close

५५ लाख १६ हजार नेपालीसँग ई-पासपोर्ट, तपाईँले बनाउनु भयो ?

टेकपाना टेकपाना

जेठ १३, २०८३ १८:५१

५५ लाख १६ हजार नेपालीसँग ई-पासपोर्ट, तपाईँले बनाउनु भयो ?

काठमाडौँ । नेपालमा विद्युतीय राहदानी (ई-पासपोर्ट) प्रयोगमा आएयता यसको वितरणमा उल्लेख्य वृद्धि भएको छ । दक्षिण एसियाकै पहिलो राष्ट्रका रूपमा नेपालले १ मङ्सिर २०७८ देखि ई-पासपोर्ट वितरण सुरु गरेको थियो ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ को तथ्याङ्कअनुसार हालसम्म ५५ लाख १६ हजारभन्दा बढी नेपालीको हातमा विद्युतीय राहदानी पुगिसकेको छ ।

पछिल्ला वर्षहरूको तथ्याङ्क हेर्दा गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै १३ लाख १३ हजार २ सय ५४ थान विद्युतीय राहदानी जारी गरिएको थियो । त्यस्तै, चालु आर्थिक वर्षको पहिलो आठ महिना (साउनदेखि फागुनसम्म) मा मात्रै ८ लाख १९ हजार ४ सय ३४ थान राहदानी नागरिकलाई वितरण गरिएको मन्त्रालयले जनाएको छ ।

राहदानी लिने नागरिकहरूको लैङ्गिक अनुपात हेर्दा पुरुषको सङ्ख्या उल्लेख्य रूपमा बढी देखिन्छ । चालु आर्थिक वर्षको फागुनसम्म जारी भएका राहदानीमध्ये पुरुष (अन्य लिङ्गका सहित) को हिस्सा ६८.२ प्रतिशत रहेको छ भने महिलाको हिस्सा ३१.८ प्रतिशत छ ।

गत आर्थिक वर्षमा यो अनुपात पुरुषतर्फ ७०.६ प्रतिशत र महिलातर्फ २९.४ प्रतिशत रहेको थियो । यस तथ्याङ्कले पछिल्लो समय राहदानी बनाउने महिलाहरूको सङ्ख्यामा पनि क्रमिक रूपमा वृद्धि हुँदै गएको देखाउँछ ।

राहदानी बनाउने दरमा यसरी उच्च वृद्धि हुनुमा वैदेशिक रोजगारी र अध्ययनका लागि विदेशिनेहरूको बढ्दो चाप मुख्य कारण रहेको तथ्याङ्कले पुष्टि गरेको छ । आर्थिक सर्वेक्षणअनुसार हालसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या नै ६९ लाख नाघिसकेको छ ।

चालु आर्थिक वर्षको फागुनसम्ममा मात्र २ लाख ७३ हजार ५ सय ३० जना नेपालीले वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिएका छन् भने २ लाख ५१ हजार ९ सय ८३ जनाले पुनः श्रम स्वीकृति गराएका छन् । यसरी रोजगारी, उच्च शिक्षा र पर्यटनका लागि विदेशिने नेपालीको सङ्ख्या बढेसँगै राहदानीको माग पनि उच्च हुन पुगेको हो ।

सरकारले विद्युतीय राहदानीलाई राष्ट्रिय परिचयपत्र लगायतका अन्य सरकारी सूचना प्रणालीसँग अन्तर आबद्ध गर्दै सेवालाई थप प्रविधिमैत्री बनाएको छ । देशका लाखौँ नागरिकले यो आधुनिक र सुरक्षित ई-पासपोर्ट लिइसक्दा, के तपाईंले आफ्नो ई-पासपोर्ट बनाउनु भयो त ?

पछिल्लो अध्यावधिक: जेठ १३, २०८३ १९:१३