काठमाडौं । ललितपुर महानगरपालिकाले सवारीसाधनको चाप हेरेर आफैँ बल्ने एआई प्रविधि युक्त ट्राफिक बत्ति सञ्चालनमा ल्याएको छ । सोमबार एक कार्यक्रमबिच महानगरले कुपन्डोलदेखि जावलाखेलसम्म राखिएका आधुनिक सडक बत्ति प्रयोगमा ल्याएको हो ।
यसअन्तर्गत पहिलो चरणमा पुल्चोकमा दुई, कानदेवता स्थानमा एक, दमकल चोकमा एक र जावलाखेलमा एक गरी पाँच ओटा ट्राफिक लाइट राखिएका छन् । औपचारिक रूपमा सुरु भइसकेका यस्ता बत्तिले ट्राफिक व्यवस्थापनमा सहज हुने यस परियोजनाका प्रमुख डिभिजनल इन्जिनियर श्रीकुमार महर्जनले बताए ।
उनका अनुसार यस परियोजनाका लागि नमुना पावर ग्रिड जेभी नामक कम्पनीसँग सहकार्य गरिएको छ । यस कम्पनीले ११७ स्थानमा सम्भाव्यता अध्ययन गरेकोमा अहिलेलाई पाँच ठाउँमा मात्र राखिएको उनले सुनाए ।
परियोजना सफल भए आगामी दिनमा अन्यत्र पनि यस प्रकारका बत्ति राखिने उनको भनाई छ । यस प्रकारको बत्ति नेपालमा पहिलो पटक प्रयोग गरिएको महानगरको दाबी छ ।
एआई ट्राफिक बत्तिले कसरी काम गर्छ ?
स्वचालित रूपमा काम गर्न यस प्रकारको बत्तिमा एआई प्रविधि राखिएको छ । यसले बत्ति बाल्न सवारी साधनको सङ्ख्या तथा चाप हेर्ने गर्छ । जुन काम भेहिकल डिटेक्टर मसिनले गर्ने गर्छ ।
यही कारण जता धेरै सवारीसाधन हुन्छन्, त्यतातिर नै हरियो बत्ति बल्छ । यस क्रममा कुन बत्ति कति समयसम्म बाल्ने, कुन दिशामा बाल्ने यी सबै निर्णय एआई आफैँले गर्छ । यससँगै यस प्रणालीमा सवारीसाधन र दुर्घटनाको रेकर्ड समेत रहने बताइएको छ ।