ्टवेयर इन्जिनियर बन्ने सपनाको जग बसाल्ने बाल्यकाल

२ फागुन २०५० मा काठमाडौंको एउटा मध्यमवर्गीय परिवारमा उत्साह जोशीको जन्म भयो । ठ्याक्कै मिति त यकिन छैन, तर उनी चारदेखि पाँच वर्षका थिए, सायद । त्यस बखत उनको घरमा ‘पेन्टम वन कम्प्युटर’ भित्रिएको थियो । यो मुख्यतः उनका दाइका लागि ल्याइएको थियो । त्यही कम्प्युटरमा उनका दाइ विभिन्न अनलाइन गेम खेल्थे । जोशीका बाल्यकालका दिन त्यही कम्प्युटर वरिपरि बित्ने गर्दथे । दाइले कम्प्युटरमा गेम खेल्दा मनिटरको पर्दामा देखिने दृश्य, आवाज र ती ससाना पात्रको चञ्चलताले बालक उत्साहलाई लोभ्याउँथे । 

“त्यो कम्प्युटरमा दाइ गेम खेल्नु हुन्थ्यो,” उनी सम्झिन्छन्, “दाइले मलाई खेल्न दिनु हुँदैन थ्यो । म हेरेरै बस्थेँ । त्यसमा गेम खेल्नु मेरा लागि भने सपना जस्तै थियो ।”

ती पलले नै उनलाई कालान्तरमा गेम बनाउन प्रेरित गर्‍यो । उनी दाइले गेम खेलेको हेरेरै आफू कुनै दिन गेम बनाउने कल्पना गर्थे । त्यसबेला कक्षा ८, ९ र १० मा केही विद्यालयले कम्प्युटर विषय पनि समावेश गरेका थिए । जोशी त्यही पुस्तामा पर्छन्, जसले पाठ्यक्रममा कम्प्युटर विषय पढ्ने मौका पायो । 

विद्यालयका शिक्षकले विद्यार्थीलाई कम्प्युटरको व्यवहारिक ज्ञान दिन समय समयमा ल्याब लैजाने गर्दथे । त्यहाँ सामान्य विषयको जानकारी दिइन्थ्यो । जोशी विद्यालयमा शिक्षकले सिकाएको कम्प्युटरको व्यवहारिक सीप घरमा आइ उपयोग गर्थे । दैनिक प्रयोग गर्दा उनलाई कम्प्युटरको सामान्य ज्ञान भइसकेको थियो । पाठ्यक्रममा सिकाइएका सीपले मात्रै उनी सन्तुष्ट हुँदैनथे । जोशी कम्प्युटरभित्र लुकेका अन्य रहस्य र सीप सिक्न हरहमेसा आतुर हुन्थे । “अरू कम्प्युटरकै कोर्समा केन्द्रित हुन्थे, म भने सरले सिकाएका आधारभूत ज्ञानबाहेक अरू कुरा सिक्न खोज्थेँ,” जोशी भन्छन् ।

जे सिके पनि उनको लक्ष्य  एउटै थियो, गेम बनाउने । सिक्दै जाँदा त्यति बेलै उनले क्यूबेसिक मार्फत विन्डोज ९८ को क्लोन बनाए । अर्थात् ठ्याक्कै उस्तै देखिने अपरेटिङ सिस्टम निर्माण गरे । क्युबेसिक माइक्रोसफ्टले १९८० को दशकमा विकास गरेको प्रोग्रामिङ ल्याङ्ग्वेज हो ।  

उनले त्यसै मार्फत युजर इन्टरफेस सहितको विन्डोज ९८ को क्लोन तयार पारे । त्यसमा डार्क मोड, लाइट मोड, साउन्ड प्ले गर्ने, त्यसै भित्र गेम खेल्ने, आइकनहरू राख्न मिल्ने ओएस बनाएको थिए । प्रोग्रामिङ ल्याङ्ग्वेज सिकेपछि गरेको उपलब्धि सुनाउँदै जोशी भन्छन्, “यसरी अरू साथीहरू कोर्सकै ज्ञानमा सीमित भए पनि म भने अतिरिक्त केही गर्न खोजिरहेको हुन्थें ।” त्यही समयमा उनले डार्क बेसिक नामक अर्को प्रोग्रामिङ ल्याङ्ग्वेज पनि सिक्न थाले । 

यो खासगरी गेम बनाउका लागि उपयुक्त हुने प्रोग्रामिङ ल्याङ्ग्वेज हो । जोशी दिनरात लागेर उक्त प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्न थाले । उनले डार्क बेसिक सिकेपछि केही गेम पनि बनाए । त्यही गेम स्कुलका साथीहरूलाई देखाए । त्यस बेला उनी कक्षा १० मा पढ्थे । गेमबाट प्रभावित भएका उनका शिक्षकले जागिर उपलब्ध गराउने ग्यारेन्टी दिए । शिक्षकको भनाइ उद्धत गर्दै जोशी भन्छन्, “एसएलसी सकेपछि वेब डेभलपमेन्ट सिक्, तँलाई म काम लगाइदिन्छु भनेर सरले भन्नु भएको थियो । कम्प्युटरको बारेमा आफूले थाहा पाएको कुरा सरलाई सुनाएपछि उहाँ मलाई राम्रै मान्नु हुन्थ्यो ।” 

उनलाई कक्षा ११/१२ मा कम्प्युटर साइन्स नै पढ्ने इच्छा थियो । तर, त्यति बेला देशकै राजधानी काठमाडौंमा कम्प्युटरलाई त्यति प्राथमिकता दिइँदैनथ्यो । कम्प्युटरबारे राम्रो प्रभाव नभइसकेको अवस्थामा जोशीको परिवारले उनलाई सहजै कम्प्युटर पढ्न दिने अवस्था थिएन । बाबुआमा त उत्साह डाक्टर बनुन अनि सेतो कोटमा सजिएर बिरामीको सेवा गरुन् भन्ने चाहन्थे । त्यसैले प्लस टुमा उनलाई जीव विज्ञान पढ्न जोड दिए । आफ्नो कम्प्युटर पढ्ने चाहनामा अडिग जोशी एक्लै परेपछि अन्ततः परिवारको इच्छा पुरा गर्न जीव विज्ञान पढ्ने भए । 

