close

ट्रम्प प्रशासनले विदेशी सहयोगमा रोक लगाउँदा यूएसएडको वेबसाइट बन्द !

टेकपाना टेकपाना

माघ २०, २०८१ १४:१

ट्रम्प प्रशासनले विदेशी सहयोगमा रोक लगाउँदा यूएसएडको वेबसाइट बन्द !

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएड-USAID) को वेबसाइट अकस्मात् बन्द भएको छ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशी सहायतामा रोक लगाएसँगै शनिबारदेखि यूएसएडको वेबसाइट डाउन भएको हो । 

सीएनएनका अनुसार अहिलेसम्म वेबसाइट अफलाइन हुनुको कुनै आधिकारिक कारण खुलाइएको छैन । ट्रम्प प्रशासनले विश्वव्यापी रूपमा अमेरिकी कोषबाट सञ्चालित विदेशी सहायता र विकास कार्यक्रमहरूमा रोक लगाएको छ । यसका कारण हजारौं कर्मचारी बेरोजगार भएका छन् भने कार्यक्रमहरू तत्कालका लागि बन्द भएका छन् ।

अमेरिका विश्वको सबैभन्दा ठूलो मानवीय सहायता दाता हो । तर, यसले आफ्नो बजेटको १ प्रतिशतभन्दा कम विदेशी सहायतामा खर्च गर्छ, जुन अन्य केही देशहरूको तुलनामा कम हो ।

यससँगै यूएसएडको नेपाली वेबसाइट पनि अफलाइन भएको देख्न सकिन्छ । नेपालका लागि यूएसएडको डोमेन (usaid.gov/nepal) ब्राउज गर्दा ‘दिस साइट कान्ट बि रिच्ड’ भन्ने सन्देश देखिन्छ ।

यूएसएडको स्थापना सन् १९६१ मा राष्ट्रपति जोन एफ केनेडीले शीतयुद्धको समयमा सोभियत संघको प्रभाव रोक्न गरेका थिए । यो एजेन्सी आज चीनको बढ्दो प्रभावलाई चुनौती दिने अमेरिकी प्रयासको केन्द्रमा रहेको छ । चीनले आफ्नो ‘बेल्ट एन्ड रोड’ विदेशी सहायता कार्यक्रमलाई अगाडि बढाएको छ ।

पछिल्लो अध्यावधिक: माघ २०, २०८१ १४:१५