काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्रामले रिल्स भिडिओको समय सीमा बढाएको छ । अब प्रयोगकर्ताहरूले इन्स्टाग्राममा तीन मिनेटसम्मका रिल्स भिडिओ अपलोड गर्न सक्ने भएका छन् ।
यसअघि यो सीमा ९० सेकेन्ड मात्र थियो । इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले प्रयोगकर्ताको प्रतिक्रियालाई ध्यानमा राख्दै यो परिवर्तन गरिएको बताएका छन् ।
उनले ९० सेकेन्डको समय सीमा धेरै छोटो भएको गुनासो आएपछि यसलाई बढाउने निर्णय गरिएको बताए ।
गत वर्षको जुलाईमा मोसेरीले लामो भिडिओले इन्स्टाग्रामको मुख्य पहिचानलाई असर गर्ने भन्दै यसलाई प्राथमिकता नदिने बताएका थिए । तर, अहिले प्रयोगकर्ताको मागलाई ध्यान दिँदै उनले आफ्नो निर्णय परिवर्तन गरेका हुन् ।
यो परिवर्तन टिकटकले तीन मिनेटसम्मको भिडिओ अपलोड गर्न दिने निर्णय गरेपछि आएको हो । टिकटकले सन् २०२१ देखि नै तीन मिनेटसम्मको भिडिओ अपलोड गर्न दिने सुविधा दिएको थियो । साथै, अमेरिकामा टिकटक प्रतिबन्धित भएकै दिन इन्स्टाग्रामले यस्तो निर्णय गरेको हो ।
इन्स्टाग्रामले रिल्सको समय सीमा बढाउन ढिलाइ गरेको थियो । डेढ मिनेटको रिल्स भिडिओ अपलोड गर्न मिल्ने सुविधा सुरु भएको दुई वर्षभन्दा बढी भइसकेको छ । कम्पनीले १० मिनेटसम्मको भिडिओ अपलोड गर्न मिल्ने सुविधा परीक्षण गरे पनि यसलाई सार्वजनिक गरेको थिएन । तर, अब भने तीन मिनेटको भिडिओ अपलोड गर्न मिल्ने फिचर सुरु भएको छ ।