कम्प्युटरतिरको रुची, जीव विज्ञानको पढाइ अनि र्‍यापको यात्राबिचको संयोग

क्षणिक रूपमा उनले आफ्नो चाहना लत्याएर परिवारकै चाहना अनुरूप प्लस टुमा जीव विज्ञान पढ्न थाले । तर, मनै त हो, आफ्ना चाहाना त्यसै लत्याइदिन कहाँ पो मान्थ्यो र ? “त्यसै कारणले परिवारमा ठुलो विद्रोह पनि भयो,” जोशी सुनाउँछन्, “आफूले चाहेको विषय पढ्न नपाएपछि अरूले चाहेको विषय किन पढ्नु जस्तो लाग्यो । म हावा भएँ । म बिग्रिएँ ।”

त्यही बेला उनलाई र्‍यापको बेगले छोयो । केटो पढ्छ है भन्ने देखाउन उनी कलेज त जान्थे । तर, ध्यान पढाइमा जाँदैनथ्यो । उनी कक्षा कोठाको अन्तिम बेञ्चमा बस्थे । अनि बायोलोजी, केमेस्ट्री, म्याथ, फिजिक्सका नोटबुकमा आफ्ना भावना र्‍यापका रूपमा पोख्थे । 

हुन त बाल्यकालमै जोशीको मस्तिष्कमा कविताको रस पसिसकेको थियो । उनले आफ्नो पहिलो कविता नै कक्षा ३ मा पढ्दाताका नै लेखेका थिए । तर, कम्प्युटरप्रतिको रुचिले कता हो कता उनको काव्यिक मस्तिष्कलाई दबाएर राखेको थियो । 

कम्प्युटर साइन्सप्रतिको मोह र परिवारको डाक्टर बनाउने अडानको द्वन्द्वले उनी भित्रको काव्यिक कोपिला फक्रिन नपाउँदै थिचिएका थिए । तर, कस्तो अद्भुत संयोग ! प्लस टु पढ्दै गर्दा परिस्थितिले ठ्याक्कै उल्टो मोड लिए जस्तो भयो । उनी गेम डेभलपर बन्ने आफ्नो चाहना र परिवारले देखेको डाक्टर बनाउने सपनालाई एकसाथ पन्छाएर र्‍यापको दुनियाँतिर मोडिए ।

“कक्षाको लास्ट बेन्चमा बसेर प्रोग्रामिङ छोडि र्‍याप लेख्थें म,” उनी आफ्नो र परिवारको दुवै सपनाबाट भिन्नै गन्तव्य रोज्दाको क्षण सम्झिन्छन् । मुहारमा हल्का मुस्कान थप्दै अगाडि भन्छन्, “त्यसपछि कोडिङ र डाक्टर बन्ने सपना एक छिनलाई भए पनि भुँलें ।”

त्यसरी मन, मस्तिष्क, आफ्ना चाहाना, परिवारको सपनाकै भूमरीमा उनको प्लस टु पुरा भयो । अनि उच्च शिक्षा, करिअरको नयाँ यात्रा भर्खर भर्खर सुरु हुँदै थियो । जोशीको परिवारले उनलाई स्नातकमा एमबीबीएस पढाउने ठुलो सपना देखेको थियो । त्यसैलाई पूरा गर्न उनी आफैँले पनि जोडतोडले इन्ट्रान्सको तयारी गरे । तर, दुर्भाग्यवश नाम निस्किएन । जे भए पनि छोरो स्वास्थ्य क्षेत्रमै आउनु पर्छ भन्ने परिवारको मान्यता थियो । त्यसैले स्नातकमा उनी बीपीएच अर्थात् ब्याचलर इन पब्लिक हेल्थ अध्ययन गर्न थाले ।

उनी बीपीएचका लागि भर्ना भएको तीन चार महिना मात्र भएको थियो । त्यही समयमा र्‍याप ब्याटल अर्थात् र्‍यापको जुहारी हुने तय भयो । यो ठ्याक्कै सन् २०१४ अर्थात् आजभन्दा १० वर्ष अगाडिको कुरा हो ।  त्यसो त र्‍यापमा कदम राखेपछि प्लस टु हुँदा नै जोशीले स्वर्गीय र्‍यापर यम बुद्धलाई चिनिसकेका थिए ।

सन् २०१२ मा र्‍यापर यम बुद्धसँग युनिक पोइट

त्यसैको फाइदा उनलाई बीपीएच पढ्दा भयो । यम बुद्धसँगको परिचयको फाइदा पढाइमा कम, र्‍यापमा बढी भयो । यम बुद्धले ‘र बार्ज’ अर्थात् र्‍याप ब्याटल सम्बन्धी कार्यक्रम ल्याउने तय भएको थियो । जोशी पनि उक्त कार्यक्रममा जोडिने भए । उनले त्यस क्षेत्रका साथीहरू पनि चिनिसकेका थिए । त्यसैको आडमा उनले पढाइको माया मारे अनि र्‍यापको दुनियाँमा उदाउने सङ्कल्प लिए । 

‘र बार्ज’मा चर्चित र्‍यापर लाउरे र साकारसँग भिडेका जोशी आफ्नो पृथक् र्‍याप शैलीका कारण बढी चर्चामा आए । एक हिसाबले भन्नुपर्दा उनको उपनाम ‘युनिक पोइट’ त्यही समयमा बढी लोकप्रिय बनेको थियो । यम बुद्धसँगको चिनजान अनि पृथक् र्‍याप शैली भएपछि उनले गीत रेकर्ड गर्ने मौका पनि पाए । त्यतिबेला उनी र्‍याप क्रृ अन्डरडगमा आबद्ध थिए । उक्त क्रृमा जोशी सहित ग्रिजल, सिमफेमर र ब्राइमिन लगायतका र्‍यापरहरू थिए । जोशीका अनुसार अहिले सिमफेमस आर्किटेक्चर क्षेत्रमा छन् । बेलायतमा रहेका ग्रिजल कम्प्युटर साइन्समा मास्टर्स गर्दैछन् । त्यस्तै ब्राइमिन क्यानडामा बिजनेस पढ्दैछन् । 

