close

एन्ड्रोइड डिभाइस ह्याक गरिदिने खतरनाक मालवेयर फेला, कोको छन् जोखिममा ?

टेकपाना टेकपाना

पुस १०, २०८१ १६:१३

एन्ड्रोइड डिभाइस ह्याक गरिदिने खतरनाक मालवेयर फेला, कोको छन् जोखिममा ?

काठमाडौं । एन्ड्रोइड डिभाइसका लागि नयाँ मालवेयरको खतरा सतहमा आएको छ । ‘ब्याडबक्स’ नामको यस मालवेयरले झन्डै दुई लाख एन्ड्रोइड डिभाइसमा आक्रमण गरिसकेको साइबर सुरक्षा कम्पनी बिटसाइटले जनाएको छ । 

पहिलो पटक यो मालवेयर २०२३ मा टी ९५ नामको एन्ड्रोइड टिभी बक्समा पहिले नै इन्स्टल भएर आएको थियो । यो टिभी अमेजनबाट बिक्री गरिएको थियो । बिटसाइटका अनुसार उक्त टिभी बक्समा आएको मालवेयर अहिले पनि सक्रिय अवस्थामा छ । 

ब्याडबक्स एन्ड्रोइड मालवेयर बोटनेट जर्मनीमा गरिएको अपरेसनमार्फत रोक्न खोजिए पनि विश्वभर एक लाख ९२ हजार भन्दा बढी डिभाइसमा फैलिसकेको छ । र, क्रमशः विस्तार भइरहेको छ ।

यो चिनियाँ ब्रान्डका एन्ड्रोइड डिभाइस, यानडेक्स टिभी र हाइसेन्स स्मार्टफोनलाई लक्षित गरी फैलिरहेको बिटसाइटले जनाएको छ । यो मालवेयर कुख्यात ट्रियाडा परिवारसँग सम्बन्धित भएको बताइएको छ । यसले संक्रमित डिभाइसलाई ‘रेसिडेन्सियल प्रोक्सी’ मा रूपान्तरण गर्ने र साइबर अपराधीलाई ठगिजन्य गतिविधि गर्न सक्षम बनाउने रहेको छ । 

सामान्य अर्थमा भन्नुपर्दा साइबर अपराधीले तपाईंको एन्ड्रोइड डिभाइस हाइज्याक गर्छन् र ठगी जन्य कामका लागि भाडामा दिन प्रयोग गर्न सक्छन् । त्यसबाहेक यो मालवेयर अन्य मालवेयर इन्स्टल गर्न र डिभाइसमा खतरनाक काम गर्न समेत प्रयोग हुन सक्ने जनाइएको छ । 

बिटसाइटका अनुसार अनुसन्धानको क्रममा मात्र २४ घण्टामा ब्याडबक्ससँग जोडिएका एक लाख ६० हजार युनिक आईपी इड्रेस पत्ता लागेका थिए । यो मालवेयर भारत, रुस, चीन, ब्राजिल, बेलारुस र युक्रेनजस्ता देशहरूमा फैलिएको जनाइएको छ । झन् चिन्ताजनक कुरा त के छ भने चर्चित ब्राण्डका डिभाइस समेत यसबाट प्रभावित भएका छन् । विशेषगरी पुरानो फर्मवेयरमा चल्ने अफ-ब्राण्ड डिभाइस अझ बढी जोखिममा रहेका छन् ।

 

 

पछिल्लो अध्यावधिक: पुस १०, २०८१ १६:१८