close

तनहुँमा अब नागरिकताको सिफारिस अनलाइनबाटै लिन सकिने

टेकपाना टेकपाना

पुस ९, २०८१ १३:३७

तनहुँमा अब नागरिकताको सिफारिस अनलाइनबाटै लिन सकिने

 

तनहुँ । तनहुँमा अब नागरिकताको सिफारिस अनलाइनबाटै लिन सकिने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले स्थानीय तहसँगको समन्वयमा अनलाइन सिफारिस प्रणाली लागू गर्न लागेको हो ।

अनलाइन सिफारिस सेवा सञ्चालन गर्न १० मध्ये आठ स्थानीय तहमा अभिमुखीकरण तालिम सम्पन्न भइसकेको र भानु नगरपालिका र बन्दीपुर गाउँपालिकामा मंगलबार तालिम प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी जीत बहादुर भण्डारीले बताए ।

उनका अनुसार केही पालिकाहरूले अनलाइन सिफारिस प्रक्रिया सुरु गरिसकेका छन् । यो प्रणालीले नेपाली नागरिकताको प्रमाणपत्र वितरणलाई छिटो, छरितो, त्रुटिरहित र प्रविधिमैत्री बनाउने उद्देश्य राखेको छ ।

“स्क्यान गरेर अनलाइनबाट कागजात पठाउँदा अभिलेखीकरणमा सजिलो हुनेछ । कागजात नष्ट हुने वा हराउने समस्या हट्छ । कुनै वडाबाट फर्जी सिफारिस ल्याएर नागरिकता बनाउने सम्भावना पनि समाप्त हुन्छ,” भण्डारीले टेकपानासँग बताए ।

उनका अनुसार ऐनमा अनलाइन सेवा अनिवार्य नगरिएकाले म्यानुअल सिफारिस प्रक्रिया पनि जारी रहनेछ ।  सेवाग्राहीले नागरिकता सिफारिसका लागि आवश्यक कागजातसहित वडा कार्यालयमा जानुपर्नेछ । वडा कार्यालयले जिल्ला प्रशासन कार्यालयको अनलाइन प्रणालीमा नागरिकता अनुसूची फाराम भरेर अपलोड गर्नेछ ।

विद्युतीय प्रणालीले दस्तावेज व्यवस्थापनलाई सहज बनाउनुका साथै प्रणालीको एकीकरण र सेवाको प्रभावकारितामा सुधार ल्याउने विश्वास गरिएको छ । योसँगै नागरिकताको अनलाइन सिफारिस प्रक्रिया लागू गर्ने तनहुँ २०औं जिल्ला बन्नेछ ।

पछिल्लो अध्यावधिक: पुस ९, २०८१ १३:३७