र्‍याप आफ्नो ठाउँमा छ । तर, सँगै पढ्नुपर्छ भन्ने मान्यता त्यस क्रृमा भएका प्रायः सबैको थियो । त्यही बेला जोशीको परिवारलाई उनी कलेज गइरहेका छैनन् भन्ने थाहा भयो । “परिवारले त पढोस् भन्ने चाहेको थियो,” उनी सम्झिन्छन्, “मैले पढ्नै छोडिसकेपछि परिवारलाई बरु म विदेश गइदिए हुन्थ्यो भन्ने लाग्यो । विदेश जाने लहर पनि थियो ।” उनी भित्रैदेखि महसुस गर्न थाले, “नेपालमै रहेर र्‍यापमा मात्र लागिरहने हो भने समाजको नजरमा आफू बिग्रिएको जस्तो देखिन सक्छ ।”

साथै उनको मनमा शैक्षिक रूपमा योग्य हुनु पर्ने एउटा गहिरो मान्यता पनि थियो । यही सोचले पढाइलाई प्राथमिकतामा राख्न जोशीलाई प्रेरित गर्‍यो ।

त्यसबाहेक जोशी आबद्ध अन्डरडग क्रृले जगाएको प्रेरणाले उनलाई अघि बढायो । र सन् २०१४ मा उनी आईटी पढ्न अस्ट्रेलिया गए । तर, अञ्जान देशको धरातल त्यति सहज थिएन । यता र्‍यापले दिएको चर्चा र परिचय चटक्क छोडेर उनी अस्ट्रेलियामा नयाँ सङ्घर्षका पाइलाहरू टेक्न थाले । पढाइको लागि उनी दिनरात मेहनत गर्न बाध्य भए । र, सङ्घर्षकै क्रममा जीवनलाई नयाँ ढङ्गले जीउन थाले । तर, जुन अपेक्षाले उनी अस्ट्रेलिया गएका थिए, त्यसलाई निरन्तरता दिन उनी सफल भएनन् । उनी सम्झन्छन्, “त्यहाँ जे काम पनि गर्नुपर्ने । रातको ड्युटी गर्नुपर्ने । मैले राम्रोसँग पढ्न सकिनँ । त्यहाँ दुई वर्ष बसिसक्दा मैले आईटीको केही पनि सीप सिकेको थिइनँ ।”

चित्त नबुझेका काम गर्नुपर्ने बाध्यता, समयको अभाव, बेर्थै समय खेर गइरहेको आभास र आम्दानी पनि निराशाजनक । यी सबै चिजले उनलाई बिरक्त बनायो । नेपालमै स्नातक गर्न सकिने पैसा जुटाएर उनी दुई वर्षमै स्वदेश फर्किए ।

चर्चित फेसले पढाइमा पुर्‍याएको बाधा 

नेपाल फर्किएपछि उनी आईटी अध्ययन गर्ने योजनामा थिए । तर, त्यसअघि उनले प्रोग्रामिङमा आफूलाई तिखार्न थाले । गेम नै बनाउनु पर्छ भन्ने उनको इच्छाशक्ति पहिले देखि नै दृढ थियो । यही लक्ष्यले उनलाई युनिटी सिक्न प्रेरित गर्‍यो, जुन गेम डेभलपमेन्टमा प्रयोग हुने एक चर्चित प्लेटफर्म हो । 

“मलाई अझै पनि वेब डेभलपमेन्ट बोरिङ लाग्छ । सानैदेखिको इच्छा भएकाले होला मलाई गेम डेभलप गर्नमा बढी रुचि छ,” आफ्नो रुचिबारे उनी थप्छन् । यस्ता सीप सिक्नकै लागि उनी राम्रो इन्स्टिच्युट जान चाहन्थे । तर, विविध कारणले सम्भव नहुने भएपछि उनी स्वाध्ययनमा लागे । 

त्यस लगत्तै उनी स्नातकमा आईटी अध्ययन गर्न नेपालकै एक चर्चित कलेजमा भर्ना पनि भए । तर, कक्षामा सिकाइने प्रोग्रामिङ उनलाई त्यति उचित लागेन । उनी भन्छन्, “कलेज जाने । कलेजमा बोरिङ वेब डेभलपमेन्ट पढाउँछन्, त्यो पनि सुन्दिने । त्यसपछि घर आएर गेम डेभलपमेन्ट प्राक्टिस गर्थेँ ।”

उनका लागि कलेज भनेको औपचारिक उपस्थिति जनाउने थलो मात्र थियो । कलेज गएका दिन पनि उनी कक्षामा भेटिँदैनथे । मानौँ, कलेज बङ्क गर्न जानु नै उनका लागि नियमित प्रक्रिया थियो । चर्चित अनुहार भएर पनि उनलाई अन्य सामान्य विद्यार्थी जस्तो पढ्न सहज थिएन । उनी बेला-बेला सोच्थेः फेरि र्‍यापमै फर्किनुपर्छ कि ? तर, कोठामा पुगेपछि उनका सबै विचार प्रोग्रामिङमै केन्द्रित हुन्थे । मन र उद्देश्यको यो द्वन्द्व दिनदिनै चलिरहन्थ्यो । यसरी के गर्ने भन्ने अन्योलमै एक वर्ष बित्यो । भिन्नै उद्देश्य र त्यसलाई साकार पार्ने स्पष्ट गन्तव्य खोज्दै समय उनलाई पर्खिरहे जस्तो लाग्थ्यो । 

भन्छन्, “मलाई केही न केही सीप त सिक्नै पर्छ भन्ने लागिरहन्थ्यो । त्यसपछि सिरियस भएर स्किल सिक्न थालें ।”

उनी गेम डेभलपमेन्ट मात्र नभई वेब डेभलपमेन्ट पनि सिक्न थाले । प्रोग्रामिङ सिकाउने इन्स्टिच्युट धाए । तर, प्रायः ले चिन्ने भएपछि उनलाई त्यस्ता इन्स्टिच्युटमा नयाँ सीप सिक्न सकस भयो । सिकाइमा केन्द्रित हुन सकेनन् । “जहाँ गए पनि धेरैले मलाई चिन्ने । सबैले चिन्ने भएपछि गाह्रो हुने रहेछ । मलाई फ्रिडम हुँदैनथ्यो,” उनी आफ्नो अप्ठ्यारो अनुभूति सुनाउँछन् । 

