काठमाडौं । नेपाली हास्य-व्यङ्ग्य क्षेत्रका चर्चित अनुहार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी)ले आफूहरूमाथि लागेको आरोपको कडा खण्डन गरेका छन् । सामाजिक सञ्जालमा यूएसएआईडीको आर्थिक सहयोगमा धर्मविरोधी गतिविधि गरेको अफवाह फैलिएपछि एक भिडिओ सन्देश सार्वजनिक गर्दै उनीहरूले स्पष्टीकरण दिएका हुन् ।
कलाकार श्रेष्ठ भन्छन्, “हामीले समाजमा भएका विभिन्न विषयमा जनचेतना फैलाउने काम गर्दै आएका छौं । तर, पछिल्लो समय यूएसएआईडीको पैसा लिएर धर्मविरोधी काम गरेको भन्ने आरोप सुनिरहेका छौं, जसले हामीलाई अत्यन्त दुःखी बनाएको छ ।”
उनी अगाडि भन्छन्, “हामी सबैलाई आफ्नै सम्झन्छौं, हितैषी सम्झन्छौँ । तर, आफ्नै हितैषीबाट यस्तो आरोप सुन्नुपर्दा मन दुखेको छ । संसारमा राम्रा कुराहरू पनि छन्, नराम्रा कुराहरू पनि छन् । हामीले राम्रा कुराहरू मात्र छानेर काम गर्दै आएका छौं । कुष्ठरोग, क्षयरोग, खोपका कुराहरू जस्ता विषयमा काम गर्नु कुनै पनि हिसाबले अधर्म होइन ।” उनी थप्छन्, “हाम्रा टेलिफिल्महरू पूरा हेरेर जाँच्नुहोस्, त्यहाँ कुनै पनि अनर्गल प्रचार वा नचाहिने कुराहरू भेटिने छैनन् ।”
त्यस्तै हरिवंश आचार्य भन्छन्, “हामीले मदनबहादुर हरिबहादुर, आमा, असल लोग्ने र विभिन्न खोपका कार्यक्रमहरू गरेका छौं । ती सबै कार्यक्रम युट्युबमा किताबजस्तै छर्लङ्ग हुनेगरी राखिएका छन् । त्यहाँ कहीं कतै सनातन हिन्दु धर्म, बुद्ध धर्म वा अन्य कुनै पनि धर्मको विरोध गरिएको छैन, न त कसैलाई धर्म परिवर्तन गर्न उक्साइएको छ ।”
आचार्य थप प्रष्ट पार्दै भन्छन्, “हामी अहिले दुई ओटा चलचित्रको छायाङ्कनमा व्यस्त छौं । एउटामा मदन दाइले अभिनय गरिरहनुभएको छ, अर्कोमा मैले । यी चलचित्रहरूको छायाङ्कन सुरु हुनुभन्दा अगाडि हामीले भगवानको मन्दिरहरूमा पूजाआजा गरेका थियौं ।”
उनले ०५२ सालमा पञ्चायत व्यवस्थाको श्राद्ध भन्ने कार्यक्रममा एउटा पण्डितको पात्रको प्रवृत्तिको व्यङ्ग्य गरेको प्रसङ्ग उल्लेख गर्दै भने, “व्यङ्ग्य नेतालाई पनि गर्न पाइन्छ, पण्डितलाई पनि गर्न पाइन्छ, पुलिसलाई पनि गर्न पाइन्छ, डाक्टर, वकिल सबैलाई गर्न पाइन्छ । त्यसैको एउटा टुक्रालाई लिएर सनातन धर्मको विरोध गर्यो भन्नु कपोलकल्पित हो ।”
महजोडीले यस्ता भ्रामक कुराहरूको विश्वास नगर्न सर्वसाधारणलाई अनुरोध गरेका छन् । उनीहरूले भन्छन्, “हामी हाम्रो काममा निरन्तर लागि रहनेछौं । यस्ता कुराले हामीलाई हतोत्साहित बनाउन सक्दैन ।”