close

गुगल स्ट्रिट भ्युले कैद गरेको तस्बिरले यसरी फेला पर्‍यो डरलाग्दो हत्याकाण्डको प्रमाण

टेकपाना टेकपाना

पुस ४, २०८१ १३:१३

गुगल स्ट्रिट भ्युले कैद गरेको तस्बिरले यसरी फेला पर्‍यो डरलाग्दो हत्याकाण्डको प्रमाण

काठमाडौं  । स्पेनको एउटा सानो सहरमा भएको हत्याकाण्डको रहस्य सुल्झाउन गुगल स्ट्रिट भ्यूले ठूलो भूमिका खेलेको पाइएको छ  । ताजुएको नामको सहरमा भएको जघन्य हत्याको रहस्य गुगल स्ट्रिट भ्यूका कारण उजागर भएको हो ।

बीबीसीका अनुसार तीन महिनादेखि बेपत्ता भएका एक ३३ वर्षीय क्युबाली नागरिकको शव गत हप्ता चिहानमा भेटिएपछि प्रहरीले हत्याको अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा प्रहरीले गुगल स्ट्रिट भ्यूका तस्बिरहरूको सहायता लिँदा घटनास्थल वरपरका गतिविधिबारे महत्वपूर्ण तथ्यहरू फेला पारेको थियो ।

गुगल स्ट्रिट भ्यू एपले सडकका ३६०-डिग्री तस्बिर प्रस्तुत गर्दछ, जुन क्यामेरा जडान गरिएका गाडीले खिच्छ । ताजुएकोमा गुगलको क्यामेरायुक्त गाडी १५ वर्षपछि पुगेको थियो । सो क्रममा खिचेको तस्बिरमा एक व्यक्ति ठूलो सेतो प्लास्टिकको झोला कारको डिक्कीमा हालिरहेको देखिन्छ । प्रहरीको अनुमान अनुसार यो झोलामा नै पीडितको शव लुकाइएको थियो । अर्को तस्बिरमा कसैले ठूलो सेतो वस्तुलाई पाङ्ग्रायुक्त डोकोमा बोकेको देखिन्छ ।

प्रहरीले गुगल स्ट्रिट भ्यूका तस्बिरहरूले अनुसन्धानमा महत्त्वपूर्ण भूमिका खेलेको बताएको छ । यद्यपि, यी तस्बिरहरू मात्रै निर्णायक प्रमाण नभएको र थप अनुसन्धान आवश्यक रहेको पनि बताएको छ ।

पीडित क्युबाली नागरिक अक्टोबर २०२३ मा बेपत्ता भएका थिए । उनका आफन्तले उनको फोनबाट आएको शंकास्पद मेसेजपछि प्रहरीलाई खबर गरेका थिए । मेसेजमा उनले एक महिलासँग भेट्ने र स्पेन छोड्ने उल्लेख गरेका थिए ।

प्रहरीले यस घटनामा अनुसन्धान गर्न गत नोभेम्बर १२ मा ती व्यक्तिकी अहिलेकी प्रेमिका र पूर्वप्रेमिकालाई नियन्त्रणमा लिएको थियो । यस महिनाको सुरुमा नजिकैको चिहानबाट गाडिएको अवस्थामा कुहिन लागेको एउटा शव फेला परेको थियो, जुन तिनै क्युबाली नागरिकको भएको अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: पुस ४, २०८१ १५:४