त्यसभन्दा बढी गाह्रो त उनलाई अरूले सोध्ने प्रश्नहरूको जवाफ दिनुमा हुन्थ्यो । र्‍यापमा जमेको मान्छे प्रोग्रामिङमा किन आएको होला भन्ने धेरैको उत्सुकता हुन्थ्यो । र्‍यापमा पैसा नभएर हो भनेर धेरैले सोच्थे । तर, भित्रभित्रै उनले अपनाएको बाटो कसले देखोस् । यी प्रश्नहरू नै जोशीलाई प्रोग्रामिङ सिक्नबाट पछि धकेल्ने बाधक बन्न पुग्थे । त्यसैले पनि कसैले नचिन्ने ठाउँमा गएर उनी पढ्न जान चाहन्थे । “नाम चलेको भएकाले कलेज गयो भने क्लासमै पनि पढ्न गाह्रो भयो । बाहिर इन्स्टिच्युटमा पढ्दा पनि यस्तै समस्या दोहोरी रह्यो,” उनी बिरक्तिएको भाव झल्काउँदै भन्छन् । 

यसरी कलेज र इन्स्टिच्युटमा पढ्न सकस हुने भएपछि उनी स्वाध्ययन गर्नमा केन्द्रित भए । बाहिर पढ्न गाह्रो हुनुले नै जोशीमा स्वाध्ययनको बानी विकसित भयो । घरमा बसेर आर्जन गरेका विभिन्न सीपले कलेजमा पनि महत्त्वपूर्ण भूमिका निभाए । यसरी सन् २०१९ सम्म उनको समय स्वाध्ययन र प्रोग्रामिङमै बित्यो । उनले जुन सीप सिकेका थिए, अब त्यसै क्षेत्रमा काम गर्नुपर्ने चुनौती उनी सामु थियो । त्यसपछि उनी आफूलाई मिल्ने काम अनलाइनमा खोज्न थाले । जति पनि अवसर देख्थे, प्रायः सबैमा आवेदन दिन्थे । पाँच ओटासम्म कम्पनीमा इन्टर्नशिपका लागि आवेदन दिएको उनलाई याद छ । “त्यसमध्ये एउटा कम्पनीले इन्टरभ्युको राउन्डसम्म लियो,” उनी अगाडि भन्छन्, “त्यसमा छानिन इङ्लिश टेस्ट, अलिकति जाभास्क्रिप्टको स्किल चाहिने रहेछ । त्यो मलाई अलिअलि आउँथ्यो । खासै धेरै नआए पनि मैले कन्फिडेन्टली सबै आउँछ भनिदिएँ । त्यसपछि छानिएँ ।”

त्यो कम्पनी थियो अस्ट्रियाको ‘हेलो अगेन’ । उनले त्यस कम्पनीमा पाँच महिनाको इन्टर्नशिप गर्न पाउने भए । भन्छन्, “त्यहाँ एउटा वेब एप्लिकेसन थियो । त्यसका लागि मोबाइल एप बनाउनु पर्ने । अर्कै खालको वर्क फ्लो थियो । अलिअलि सिकियो, तर एकदम एक्सपर्ट त भइएन ।”

जे जस्तो भए पनि पाँच महिनाको त्यो अनुभव उनका लागि प्रविधि क्षेत्रमा मार्गदर्शन बनेर आयो । उनले अफिसको काम गर्ने शैली, ठुला प्रविधि कम्पनीहरूको व्यवस्थापन पद्धति र प्राविधिक पक्षबारे अनुभवसँगै ज्ञान आर्जन गर्ने मौका पाए । विशेषगरी मोबाइल एप विकास, कम्पोनेन्टहरू थप्ने प्रक्रिया र एपलाई आकर्षक तथा इन्टर्‍याक्टिभ बनाउने विधि सिक्न सफल भए । यसबाट उनलाई आफैँले पनि काम गर्न सकिन्छ भन्ने अनुभव भयो । उनको काम र लगनशीलता देखेर उक्त कम्पनीले इन्टर्नशिपको समय थपिदिने अफर ल्यायो । तर, इन्टर्नशिपको रकम कम हुने भएकाले त्यही काम गरिरहन उनको मनले मानेन । र, उनी पाँच महिनाको इन्टर्नशिप सकेर नेपाल फर्किए । उमेरका हिसाबले पनि उनी २६ वर्ष भइसकेका थिए । कम्पनीको त्यति आम्दानी उनका लागि पर्याप्त थिएन । “उमेरले २५/२६ वर्षको भइसकेको थिएँ । कम्पनीलाई म अब अरू नै काम गर्छु भनेर त्यो कम्पनी छोडेर आएँ,” देशमै केही गर्नुपर्छ भन्ने भावना बोकी स्वदेश फर्किँदै गर्दाको अनुभव सुनाउँदै उनी भन्छन् । 

नेपाल फर्किएर मार्केटप्लेसको सुरुवात 

नेपालमै केही अर्थपूर्ण काम गर्नुपर्छ भन्ने भावनाले प्रेरित जोशीले आफ्ना साथी जीवन ढकालसँग मिलेर एउटा नयाँ प्लेटफर्म निर्माण गरे । त्यसको नाम राखेः ‘लिभ इजिली’ । जोशीले यो प्लेटफर्म खासगरी कलाकारहरूका लागि तयार पारेका थिए । “साथी त्यो प्लेटफर्मको मुख्य प्रोग्रामर थियो । म चाहिं त्यसको कन्सेप्ट र आइडिया दिने भूमिकामा थिएँ,” उनी सम्झिन्छन् । 

