काठमाडौं । चिनियाँ प्रविधि कम्पनी अलिबाबाको क्यूवेन टोलीले सार्वजनिक गरेको नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले मार्सल खेलाडी ब्रुस लीको संज्ञा दिएका छन् । बिहीबार भृकुटीमण्डपमा आयोजित आठौँ चेम्बर अफ कमर्सको एक्सपोलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सस्तोमा एआई ल्याएको भन्दै उनले अलिबाबाको तारिफ गरेका हुन् ।
“अलिबाबा डटकमले ल्याएको नयाँ एआईले च्याटजीपीटी लगायतका कम्पनीका एआईलाई धेरै समस्या बनाएको छ । उनीहरूभन्दा १५ गुणा सस्तो भएकाले यसले बजार लिने सम्भावना देखिएको छ । यो ब्रुस ली जस्तो पो आयो । ज्यान सानो सानो छ, झड्यामझुडुम पारिहाल्छ । अचानक आएर तहल्का मच्चायो । २४ घण्टामा विश्वव्यापी तहल्का मच्चायो ।”
प्रविधिमा नेपाल उपभोक्ता भएकाले सस्तो चाहिएको बताउँदै उनले सधैं उपभोक्ता नै बनिहरनु पर्ने भन्ने नरहेको धारणा राखे । “तर हामी सधैं उपभोक्ता हुन्छौँ भन्ने कुरा होइन । यो त धरतीको ज्ञान र विज्ञान उत्पत्ति भएको क्षेत्र हो । सधैँ पछाडि पर्नुपर्छ भन्ने छैन,” उनले भने ।
चिनियाँ कम्पनी डिपसिकले ल्याएको एआई मोडेलले चर्चा पाए लगत्तै अलिबाबाले सोमबार नयाँ एआई मोडेल सार्वजनिक गरेको थियो । यस मोडेलले कम्प्युटर र मोबाइल फोन चलाउन सक्ने बताइएको छ ।
क्यूवेन २.५-भीएल (Qwen2.5-VL) नाम दिइएको यो एआई मोडेलले टेक्स्ट र इमेजको विश्लेषण गर्न, फाइलहरू बुझ्न, भिडिओ हेर्न र इमेजमा भएका वस्तु गन्न सक्ने दाबी गरिएको छ । यो ठ्याक्कै ओपनएआईको नयाँ मोडेल अपरेटर जस्तो देखिन्छ । यसका विशेषता पनि अपरेटरसँग मिल्छन् ।
कम्पनीका अनुसार यो मोडलले ओपनएआईको जीपीटी-४ओ, एन्थ्रोपिकको क्लाउडी ३.५ सोनेट र गुगलको जेमिनाई २.० फ्ल्याशलाई विभिन्न परीक्षणमा पछि पारेको छ । यो मोडलले भिडिओ बुझ्ने, गणितीय समस्या समाधान गर्ने, डकुमेन्ट विश्लेषण गर्ने र प्रश्नको जवाफ दिने जस्ता काममा उत्कृष्ट प्रदर्शन गरेको दाबी गरिएको छ ।
अलिबाबाले क्यूवेन च्याट एपमा यो मोडल परीक्षणको लागि उपलब्ध गराएको छ । साथै यसलाई एआई प्लेटफर्म हगिङ फेसबाट डाउनलोड गर्न सकिन्छ ।