close

सामाजिक सञ्जालमा के गरे कति सजाय ? जान्नुहोस् विधेयकका मुख्य प्रावधान

टेकपाना टेकपाना

माघ १६, २०८१ १७:४०

सामाजिक सञ्जालमा के गरे कति सजाय ? जान्नुहोस् विधेयकका मुख्य प्रावधान

काठमाडौं । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै ‍दुरुपयोगका घटना पनि बढेका छन् । यसैबीच, सरकारले सङ्घीय संसदमा ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ दर्ता गरेको छ ।

विधेयकमा सामाजिक सञ्जालमा गरिने कतिपय गतिविधिलाई गैरकानुनी मान्दै कडा सजायको व्यवस्था गरिएको छ । सामाजिक सञ्जालमा के-कस्ता काम गरेमा कस्तो सजायको प्रस्ताव गरिएको छ भन्नेबारे यहाँ संक्षिप्तमा जानकारी दिइएको छ:

राष्ट्रहित प्रतिकूल हुने विषय सामाजिक सञ्जालमा राखेमा सजाय

कसैले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान वा राष्ट्रहित वा संघीय इकाइबीचको सुसम्बन्धमा प्रतिकूल असर पार्ने गरी वा वर्गीय, जातीय, धार्मिक, सांस्कृतिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अन्य कुनै आधारमा घृणा वा द्वेष उत्पन्न गर्ने कुनै काम गर्न वा गराउन वा विभिन्न जात, जाति वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने विषय सामाजिक सञ्जालमा प्रसार गर्न हुँदैन ।

यस्तो काम गरेमा यो कसुर ठहरिनेछ । र, यस्तो गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

साइबर बुलिङ

सामाजिक सञ्जाल प्रयोग गरी कसैलाई गलत वा हानिकारक वाक्य, शब्द, अक्षर, चिह्न, चित्र, तस्बिर, स्केच, फोटो, अडियो, भिडिओ, श्रव्य-दृश्य, संकेत वा सन्देश पठाउने, पोस्ट गर्ने, शेयर गर्ने र त्यहीबाट कसैलाई सताउने, तर्साउने, धम्क्याउने, लज्जित गराउने, अपमान गर्ने वा अफवाह फैलाउने जस्ता काम गरेमा दुई वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने विधेयकमा उल्लेख छ ।

साइबर स्टकिङ

कसैलाई झूट्ठा आरोप लगाउने, धम्की दिने, जालसाजी गर्ने, दुर्व्यवहार गर्ने, निगरानी गर्ने वा व्यक्तिगत गोपनीयता भंग गर्ने, बारम्बार अनावश्यक सन्देश पठाउने, गोप्य जानकारी खुलासा गर्ने वा वैयक्तिक सुरक्षामा खतरा पुर्‍याउने जस्ता काम गरेमा तीन वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।

ह्याकिङ

कसैको कम्प्युटर प्रणाली वा सामाजिक सञ्जालको पासवर्ड ह्याक गरेमा तीन वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।

फिशिङ वा इम्पोस्टर स्क्याम

कसैलाई झुक्याएर व्यक्तिगत तथा वित्तीय जानकारी लिने वा पैसा माग्ने काम गरेमा तीन वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।

सेक्सटोर्सन वा एक्सटोर्सन

कसैलाई धम्की दिई यौन शोषण वा आर्थिक लाभ लिन बाध्य पारेमा तीन वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।

बीभत्स सामग्री पोस्ट गरेमा सजाय

सामाजिक सञ्जालमा बीभत्स तस्बिर वा भिडिओ पोस्ट वा शेयर गरेमा तीन महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।

अश्लील, मिथ्या वा भ्रामक सामग्री पोस्ट गरेमा सजाय

सामाजिक सञ्जालमा अश्लील, मिथ्या वा भ्रामक सामग्री प्रकाशन वा प्रसारण गरेमा दुई वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।

डिपफेक भिडिओ पोस्ट गरेमा सजाय

एआईको सहायताले कसैको अनुहार वा आवाजको नक्कल गरी गलत सूचना प्रवाह गरेमा दुई वर्षसम्म कैद सजाय वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

बेनामी वा छद्मभेषी पहिचान बनाएर सामग्री पोस्ट गरेमा सजाय

सामाजिक सञ्जालमा बेनामी वा छद्मभेषी पहिचान (अकाउन्ट, पेज वा ग्रुप) बनाएर सामग्री पोस्ट गरेमा तीन महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।

बेनामी वा छद्मभेषी पहिचान बनाई सामूहिक रूपमा राष्ट्रहित विपरीत हुने कुनै पनि कार्य गरेमा पाँच वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।

यस्तो छ विधेयक

पछिल्लो अध्यावधिक: माघ १६, २०८१ १८:२२