उनले त्यही प्लेटफर्मबाट आफ्नै एल्बम पनि बिक्री गरे । त्यतिबेला भुक्तानीका लागि सो प्लेटफर्ममा ईसेवा इन्टिग्रेट गरिएको थियो । यो जोशीको आफ्नै एल्बम बिक्री गर्ने भन्दा पनि सबै कलाकारको एल्बम र अन्य सामग्री बिक्री गर्ने प्लेटफर्म थियो । तर, अन्य कलाकारले उक्त प्लेटफर्मबाट एल्बम बिक्री गर्न सकेनन् । यसले गर्दा उक्त प्लेटफर्मबाट हुने आम्दानी पनि घट्यो र, बन्द गर्नुपर्ने अवस्था आयो । 

कोरोना कहरको त्यस समयमा कामका लागि बाहिर जान सकिने अवस्था पनि थिएन । नेपालको आईटी कम्पनी लिपफ्रगले पनि त्यसै समयमा इन्टर्नशिप खुलाएको थियो । अघिल्लो कम्पनीमा केही आधारभूत सीप सिकेका जोशीलाई यो गज्जबको अवसर थियो । त्यसैमा अनलाइनबाटै काम गर्न सकिने सुविधा थियो । पहिलो पटक आवेदन दिँदा उनको नाम निस्किएन । त्यसपछि उनले अर्को वर्ष अर्थात् २०२१ तिर फेरि अप्लाई गरे । यतिबेला भने उनको नाम निस्कियो । र, उनी इन्टर्नशिप गर्न पाउने भए । 

“मैले अघिल्लो पटकको इन्टर्नशिपमा केही न केही सिकिरहेको थिएँ । तर के सिकेको थिएँ भन्ने थाहा थिएन,” लिपफ्रगमा इन्टर्नका रूपमा आबद्ध हुँदाको पल सम्झिँदै उनी अगाडि भन्छन्, “लिपफ्रगको इन्टर्नशिपमा मैले जाभास्क्रिप्टको धेरै आधारभूत पक्ष जान्ने मौका पाएँ । यो कम्पनीको इन्टर्न धेरै फन्डामेन्टल र प्राक्टिकलमा आधारित छ ।”

त्यहाँ उनले साढे दुई महिना इन्टर्नका रूपमा काम गर्ने अवसर पाए । यस अनुभवले उनमा आत्मविश्वास बढायो । उनलाई अब जाभास्क्रिप्टसँग सम्बन्धित जुनसुकै फ्रेमवर्कमा पनि सहजै काम गर्न सकिन्छ भन्ने आत्मविश्वास बढ्यो ।

एआई प्रतिको मोह !

हुन त अस्ट्रिया पुगेपछि नै जोशीलाई एआईप्रति रुचि जागिसकेको थियो । खासगरी उनले युरोपमा पढाइ हुने बायोइन्फरमेन्टिक्स कोर्सको बारेमा थाहा पाएका थिए । यो कोर्स एल्गोरिदम, कम्प्युटर प्रोग्रामिङ आदिमा केन्द्रित हुन्छ । त्यही कोर्स पछि परिमार्जन भएर युरोपमा एआई कोर्सको रूपमा उदायो । “मलाई एआईतिर रुचि बढ्दै थियो,” उनी भन्छन्, “अस्ट्रियाको कोर्स देखिसकेको थिएँ । यहाँ एआई पढाउने राम्रो ठाउँ छ भनेर पनि थाहा थियो । प्लस नेपालीहरूले सित्तैमा पढ्न पाउँछन् भन्ने पनि थाहा थियो । अनि मलाई एकदम धेरै पैसा तिरेर पढ्न पनि मन थिएन । किनभने अलरेडी अस्ट्रेलियामा मैले पैसा डुबाएर आइसकेको थिएँ ।”

उनी सित्तैमा पढ्ने अवसरको पर्खाइमा थिए । एआईबारे मूलधारमै थुप्रै बहस सुरु भइसकेको थियो । उमेर ढल्किँदै गए पनि एआई बुझ्न र अध्ययन गर्न यो गज्जबको समय हो भन्ने उनलाई आभास भयो । त्यसपछि उनले अनलाइन कोर्स सम्बन्धी प्लेटफर्म जस्तै कोर्सेरा, युडेमी र एडेक्सबाट विभिन्न कोर्स लिन थाले । युट्युबमा उपलब्ध निःशुल्क सामग्रीको पनि उनले भरपुर सदुपयोग गरे ।

सीप त सिके । तर, कहाँ के काम गर्ने भन्ने द्विविधामै थिए, जोशी । नेपालमै हुँदा उनले अस्ट्रियाको योहानेस केप्लर विश्वविद्यालय (Johannes Kepler Universität Linz) मा आवेदन दिए । भाग्यवश उनले त्यहाँ निःशुल्क रूपमा आर्टिफिसियल इन्टेलिजेन्स विषयमा अध्ययन गर्ने अवसर पाए । अर्थात् विश्वविद्यालयबाट उनका लागि अफर लेटर आइपुग्यो । यसबेला उनी स्नातकोत्तर अध्ययनमा तल्लीन थिए ।

निःशुल्क पढ्न पाउने भए पनि त्यहाँ गइसकेपछि बस्ने, खाने खर्च त चाहियो । यो खबर उनले परिवारलाई पनि सुनाए । “पढ्न खर्च पनि नलाग्ने, सबै मिलेको राम्रो रहेछ । जान त जा, तर खाना चाहिँ कसरी जुटाउँछस् भन्न थाल्नुभयो,” जोशीलाई परिवारको कुरा मनासिब नै लाग्यो । 

हुन पनि हो, उनले अस्ट्रेलियामा खर्च धान्नकै लागि भाँडा माझेका थिए । आमाबुबाले अर्ति दिएपछि ती पल झलझली सम्झनामा आउन थाले । अस्ट्रियामा भने उनी सँगसँगै आफूले सिकेका कुनै न कुनै सीप काम लाग्ने ठाउँमा आबद्ध हुन चाहन्थे । त्यसपछि उनले थुप्रै कम्पनीमा कामका लागि आवेदन दिए । “यतिञ्जेल धेरै सीप जानिसकेको थिएँ । काम पाइन्छ भन्नेमा पनि विश्वस्त नै थिएँ । त्यसपछि मैले नेपालबाटै पाँच-छ ओटा कम्पनीमा अप्लाई गरेँ,” दोस्रो पटक अस्ट्रिया आउँदाको पल स्मरण गर्दै जोशी भन्छन्, “त्यसमध्ये होटेल किट नामक अस्ट्रियाली कम्पनीले मलाई इन्टरभ्यु राउन्डसम्म पुर्‍यायो ।”

