काठमाडौं । भारतको ओडिशा राज्यस्थित भुवनेश्वरको केआईआईटी विश्वविद्यालयमा उत्पन्न समस्याका कारण स्वदेश फर्किन बाध्य भएका नेपाली विद्यार्थीहरूका लागि त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययनको अवसर उपलब्ध गराइने भएको छ ।
त्रिवि शिक्षाध्यक्षको कार्यालयले एक विज्ञप्ति जारी गर्दै इच्छुक विद्यार्थीहरूले त्रिविमा उपलब्ध सम्बन्धित कार्यक्रम तथा विषयहरूमा क्रेडिट ट्रान्सफर नीति अनुरूप भर्ना लिन सक्ने जानकारी दिएको हो ।
यसअघि पूर्वाञ्चल विश्वविद्यालयले पनि केआईआईटीबाट फर्किएका विद्यार्थीका लागि क्रेडिट ट्रान्सफर सुविधा ल्याएको थियो ।
पछिल्लो समय नेपाली केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको आत्महत्या प्रकरणपछि अधिकांश नेपाली विद्यार्थी असुरक्षा महसुस गर्दै नेपाल फर्किएका छन् । सुरक्षाको कारण देखाउँदै नेपाल फर्किएका विद्यार्थी क्याम्पसले हारगुहार गरे पनि फर्किन तयार छैनन् । त्यसैलाई मध्यनजर गर्दै यी विश्वविद्यालयले यो सुविधा ल्याएको जनाइएको छ ।