close

नास्टको ४२ औं वार्षिकोत्सवमा ७६ जना सम्मानित

टेकपाना टेकपाना

पुस ४, २०८१ १८:४१

नास्टको ४२ औं वार्षिकोत्सवमा ७६ जना सम्मानित

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले आफ्नो ४२ औं वार्षिकोत्सवको अवसर पारी ७६ जनालाई सम्मान गरेको छ । बिहीबार कार्यालय परिसरमा आयोजित कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं नास्टकी सहकुलपति विद्या भट्टराईले पुरस्कार र कदरपत्र वितरण गरिन् ।

सो अवसरमा रमेश बहादुर बस्नेतलाई दुई लाख रुपैयाँ राशिको प्रकृति संरक्षण पुरस्कार, डा. देवराज जोशीलाई एक लाख रुपैयाँ राशिको विज्ञान पुरस्कार र डा. दिपेन्द्र पराजुलीलाई एक लाख रुपैयाँको पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै विज्ञान तथा प्रविधि युवा पुरस्कार तीन जनालाई, महिला विज्ञान तथा प्रविधि पुरस्कार एक जनालाई र उत्कृष्ट विज्ञान शिक्षक पुरस्कार पाँच जनालाई प्रदान गरियो । उत्कृष्ट विद्यार्थी पुरस्कार ३८ जना विद्यार्थीले प्राप्त गरे ।

विज्ञान र प्रविधिको क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याएका पाँच जना वरिष्ठ वैज्ञानिकलाई कदरपत्र, १२ उत्कृष्ट कर्मचारीलाई कर्मचारी पुरस्कार र अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने तथा प्याटेन्ट दर्ता गर्ने तीन वैज्ञानिकलाई विशेष प्रशंसा पत्र प्रदान गरियो ।

वार्षिकोत्सवका अवसरमा नास्टका सचिव डा. रविन्द्र प्रसाद ढकालले संस्थाले विद्यावारिधि, स्नातकोत्तर र अनुसन्धान अनुदान प्रदान गर्दै आएको चर्चा गरे । उनले युवा वैज्ञानिक र अनुसन्धानकर्तालाई सहयोग गर्ने काममा नास्टको भूमिका उल्लेखनीय रहेको बताए ।

उनले विज्ञान अनुसन्धानमा सरकारको लगानी न्यून रहेको र बजेट अभावले वैज्ञानिक गतिविधिमा बाधा पुगेको बताए । ४२ वर्षमा नास्टले जम्मा चार अर्ब ९९ करोड बजेट प्राप्त गरेकोमा ७० प्रतिशत बजेट पछिल्ला १० वर्षमा मात्र आएको उनले सुनाए । विज्ञान प्रवर्द्धनका लागि सरकारी अनुदान वृद्धि र निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको उनले बताए ।

पछिल्लो अध्यावधिक: पुस ५, २०८१ ८:२२