अन्तर्वार्ता जोशीका लागि खासै चुनौतीपूर्ण रहेन । उनले आफ्नो आवश्यकता र क्षमता स्पष्ट पारे । उनले अन्तर्वार्ताको क्रममा उक्त कम्पनीलाई भने, “म केही महिनापछि पढ्न अस्ट्रिया आउँदैछु । म मार्चमा त्यहाँ पुग्छु अनि काम चाहिँ अप्रिलदेखि सुरु गर्छु ।”

होटेल किटमा रिमोट्ली काम गर्दै जोशी

कम्पनीले उनको आवश्यकता पूरा गर्न सके आफूलाई सहज हुने जोशीले निर्धक्कका साथ प्रस्ट्याए । यसले होटेल किटलाई प्रभावित पार्‍यो र उक्त कम्पनीले जोशीलाई काममा राख्ने निर्णय लियो । यसरी अस्ट्रिया पुग्नुअघि नै जोशीले काम पाइसकेका थिए । 

उनी अप्रिल २०२२ मा अस्ट्रिया पुगे । अफर लेटर पाएको विश्वविद्यालयमा उनले भर्ना लिए र आवश्यक सम्पूर्ण कागजात तयार पारे । त्यही समयमा होटेल किट जोशीका लागि गज्जबको अवसर बनेर आयो । उनी त्यहाँ सफ्टवेयर इन्जिनियरका रूपमा आबद्ध भए । होटेल किट जोशीका लागि उत्कृष्ट हुनुको अर्को कारण पनि थियो- यस कम्पनीको मुख्य डेभलपर टिम । यो टिम जर्मनीमा आधारित भएकाले जोशीलाई होटेल किटको काम गर्न अफिस गइरहनु पर्ने बाध्यता थिएन । कम्पनीले उनलाई घरबाटै काम गर्न सहज बनाउँदै आवश्यक ल्यापटप समेत उपलब्ध गराएको थियो ।

सबैभन्दा राम्रो पक्ष भनेको उनलाई होटेल किटकै सहसंस्थापकले गाइड गरेका थिए । प्रविधिलाई आत्मसात् गर्ने र थुप्रै सीप भएका ती सहसंस्थापकको सङ्गत जोशीका लागि फलदायी सावित भयो । जोशी ती पल सम्झिन्छन्, “को-फाउन्डरको मेन्टरशिप पाएपछि मेरो पहिलो चार महिनाको काम गराइ निकै उपलब्धिमूलक भयो । मैले धेरै सिक्ने मौका पनि पाएँ ।” कोठामा बसेर एक्लै अफिसको काम गरे पनि उनलाई हरेक समय साथ दिने ती सहसंस्थापक थिए । बेलाबखत कम्पनीले आयोजना गर्ने भौतिक कार्यक्रममा जोशी भौतिक रूपमा नै उपस्थित हुन्थे । अरू समय उनी कोठाबाटै काम गर्थे । कामकै सिलसिलामा उनले कतार, जर्मनी लगायतका देश भ्रमण गर्ने मौका पनि पाए । घुम्नु उनका लागि नौलो विषय थिएन । तर, त्यहाँ जाँदा प्रविधिमा दक्खल राख्ने व्यक्ति भेटिए । यसले गर्दा उनलाई प्रविधिको दुनियाँमा एक महत्त्वपूर्ण पाइला अघि सार्न सहज भयो । यसरी जोशीले दुई वर्षसम्म होटेल किटमा कोठाबाटै काम गर्दै आफ्नो भूमिका कुशलतापूर्वक निभाए ।

एक्लै कोठाबाट काम गर्दा उनी दिक्क भइसकेका थिए । त्यसपछि उनी आफू बस्ने ठाउँबाट नजिक पर्ने प्रविधि कम्पनीमा आबद्ध हुने योजनामा लागे । “दुई वर्षसम्म कोठामै बसेर काम गर्दा म वाक्क भइसकेको थिएँ । अब चाहिँ अफिसबाट काम गर्नुपर्छ भन्ने लाग्यो,” उनी अगाडि थप्छन्, “त्यसैले आफूलाई उपयुक्त हुने कम्पनीबारे बुझ्न थालेँ ।”

त्यही बेला जोशीका नेपालका साथी अस्ट्रिया आइपुगे । उनी पनि राम्रो डेभलपर थिए र जोशीसँगै राम्रो कम्पनीमा काम खोज्दै थिए । एक दिन उनका साथीले टिम भ्युअर नामक कम्पनीले जागिर खुलाएको जानकारी ल्याए ।

टिम भ्युअर विश्वका दिग्गज सफ्टवेयर कम्पनी मध्यको एक हो । यसले रिमोट एक्सेस र रिमोट कन्ट्रोल कम्प्युटर सफ्टवेयर तयार पारेको छ । यसबाट कम्प्युटर र अन्य डिभाइस अर्को डिभाइसबाटै मर्मतसम्भार गर्न सकिन्छ ।

उक्त कम्पनीमा जोशीले आवेदन दिए र अन्तर्वार्ताको चरण पनि सहजै पार गरे । धेरै जसो सफ्टवेयर इन्जिनियरको रोजाइमा पर्ने यो कम्पनी जोशीको रोजाइमा नपर्ने कुरै थिएन । फेब्रुअरी २०२४ मा उक्त कम्पनीमा आबद्ध भएका उनी अहिले पनि त्यहीँ सक्रिय छन् । सो कम्पनीमा अहिले उनको भूमिका फ्रन्टइन्ड इन्जिनियरको छ । 

“कम्पनीका कति प्रोडक्ट लन्च हुन बाँकी छन्, कति लन्च भइसकेका छन्,” उनी अगाडि भन्छन्, “अहिले हामी सर्भिस डेक्स नामक फिचरमा काम गरिरहेका छौं ।”

