close

भूकम्प मापन: के तपाईँलाई थाहा छ म्याग्निचुड र रेक्टर स्केलबीचको भिन्नता ?

टेकपाना टेकपाना

माघ २, २०८१ १७:५६

भूकम्प मापन: के तपाईँलाई थाहा छ म्याग्निचुड र रेक्टर स्केलबीचको भिन्नता ?

काठमाडौं । आज माघ २ गते अर्थात् भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गते नेपालमा ८ रेक्टर स्केलभन्दा माथिको महाभूकम्प गएको थियो । सोही दिनको सम्झनामा आज भूकम्प दिवस मनाइएको छ ।

नेपालमा समय समयमा सानोतिनो भूकम्पको पराकम्प महसुस गर्नु सामान्य जस्तो नै भइसकेको छ । भूकम्पको धक्का महसुस गरिसकेपछि हामी उक्त भूकम्प कति शक्तिशाली थियो भनेर थाहा पाउन समाचारतिर आँखा दौडाउँछौँ ।

पछिल्लो समय पुस २३ गते काठमाडौंसहित आसपासका क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस भएको थियो । पछि राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले उक्त भूकम्प चीनको डिङ्गेलाई केन्द्रविन्दु बनाएर ७ म्याग्निचुडको आएको पुष्टि  गर्‍यो ।

भूकम्प कसरी मापन गरिन्छ ?

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रवक्ता मोनिका झाका अनुसार विश्वमा विशेषगरी दुई किसिमका भूकम्प मापन हुने गरेका छन्: लोकल म्याग्निचुड र मोमेन्ट म्याग्निचुड (एमडब्लू) ।

भूकम्प जाँदा कस्तो किसिमको भूकम्प गयो भन्ने कुराले म्याग्निचुड निर्धारण गर्छ । जति ठूलो भूकम्प आयो, म्याग्निचुड त्यति धेरै ठूलो हुन्छ । म्याग्निचुड लग स्केलमा मापन गरिन्छ ।

अर्थात्, एक म्याग्निचुडको भूकम्पभन्दा दुई म्याग्निचुडको भूकम्प १० गुणा ठूलो हुन्छ । यस्तै, तीन म्याग्निचुडको भूकम्प एक म्याग्निचुडकोभन्दा सय गुणा ठूलो हुन्छ । यसरी म्याग्निचुडको स्केल गुणात्मक रूपमा बढ्दै जान्छ ।

भूकम्प जाँदा उक्त भूकम्पले कति शक्ति रिलिज गर्‍यो भन्ने मापन हुन्छ । जसलाई म्याग्निचुड भनिन्छ । यो संसारभरि नै एकै प्रकारको हुन्छ । उक्त पराकम्पको तीव्रता (इन्टेन्सिटी) कति छ भनेर मापन गर्ने झाले बताइन् । भूकम्प गएको केन्द्रबिन्दुबाट जति टाढा गयो, त्यति नै त्यसको इन्टेन्सिटी घट्दै जान्छ ।

भूकम्पको तीव्रतालाई सूत्रको प्रयोग गरेर मापन गर्नु लोकल म्याग्निचुड हो ।

उनले भनिन्, ‘चीनमा ७ म्याग्निचुडको भूकम्प जाँदा नेपालमा पनि धक्का महसुस गरिएको थियो । तर, यहाँसम्म भूकम्पको इन्टेन्सिटी भने कम हुँदै गएको थियो । जसकारण यसले ठूलो धनजन वा मानवीय क्षति निम्त्याउन सकेन ।’

मोमेन्ट म्याग्निचुड (एमडब्लू) ले भूकम्पपछि जति लामो दरार आयो, त्यसमा आधारित रहेर मापन गर्ने गरिन्छ । यो विधि विशेषगरी वैज्ञानिकहरूले प्रयोग गर्ने गरेको उनले बताइन् ।

बडी वेभ म्याग्निचुड पनि अर्को मापन विधि हो । यस विधिमा भूकम्प जाँदा जुन तरङ्ग आउँछ, त्यो तरङ्गलाई सूत्रको प्रयोग गरेर मापन गरिएको हुन्छ ।

सरफेस वेभ म्याग्निचुड पनि भूकम्प मापनको अर्को विधि हो । यसले भूकम्प आउँदा सतहको तरङ्गहरूको आयाम मापन गरेर कत्रो भूकम्प गएको थियो भन्ने पत्ता लगाउँछ ।

म्याग्निचुड र रेक्टर स्केलमा समानता

सन् १९३५ मा अमेरिकी भूकम्पविद् चार्ल्स रिक्टर र बेनो गुटेनबर्गले भूकम्प मापन गर्ने ‘सिस्मोग्राफ’ यन्त्र बनाएका थिए । जसबाट भूकम्पको इन्टेन्सिटी धेरथोर भएसँगै यसको गतिमा परिवर्तन आउँथ्यो । रिक्टरले तय गरेको मापदण्डअनुसार भूकम्पको मापन गर्न थालेपछि उनैको नामबाट रेक्टर स्केल भन्न थालिएको थियो । पछिल्लो समयमा लोकल म्याग्निचुड (एलएम) लाई रेक्टर स्केल पनि भन्ने गरिएको छ ।

पछिल्लो अध्यावधिक: माघ २, २०८१ २१:२०