काठमाडौं । नेपालमा विकसित डिजिटल ठेगाना प्रणाली ‘कताहो’ ले अन्तर्राष्ट्रिय स्तरको वर्ल्ड समिट अवार्ड (डब्लूएसए) जितेको छ । अनुसन्धानकर्ता राम-लक्ष्मण नेतृत्वको टिमले एड्रेसग्राफ नेपाल प्रालिमार्फत विकास गरेको यो प्रणालीले ‘Smart Settlements and Urbanization’ विधामा उत्कृष्ट ठहरिँदै यो सम्मान प्राप्त गरेको हो ।
डब्लूएसएले संयुक्त राष्ट्र संघले अघि सारेका दिगो विकास लक्ष्य हासिल गर्न योगदान गर्ने प्रविधिहरूको चयन गर्छ । कताहोले नेपालभरका स्थानहरूको डिजिटल ठेगाना कोड तयार गर्छ । यो प्रणालीमार्फत ४०० शब्द र अंकको संयोजन गरी कुनै पनि स्थानको ठेगाना कोड केवल तीन सेकेन्डभित्र तयार गर्न सकिन्छ ।
अझ रोचक कुरा, अफलाइनमै ठेगाना खोज्न सकिने यो प्रणालीले बोलीकै माध्यमबाट कोड शेयर गर्न समेत सक्षम बनाएको छ । हालसम्म १० हजारभन्दा बढी प्रयोगकर्ताले ठेगाना प्लेट तयार गरिसकेको कम्पनीले जनाएको छ ।
यो प्रणाली निःशुल्क प्रयोग गर्न सकिन्छ । विभिन्न स्थानीय निकायहरूले यसलाई विपद् व्यवस्थापन र सूचना आदानप्रदानका लागि पनि उपयोग गर्दै आएका छन् । कताहोले आपतकालीन प्रतिक्रियाका लागि विशेष इमर्जेन्सी रेस्पोन्स कन्सोल समेत उपलब्ध गराएको छ ।
डब्लूएसएले ‘कताहो’ ले संयुक्त राष्ट्र संघका दिगो लक्षहरूमध्ये ६ वटा लक्ष हासिल गर्न सहयोग गर्ने सम्भावना रहेको जनाएको छ । यो सम्मानको घोषणा डब्लूएसएको आधिकारिक वेबसाइटमार्फत गरिएको थियो । पुरस्कार वितरण समारोह भारतको हैदरावादमा २०२५ अप्रिल ६ देखि ९ सम्म हुनेछ ।
नेपालबाट यसअघि सन् २०२२ मा नागरिक एपले ‘Government and Citizen Engagement’ विधामा डब्लूएसए जितेको थियो ।
डब्लूएसएले हरेक वर्ष विश्वभरका १८२ देशका विज्ञहरूको सिफारिस र कडा छनोट प्रक्रियामार्फत ४० उत्कृष्ट परियोजनालाई विभिन्न विधामा सम्मानित गर्ने गर्दछ । यस वर्ष पनि ४० परियोजनाहरू सम्मानित भएका छन् ।