र्‍याप र एआईलाई जोड्ने मार्स्टर्सको थेसिस

जोशीको परिवारको धारणा सुरु देखि नै स्पष्ट थियोः छोरालाई डाक्टर बनाउने । यही धारणाले जोशीलाई एक निश्चित मार्गमा धकेलिरहेको थियो । यसले गर्दा सुरुवातमा उनले आफ्ना चाहना चटक्क बिर्से । 

परिवारका सबै सदस्यको आँखामा डाक्टर बनाउने सपनाले जरा गाडेको थियो । परिवारको यही सपनाले जोशीलाई अप्ठ्यारो बाटोसम्म पुर्‍यायो पनि । तर समयको चक्रले परिवारको सोचलाई बदलिदियो । पहिले डाक्टर नै बन्नुपर्छ भन्ने अडान कसेको परिवार पछि ‘जे पढे पनि पढ्नु चाहिँ पर्‍यो’ भनेर लचिलो बनिदियो । 

यसले जोशीलाई आफ्नो चाहना अनुसारको मार्गमा अघि बढ्ने अवसर दियो । अर्थात् उनले निर्धक्क साथ सफ्टवेयर इन्जिनियरिङको संसारमा पाइला सारे । यसअघि परिवार र आफ्नो सपनाबिचको द्वन्द्वको चपेटामा परेका उनी अब भने आफ्नै दुई चाहना र्‍यापर र सफ्टवेयर इन्जिनियरको द्वन्द्वमा परे । तर, यी दुई सपनाबिचको द्वन्द्वलाई उनी नकारात्मक रूपमा लिंदैनन् । जसरी परिवार र आफ्नो सपनालाई मर्ज गरेर ‘सफ्टवेयर इन्जिनियर’को करिअरलाई अगाडि बढाइरहेका छन्, त्यसरी नै र्‍यापको करिअरलाई पनि उनी अगाडि बढाउन खोजिरहेका छन् । यी दुई गन्तव्यलाई जोड्ने पुल उनको मास्टर्सको थेसिस बनेको छ । उनी थेसिसका लागि ‘र्‍याप भोकल गाइडेड म्युजिक जेनेरेसन युजिक डिप लर्निङ’ विषयमा खोज तथा अनुसन्धान गर्दैछन् । “यो र्‍याप भोकल दिएर त्यसको म्युनिक जेनेरेट गर्ने अवधारणामा आधारित छ,” थेसिसको विषयबारे जोशी खुलाउँछन्, “कुन भोकललाई कुन म्युजिक ठिक हुन्छ, त्यही जेनेरेट गर्ने टुल हो । अर्थात् कुनै भोकल छ, त्यसमा कस्तो म्युजिक सुहाउँछ, कस्तो ड्रम सुहाउँछ अनि कस्ता म्युजिकल इन्स्टुमेन्ट सुहाउँछ भन्ने पत्ता लगाइ तयार पार्ने टुल हो यो ।” उनले सुरुवातमा र्‍यापलाई मात्र लक्षित गरेको भए पनि कालान्तरमा सबै किसिमका म्युजिकमा यसलाई उपयोग गर्ने योजना बनाएका छन् । अहिले यही टुल प्रयोग गरेर उनले तयार पारेको म्युजिक आइसकेको छ । तर, उनले सार्वजनिक भने गरिसकेका छैनन् । पहिले सुभरभाइजरलाई देखाएर त्यहाँबाट स्वीकृत भएको खण्डमा सार्वजनिक गर्ने उनको चाहना छ । 

उनी एआईलाई म्युजिकमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा पनि अनुसन्धान गरिरहेका छन् । अर्थात् अडियन्सलाई कसरी डिजिटल एक्सपिरियन्स दिन सकिन्छ भन्नेमा उनी केन्द्रित छन् । आफ्ना अडियन्स कस्ता छन् अनि उनीहरूको चाहना कस्तो गीत सुन्ने छ भन्ने पत्ता लगाउन पनि प्रविधि प्रयोग गरिरहेका छन् । 

“आफूलाई कसरी सजिलो पार्न सकिन्छ भन्ने हिसाबले काम गर्दै जाँदा प्रविधि र म्युजिकलाई जोडेर थेसिस लेख्दै छु,” उनी भन्छन्, “म्युजिक र प्रविधि मर्ज गर्न खोज्ने कम्पनी बढ्दै छन् । यसैमा आफूलाई अभ्यस्त बनाउन काम गरिरहेको छु । म्युजिक स्ट्रिमिङ प्लेटफर्मले एआईलाई आत्मसात् गरिरहेका छन् ।”

अवसर तमाम छन् । जोशी आफ्नो सपनाको धरातलमा टेकेर, आफ्नो प्यासनलाई साथमा  लिएर, जीवनलाई नयाँ आकार दिन प्रयासरत छन् । उनी आफ्नो इच्छा र लक्ष्यलाई एकसाथ मर्ज गर्दै आफैँलाई योग्य बनाउन कटिबद्ध छन् । सफलताको सुनौलो ढोका खुल्ने हो कि असफलताको कठोर पाठ मिल्ने हो, त्यो त समयले नै बताउनेछ । तर, प्रतिस्पर्धाको यो तीव्र संसारमा उनी न केवल आफूलाई अभ्यस्त बनाउन लागिपरेका छन्, बरु अरूलाई पनि यही मार्गदर्शन दिन्छन्, “सफल भइएला वा नभइएला, त्यो समयले देखाउला । तर, आफूलाई मैदानमा त उतार्नु पर्‍यो नि ! आफ्नो प्यासन जे छ, त्यो हेर्ने अनि जतिसक्दो मर्ज गर्दै एउटै केन्द्र विन्दुमा लैजानु पर्छ । यसो गर्न सके आफू जहाँ हुनुपर्ने हो त्यहीँ भएको अनुभव हुन्छ ।”

एआईले बनाएको युनिक पोइटको म्युजिक

जोशीले आफ्नो युट्युब च्यानलमा करिब पाँच महिना अघि हेभी/शुभप्रभात (Heavy/Shuvaprabhat) शीर्षकको गीत अपलोड गरेका थिए । जोशीका अनुसार उक्त गीत एआईले तयार पारेको हो । “मेरो र्‍याप हो, तर एआईले गाएको हो,” उनी भन्छन्, “त्यो गीत गाउने नेपाली को हो भन्ने धेरैको चासो छ । त्यो कुनै नेपाली नभएर एआई टुल हो । लेख्न चाहिं मैले लेखेको हो ।”

