close

क्रोम एक्सटेन्सन नियन्त्रणमा लिएर साइबर आक्रमण गर्दै ह्याकर

टेकपाना टेकपाना

पुस १४, २०८१ ११:२९

क्रोम एक्सटेन्सन नियन्त्रणमा लिएर साइबर आक्रमण गर्दै ह्याकर

काठमाडौं । केही दिनदेखि विश्वभर साइबर आक्रमणको घटना बढेको पाइएको छ । विशेषगरी ह्याकरले आक्रमणका लागि केही कम्पनीका क्रोम एक्सटेन्सन नियन्त्रणमा लिई आक्रमण सुरु गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार मध्य डिसेम्बरदेखि ह्याकरले विभिन्न कम्पनीका एक्सटेन्सन नियन्त्रणमा लिएर आक्रमण थालेका हुन् । 

क्यालिफोर्नियामा आधारित डेटा सुरक्षा कम्पनी साइबरहेभन पनि ह्याकरको आक्रमणको सिकार बन्न पुगेको छ । “क्रिसमसको साँझ हाम्रो क्रोम एक्सटेन्सनमाथि मालिसियस साइबर आक्रमण भएको हाम्रो टिमले पुष्टि गरेको छ,” साइबरहेभनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

साइबर सुरक्षा विज्ञहरूको सार्वजनिक टिप्पणीलाई प्रतिक्रिया दिँदै कम्पनीले यो आक्रमण ‘क्रोम एक्सटेन्सन डेभलपरलाई लक्षित गर्ने व्यापक योजनाको एक हिस्सा’ भएको सङ्केत गरेको छ । “हामी सङ्घीय कानून कार्यान्वयन एजेन्सीसँग सक्रिय रूपमा सहकार्य गरिरहेका छौं,” कम्पनीले अगाडि भनेको छ । 

यो आक्रमणको भौगोलिक दायरा तत्काल स्पष्ट हुन सकेको छैन । ​रायटर्सको नयाँ रिपोर्टअनुसार ह्याकरले गत हप्ता थुप्रै साइबरहेभनबाहेक अन्य थुप्रै क्रोम एक्सटेन्सन हाइज्याक गरेका थिए ।

ह्याकरहरूले सामाजिक सञ्जालको एड अकाउन्ट विशेषगरी फेसबुक एड अकाउन्ट र एआई प्लेटफर्मका प्रमाणमा पहुँच पाउन खोजेको देखिन्छ ।

माशेबलका अनुसार १० हजार बढी प्रयोगकर्ता भएको इन्टरनेक्स्ट भीपीएन, ५० हजार बढी प्रयोगकर्ता भएको भीपीएन सीटी, ४० हजार बढी प्रयोगकर्ता रहेको यूभ्वाइस र त्यति नै प्रयोगकर्ता भएको प्यारोट टक्स नामका क्रोम एक्सटेन्सन प्रयोग गर्ने प्रयोगकर्ता उच्च जोखिममा छन् । यी क्रोम एक्सटेन्सन प्रयोग गर्ने प्रयोगकर्तालाई २६ डिसेम्बरपछि उक्त भर्सन हटाएर नयाँ भर्सन इन्स्टल गर्न सुझाव दिइएको छ ।

पछिल्लो अध्यावधिक: पुस १४, २०८१ ११:३७