close

९ महिनादेखि अन्तरिक्षमा फसेका सुनिता र बुच छिट्टै पृथ्वीमा फर्किने !

टेकपाना टेकपाना

माघ ३०, २०८१ १७:५४

९ महिनादेखि अन्तरिक्षमा फसेका सुनिता र बुच छिट्टै पृथ्वीमा फर्किने !

काठमाडौं । अन्तरिक्षमा नौ महिनादेखि रोकिएका अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विलमोर अब छिट्टै पृथ्वी फर्किने भएका छन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले उनीहरूलाई पृथ्वी फर्काउनका लागि नयाँ योजना सार्वजनिक गरेको छ ।

नासाले क्रू-१० मिसनका लागि तयार पारिएको नयाँ अन्तरिक्ष यानको सट्टामा यसअघि अन्तरिक्षमा उडान भरिसकेको स्पेसएक्स क्रू ड्र्यागन क्याप्सुल प्रयोग गर्ने घोषणा गरेको छ । यस निर्णयसँगै उनीहरूको फिर्तीको बाटो खुलेको हो ।

स्पेसएक्सले आफ्नो यानको तालिका परिवर्तन गरेर उनीहरूलाई मार्चको मध्यतिरै पृथ्वीमा फर्काउने व्यवस्था मिलाउने भएको छ । यसअघि मार्चको अन्त्यतिर वा अप्रिलमा उनीहरू फर्कने अनुमान गरिएको थियो ।

गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेसएक्सका सीईओ एलन मस्कलाई सुनिता र बुचलाई जतिसक्दो चाँडो पृथ्वी फर्काउन आग्रह गरेका थिए । सोही अनुसार उनीहरूलाई छिटो पृथ्वी फर्काउने प्रयास गरिएको छ ।

नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा आगामी क्रू रोटेसन मिसनहरूको प्रक्षेपण र फर्कने मितिलाई पनि अघि सारेको छ । यसअघि मार्च २५ मा प्रक्षेपण गर्ने तयारी गरिएको क्रू-१० मिसन अब मार्च १२ मा प्रक्षेपण हुनेछ । यद्यपि, यो मिसनको तयारी र एजेन्सीको उडान तयारी प्रक्रियाको प्रमाणीकरण पूरा भएमा मात्र उक्त मितिमा सम्भव हुने नासाले जनाएको छ ।

क्रू-१० मिसन अन्तरिक्षमा पुगेपछि हाल अन्तरिक्षमा रहेको क्रू-९ मिसन पृथ्वी फर्किनेछ । नयाँ मिसन टोलीसँग हस्तान्तरण प्रक्रिया पूरा गरेपछि क्रू-९ मिसन फर्कने बताइएको छ ।

सुनिता विलियम्स र बुच विलमोर २०२४ को जुनमा बोइङको स्टारलाइनर क्याप्सुलमा सवार भएर आईएसएसमा गएका थिए । तर क्याप्सुलमा हिलियम लिक हुने लगायतका समस्या देखिएपछि उनीहरू पृथ्वी फर्कन सकेनन् । हाल नासाका यी दुई अन्तरिक्षयात्री अन्तरिक्ष स्टेसनमा छन्, जहाँ सुनिता आईएसएसको कमान्डरको रूपमा कार्यरत छिन् ।

उनीहरूलाई फिर्ता ल्याउनका लागि क्रू-१० मिसन प्रक्षेपण गर्न लागिएको हो । यस मिसनमा चारजना अन्तरिक्षयात्री रहनेछन् । मिसन सफल भएमा अन्तरिक्ष स्टेसनमा रहेका कर्मचारीको सङ्ख्यालाई सन्तुलित राख्नेछ ।

क्रू-१० मिसनमा नासा अन्तरिक्षयात्रीहरू कमान्डर एनी म्याकक्लेन, पाइलट निकोल एयर्स, मिसन विशेषज्ञ तथा जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)का अन्तरिक्षयात्री ताकुया ओनिशी र रोसकोसमोसका अन्तरिक्षयात्री किरिल पेस्कोभ रहेनेछन् ।

हस्तान्तरणपछि अन्तरिक्ष एजेन्सी र स्पेसएक्सले नासा अन्तरिक्ष यात्रीहरू निक हेग, सुनिता विलियम्स, बुच विलमोर, साथै रोसकोसमोसका अन्तरिक्षयात्री अलेक्जेन्डर गोर्बुनोभलाई क्रू-९ मा सवार गरेर पृथ्वीमा फर्काउने तयारी गर्नेछन् ।

पछिल्लो अध्यावधिक: माघ ३०, २०८१ १८:४८