काठमाडौं । चीनको सबैभन्दा ठूलो विद्युतीय सवारीसाधन (ईभी) ब्याट्री निर्माता कन्टेम्पोररी एम्परेक्स टेक्नोलोजी लिमिटेड (सीएटीएल) ले ईभीलाई आगलागी र ठक्करका बेला हुने विस्फोटबाट सुरक्षित राख्न नयाँ च्यासिस सार्वजनिक गरेको छ । कम्पनीले यो च्यासिसमा आधारित कारहरू संयुक्त रूपमा विकास गर्न आफ्नै साझेदारीमा रहेको चिनियाँ ईभी ब्रान्ड ‘Avatr’ सँग सहकार्य गर्ने जनाएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा सीएटीएलले यो च्यासिसको मुख्य विशेषता यसको संरचना रहेको बताएको छ । यो च्यासिस कारको माथिल्लो भागबाट सजिलै छुट्टिन सक्ने र १२० किमी प्रतिघन्टा सम्मको उच्च गतिको ठक्करबाट उत्पन्न हुने ऊर्जा सहजै सोस्न सक्ने कम्पनीको भनाइ छ । कम्पनीले देखाएको भिडिओमा ठक्करपछि पनि ब्याट्री सुरक्षित रहेको देखिएको छ ।
ईभीमा आगलागीको जोखिम हुने भन्दै खरिदकर्ताहरूले सुरक्षासम्बन्धी चिन्ता व्यक्त गर्दै आएका छन् । उद्योग विशेषज्ञहरूका अनुसार, ईभीको प्राविधिक सुरक्षामा सुधार नगर्ने हो भने यस्तो जोखिमले उपभोक्ताको रोजाइमा नकारात्मक प्रभाव पार्न सक्छ ।
सीएटीएलले विशुद्ध ईभी कारहरूको माग सुस्त भएको र हाइब्रिड गाडीहरूको लोकप्रियता बढेको अवस्थामा नयाँ प्रविधिमा काम गरिरहेको छ । यस महिनाको सुरुमा कम्पनीले नियो इंकसँग प्रतिस्पर्धा गर्न नयाँ ब्याट्री स्वापिङ सेवा सार्वजनिक गरेको थियो ।
कम्पनीले सन् २०२५ सम्म १,००० ब्याट्री स्वापिङ स्टेसन स्थापना गर्ने र भविष्यमा ४०,००० स्टेसनसम्म विस्तार गर्ने लक्ष्य राखेको छ । यसले ईभीको लागत घटाउन र प्रयोगमा वृद्धिमा मद्दत गर्ने विश्वास सीएटीएलको छ ।