 

यही गीत स्पोटीफाईमा दुई लाख बढीले सुनिसकेका छन् भने युट्युबमा साढे तीन लाख बढीले सुनेका छन् । यसको म्युजिक भिडिओ छिट्टै आउने जोशीको भनाइ छ । “अहिले त्यसमा मेरो भ्लग जस्तो भिडिओ छ । तर, प्रविधिको उच्चतम प्रयोग भएको अफिसियल भिडिओ पनि छिट्टै आउँछ,” उनी थप्छन् ।

भविष्यको योजना

भविष्यका योजनाबारे उत्साहले अझै सोचिसकेका छैनन् । “एउटा मनले र्‍याप हान भन्छ, तर त्यो पनि साइडमा ब्यालेन्स गर्दै लानुपर्छ,” उनी भन्छन्, “अर्को मनले आफ्नै कुनै आइडियामा काम गरेर कम्पनी खोल भन्छ । त्यसमा पनि जोखिम धेरै छ । मैले अझै पनि के गर्ने भन्ने निर्णय लिइसकेको छैन । म पीएचडी नै गर्न पनि सक्छु ।”

भविष्य र सपनाको स्वर्णिम संगमले जता डोर्‍याउँछ, उनी त्यतै जान चाहन्छन् । तर, उनी जता जान्छन्, आफूले आर्जन गरेको ज्ञान, सीप, क्षमता सँगसँगै सदुपयोग गर्दै अघि बढ्न चाहन्छन् । 

कुनै समय पढाइ नै छोड्ने मोडमा पुगेका उत्साह जोशी अहिले अरूलाई पनि पढाईलाई निरन्तरता दिन जोड दिन्छन् । क्षणिक चर्चाका लागि पढाइ छोड्नु ठुलो गल्ती हुने अनुभूति उनले गरेका छन् । भन्छन्, “अहिलेका र्‍यापरहरू १० हजार भ्युज आउँदा पढाइ छोडी दिन्छन् । मैले जति पनि अवसरका ढोका फेला पारेँ, ती सबै पढाइकै कारण सम्भव भएका हुन् । र्‍यापले अवसरको सुन्दर ढोका नखोलेको होइन । तर, पढाइले खोलेको ढोकाले मेरो परिवार र व्यक्तिगत जीवनमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।”

उनी पढाइ बेवास्ता गरी १० वर्ष आफ्नै सपनाको नजरमा अञ्जान भइ बसे । तर, अन्तिममा पढाइ नै महत्त्वपूर्ण हो भन्ने बुझेर पुनः त्यही लयमा फर्किए । पढाइलाई आत्मसात् गर्दा उनी र्‍यापलाई पनि सँगसँगै अगाडि बढाइरहेका छन् । अहिले उनी सबै पक्षबाट स्वतन्त्र छन् । उनलाई न आफ्नो चाहना पूरा गर्ने चटारो छ, न त परिवारको सपनाको भारीले  थिचेको छ । जे छ समयकै वेगसँगै अगाडि बढिरहेको छ ।

समय जति परिवर्तनशील छ, त्योभन्दा बढी जोशीले अङ्गालेको प्रविधि अझ भनौं एआई बढी परिवर्तनशील छ । एक दिन अपडेटेड भइएन भने अर्को दिन कुन दुनियाँमा आइपुगियो भनेर अलमलमा पर्ने अवस्था छ । जे भए पनि जोशी अहिले यी दुवै क्षेत्रलाई समानान्तर रूपमा आत्मसात् गरिरहेका छन् । प्रविधिको क्षेत्रमा पनि आफूलाई तिखारी रहेका छन् । हरेक दिन आफूलाई उपयोगी हुने सीप सिकिरहेका छन् । उनलाई थाहा छ, उनले आज जानेको प्रोग्रामिङको काम भोलि एआईले क्षणभरमै पुरा गरिदिन सक्छ । त्यही वातावरणमा कसरी अभ्यस्त हुने भन्ने विषयको अभ्यास पनि उनी सँगसँगै गरिरहेका छन् ।

उनी युनिक पोइट र उत्साह जोशी आफ्ना यी दुवै परिचयलाई समानान्तर रूपमा अगाडि बढाइरहेका छन् । तर, उनी पेसा कसलाई मान्छन् अनि प्यासन कसलाई, द्विविधा धेरैमा हुनसक्छ । 

आफ्नै शैलीमा उनले त्यसको जवाफ यसरी दिएका छन्ः 

मभित्र दुइटा मान्छे छ । कहिले को जाग्छ, कहिले को जाग्छ । त्यसैलाई ब्यालेन्स गर्दै लगिरहेको हो, लगिरहन खोजेको हो । त्यो ब्यालेन्स गर्ने क्रममा अहिले अलिकति युनिक पोइट दबेको जस्तो छ । उत्साह अलिकति हाबी भइरहेको छ । तर, अलिकति फ्री टाइम पाउने बित्तिकै फेरि युनिक पोइट पनि जागिहाल्छ । 

त्यही भएर यो दुइटै मै हो । दुइटैलाई ब्यालेन्स गरेरै लगिरहनु पर्छ । अब जति सक्दो मर्ज गरौ भन्ने सोच हो । दुइटै म्युजिक र एआई अथवा सफ्टवेर इन्जिनियरिङलाई कसरी मर्ज गर्न सकिन्छ भन्ने सोच हो । हेरौं त्यति भइसकेपछि चाहिँ ‘देर विल बि नो डुलिटी’ । अहिलेलाई चाहिँ मभित्र दुई ओटा व्यक्ति छन् । दुई ओटा प्यासन र प्रोफेसन छन् । दुई ओटा सपना र सङ्कल्प छन् ।

सामाजिक सञ्जालमा उत्साह जोशी

लिङ्क्डइन

इन्स्टाग्राम

फेसबुक

युट्युब

स्पोटिफाई

पछिल्लो अध्यावधिक: मंसिर २०, २०८१ २०:२१