close

नेपाली विद्यार्थीमाथि दुर्व्यवहार भएको स्वीकार्दै किट विश्वविद्यालयले माग्यो माफी

टेकपाना टेकपाना

फागुन ६, २०८१ १६:४६

नेपाली विद्यार्थीमाथि दुर्व्यवहार भएको स्वीकार्दै किट विश्वविद्यालयले माग्यो माफी

काठमाडौं । भारतको ओडिशास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीसँग माफी मागेको छ । मङ्गलबार दिउँसो विज्ञप्तिमार्फत विश्वविद्यालयले नेपाली विद्यार्थीलाई दुर्व्यवहार भएको स्वीकार्दै माफी मागेको हो ।

विश्वविद्यालयले १६ फेब्रुअरी २०२५ मा क्याम्पसमा भएको अप्रिय घटनाको लागि दुःख व्यक्त गरेको छ । उपकुलपति प्रा. सरणजित सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी हाम्रा विद्यार्थीहरूलाई असाध्यै माया गर्छौं र उनीहरूको सम्मानमा आँच पुर्‍याउने कुनै पनि कार्यलाई सह्य गर्दैनौं ।” आन्दोलनरत विद्यार्थीहरूप्रति केही व्यक्तिले गरेको व्यवहारप्रति केआईआईटी प्रशासनले गहिरो खेद प्रकट गरेको छ ।

विश्वविद्यालयका दुई अधिकारीले दिएको गैरजिम्मेवारपूर्ण टिप्पणीलाई स्वीकार गर्दै उनीहरूलाई तत्काल सेवाबाट हटाएको जानकारी दिएको छ । यद्यपि ती टिप्पणीहरू व्यक्तिगत रूपमा दिइएको भए पनि विश्वविद्यालयले त्यसलाई गम्भीर रूपमा लिएको छ । दुवै अधिकारीले आफ्नो कार्यप्रति माफी मागेका छन् ।

केआईआईटी विश्वविद्यालयले यो घटनाबाट पर्न गएको पीडाप्रति क्षमा माग्दै सम्पूर्ण नेपाली विद्यार्थी र नेपालका नागरिकप्रति आफ्नो अगाध प्रेम र सद्भाव व्यक्त गरेको छ । “हामी नेपाली विद्यार्थीहरूलाई अन्य देशका विद्यार्थीहरूलाई जत्तिकै माया गर्छौं,” विज्ञप्तिमा भनिएको छ । विश्वविद्यालयले आफ्ना नेपाली विद्यार्थीलाई बिना कुनै हिचकिचाहट नियमित कक्षामा फर्कन अनुरोध गरेको छ ।

 

सम्बन्धित समाचारः

ओडिसामा आईटी पढिरहेकी प्रकृति लम्सालको रहस्यमयी मृत्युपछि अवस्था तनावग्रस्त

प्रकृति लम्साल मृत्यु प्रकरणः नेपाली विद्यार्थी अलपत्र, विश्वविद्यालयको लाइसेन्स खारेज गर्न माग

पछिल्लो अध्यावधिक: फागुन ६, २०८१ १६:५३