काठमाडौं । चर्चित नेपाली एप ‘हाम्रोपात्रो’ले आफ्नो प्रिमियम भर्सन सुरु गरेको छ । प्रयोगकर्तालाई विज्ञापनरहित अनुभव दिन कम्पनीले बुधबारदेखि यस्तो सुविधा ल्याएको हो ।
कम्पनीकी फिनटेक अपरेसन डाइरेक्टर सुदिना गौतमका अनुसार यो फिचर सुरुवाती चरणमा एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध भएको छ । “आईओएस प्रयोगकर्ताका लागि केही दिनमा उपलब्ध हुन्छ,” गौतमले भनिन् ।
उनका अनुसार तीन ओटा प्लान सार्वजनिक गरिएका छन् । सबैभन्दा सस्तो भर्सनलाई कम्पनीले ‘बेसिक’ नाम दिएको छ । सुरुवाती चरणमा कम्पनीले यो प्लान १० रुपैयाँमा उपलब्ध गराएको छ । अर्को महिनादेखि भने यसलाई १९९ रुपैयाँ पर्नेछ । वार्षिक रूपमा सब्स्क्रिप्सन लिनु पर्यो भने प्रयोगकर्ताले दुई हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । यो फिचर प्रयोग गर्दा फुल स्क्रिन एड (स्क्रिनभरि आउने विज्ञापन) देखिंदैन । त्यसबाहेक गुगल क्यालेन्डर कनेक्ट गर्न सकिन्छ ।
त्यस्तै अर्को प्लान छ ‘प्रिमियम’ । मासिक २९९ रुपैयाँ वा वार्षिक तीन हजार रुपैयाँ तिरेर यो सेवा लिन सकिने कम्पनीले जनाएको छ । यो सब्स्क्रिप्सन लिइसकेपछि हाम्रो पात्रोमा कुनै पनि विज्ञापन देखिने छैनन् । साथै यसमा पनि गुगल क्यालेन्डर कनेक्ट गर्न सकिन्छ ।
सबैभन्दा महँगो प्लान छ ‘प्रिमियम प्लस’ । कम्पनीले यस प्लानका लागि मासिक ५९९ रुपैयाँ र वार्षिक छ हजार रुपैयाँ शुल्क तोकेको छ । कम्पनीका अनुसार यो प्लान खरिद गरिसकेपछि प्रयोगकर्ताले कुनै पनि विज्ञापन देख्ने छैनन् ।
त्यस्तै गुगल क्यालेन्डर पनि यसमा लिङ्क गर्न सकिन्छ । यो सब्सक्रिप्सन लिने प्रयोगकर्ताले हाम्रो पात्रोको ओटीटी प्लेटफर्ममा हुने फ्लिम हेर्न पाउनेछन् । त्यसबाहेक हाम्रो पात्रोका अन्य सशुल्क सेवा लिँदा विशेष छुट पाउन सकिने कम्पनीले जनाएको छ । त्यसबाहेक कम्पनीले यो सब्सक्रिप्सन लिन प्रयोगकर्तालाई लक्षित गर्दै विभिन्न अफर ल्याउने जनाएको छ ।
प्रिमियम सेवा लिनका लागि सबैभन्दा पहिले हाम्रो पात्रो एप खोल्नुहोस् । अनि अपडेट आउँछ त्यसलाई अपडेट गर्नुहोस् । त्यसपछि माथि दायाँपट्टि रहेको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् । र, मेम्बरशिपको अप्सनमा ट्याप गर्नुहोस् । अनि आफूलाई उपयुक्त हुने सब्स्क्रिप्सन छानेर सब्स्क्राइब गर्नुहोस् । अहिले हाम्रो पे र स्ट्राइपमार्फत शुल्क तिर्ने व्यवस्था रहेको छ ।