close

एआईमा यस वर्ष ८० अर्ब डलर लगानी गर्दै माइक्रोसफ्ट

टेकपाना टेकपाना

पुस २०, २०८१ १५:७

एआईमा यस वर्ष ८० अर्ब डलर लगानी गर्दै माइक्रोसफ्ट

काठमाडौं । माइक्रोसफ्टले २०२५ मा​ आर्टिफिटियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा ८० अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । शुक्रबार एक ब्लग सार्वजनिक गर्दै कम्पनीले एआई मोडेललाई तालिम दिन क्लाउडमा आधारित एप्लिकेसन निर्माणमा ठूलो रकम खर्चिने जानकारी दिएको हो । 

सन् २०२२ मा ओपनएआईले च्याटजीपीटी सार्वजनिक गरेपछि एआईमा लगानी निकै बढेको छ । विभिन्न क्षेत्रका कम्पनीहरूले आफ्ना उत्पादन र सेवामा एआई जोड्न खोजेपछि यसको माग बढिरहेको छ । 

एआई सञ्चालन गर्न विशाल कम्प्युटिङ पावर चाहिन्छ । यसैकारण प्रविधि कम्पनीलाई हजारौं चिपहरूलाई क्लस्टरमा जोड्न सक्षम बनाउने विशेष डेटा सेन्टरहरूको माग बढिरहेको छ । माइक्रोसफ्टले आफ्नो एआई पूर्वाधार सुधार गर्न र डेटा सेन्टर सञ्जाललाई विस्तार गर्न अर्बौं लगानी गर्दै आएको छ ।

विश्लेषकले आर्थिक वर्ष २०२५ मा माइक्रोसफ्टको पूँजीगत खर्चसहित कुल ८४.२४ अर्ब डलर हुने अनुमान गरेका छन् । आर्थिक वर्ष २०२५ को पहिलो त्रैमासमा कम्पनीको पूँजीगत खर्च ५.३ प्रतिशत वृद्धि भई २० अर्ब पुग्ने सीएनएनले उल्लेख गरेको छ ।

ओपनएआईको मुख्य लगानीकर्ता भएको नाताले माइक्रोसफ्टलाई एआई दौडमा अग्रणी ठानिन्छ । विशेषगरी एआई च्याटबट निर्मातासँग विशेष साझेदारी भएकाले माइक्रोसफ्टले ती टुल आफ्नो प्लेटफर्ममा राखेको छ ।

कम्पनीका उपाध्यक्ष ब्राड स्मिथले ब्लगमा उल्लेख गरे अनुसार माइक्रोसफ्टले गर्ने ८० अर्ब डलरको लगानीमध्ये आधाभन्दा बढी अमेरिकामा हुनेछ । एआई क्षेत्रमा बढी निजी पूँजीको लगानी भइरहेको परिप्रेक्षमा नवीनतम प्रविधिका लागि अमेरिका उपयुक्त स्थान हुने उनको भनाइ छ ।

पछिल्लो अध्यावधिक: पुस २०, २०८१ १५:१९