काठमाडौं । ओपनएआईका सीईओ साम अल्टम्यानले केही समयअघि ओ थ्री -मिनी (OpenAI o3-mini) ‘केही हप्तामा’ आउने बताएका थिए । त्यसको ठ्याक्कै दुई हप्तापछि उक्त फिचर सबै प्रयोगकर्ताका लागि उपलब्ध भएको छ ।
ओपनएआईले च्याटजीपीटी र यसको एपीआई सेवाहरूमा ओ थ्री-मिनी रिजनिङ मोडेल (तर्क दिन सक्ने मोडेल) सुरु गरेको छ । सुरुवाती चरणमा च्याटजीपीटीका निःशुल्क प्रयोगकर्ताले दिनमा सीमित पटकमात्र प्रयोग गर्न पााउनेछन् ।
डिसेम्बरमा ओपनएआईको १२ दिनको ‘शिप-मास’ को अभियान अन्तर्गत यो फिचर घोषणा गरेको थियो । यो मोडेल गणित, कोडिङ र विज्ञानमा ओ वन मोडेलको पर्फमेन्ससँग मेल खाने गरी डिजाइन गरिएको बताइएको छ ।
o3-mini is out!
smart, fast model.
available in ChatGPT and API.
it can search the web, and it shows its thinking.
available to free-tier users! click the "reason" button.
with ChatGPT plus, you can select "o3-mini-high", which thinks harder and gives better answers.
ओपनएआईका अनुसार ओ थ्री-मिनीले ओ वन-मिनीभन्दा २४ प्रतिशत छिटो प्रतिक्रिया दिनुका साथै थप सटीक जवाफ दिने गर्छ । ओ वन-मिनी जस्तै यस नयाँ मोडेलले जवाफ मात्र दिनेभन्दा पनि यसले कसरी काम गर्यो भनेर देखाउनेछ ।
ओपनएआईले डिसेम्बरमा आफ्नो ओ थ्री मोडेलले ओ वनलाई उछिनेको प्रारम्भिक रिपोर्ट बाहिर ल्याएको थियो । र अब यसले ओ थ्री-मिनी संस्करणले कम लागतमा धेरै कोडिङ र तर्क दिने काममा ओ वन मोडेललाई उछिनेको जनाएको छ ।
डेभलपरले च्याट कम्प्लिसन एपीआई, असिस्टेन्ट एपीआई र ब्याच एपीआई सहित ओपनएआईको एपीआई सेवाहरू मार्फत ओ३-मिनीको प्रयोग गर्न सक्नेछन् । सशुल्क प्रयोगकर्ताले ओ थ्री-मिनी-हाई पनि छनोट गर्न सक्नेछन् । यसलाई ओपनएआईले ‘च्याटजीपीटीमा उत्कृष्ट कोडिङ विकल्प’ हुने र उत्पादन गर्न अलि बढी समय लाग्ने उच्च इन्टेलिजेन्स रेस्पोन्स समावेश गर्ने जनाएको छ ।
ओ थ्री-मिनीले वेब स्रोतमा लिङ्कसहित जवाफहरू खोज्न सर्चसँग पनि काम गर्नेछ । च्याटजीपीटीका नि:शुल्क प्रयोगकर्ताहरूले ओपनएआईको रिजनिङ मोडेल प्रयोग गर्न पाएको यो पहिलो पटक हो । माइक्रोसफ्टले सबै कोपाइलट प्रयोगकर्ताका लागि ओ वन नि:शुल्क बनाएको छ । यता चिनियाँ एआई च्याटबट डिपसिकले सुरुवातदेखि नै यी र यस्ता फिचर निःशुल्क उपलब्ध गराएर एआई संसारलाई हल्लाइदिएको छ ।
प्रयोगकर्ताले च्याटजीपीटी खोलेर च्याट बारमा भएको ‘रिजन’ (Reason) फिचर छानेर च्याटजीपीटीमा ओ थ्री-मिनी नि:शुल्क प्रयोग गर्न सकिन्छ । र, यो प्रयोग गर्न पाउने दर सीमा पहिलेकै जीपीटी-फोर ओको जस्तै हुने बताइएको छ ।
ओ थ्री-मिनी विश्वभरका च्याटजीपीटी प्लस, टिम र प्रो प्रयोगकर्ताहरूका लागि पनि उपलब्ध भइसकेको छ । र, ओपनएआईले प्लस र टिम प्रयोगकर्ताहरूका लागि दैनिक मेसेजको सीमा १५० मेसेजमा तीन गुणा बढाइदिएको छ । प्रति महिना २०० डलर तिर्न इच्छुक प्रो प्रयोगकर्ताहरूले मात्र ओ थ्री-मिनीमा असीमित पहुँच पाउँछन् ।