close

इन्स्टाग्राम रिल्समा हिंसात्मक कन्टेन्टको बाढी, मेटाले माग्यो माफी

टेकपाना टेकपाना

फागुन १५, २०८१ १८:४८

इन्स्टाग्राम रिल्समा हिंसात्मक कन्टेन्टको बाढी, मेटाले माग्यो माफी

काठमाडौं । बुधबार इन्स्टाग्राममा आएको समस्याका बारेमा माफी माग्दै मेटाले यसको समाधान भइसकेको बताएको छ । प्रयोगकर्ताहरूले पर्सनल ‘रिल्स’ पेजमा बाढीसरह हिंसात्मक र संवेदनशील सामग्रीहरू आएको भन्दै गुनासो टिपाएका थिए । 

“केही प्रयोगकर्ताले इन्स्टाग्राम रिल फिडमा रिकमेन्ड हुन नपर्ने किसिमका कन्टेन्टहरू देख्ने समस्या समाधान गरेका छौँ । हामी गल्तीको लागि माफी माग्छौँ,” मेटाका प्रवक्ताले भने । 

इन्स्टाग्राम प्रयोगकर्ताले विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा हिंसात्मक न्युज फिड राखिएको भन्दै गुनासो गरेपछि मेटाले माफी मागेको हो । प्रयोगकर्ताले इन्स्टाग्रामको ‘सेन्सेटिभ कन्टेन्ट कन्ट्रोल’ इनेबल गरेको बेलामा पनि यस्तो कन्टेन्ट आएको बताएका हुन् । 

मेटाको नीतिअनुसार कम्पनीले प्रयोगकर्तालाई नकारात्मक किसिमका तस्बिरबाट रक्षा गर्ने र हिंसात्मक कन्टेन्टहरू हटाउने काम गर्छ । अंग भंग भएका शरीर, भित्री अंगसमेत देखिने तस्बिर वा जलेका शवहरू देखाउने भिडिओहरू, मानिस र जनावरहरूको पीडा दिएका दृश्य वा कमेन्टहरू इन्स्टाग्राममा प्रतिबन्धित सामग्रीमध्ये पर्छन् । 

यस्तै मेटाले प्रयोगकर्ताहरूलाई मानव अधिकार उल्लंघन, सशस्त्र संघर्ष वा आतंकवादी गतिविधिहरू जस्ता महत्त्वपूर्ण मुद्दाका बारेमा जानकारी दिने ग्राफिक्सहरू प्रयोग गर्न भने रोक्दैन । तर कस्ता ग्राफिक्स राख्न दिने भनेर यसमा सीमितता हुन सक्छ भने ग्राफिक्समा चेतावनीका लेबल पनि राखिएका हुन्छन् । 

बुधबार राति  इन्स्टाग्राम रिल्समा मृत शरीर, चोटपटक र हिंसात्मक आक्रमणहरू देखाउने पोस्टहरू देखिएका थिए । ती पोस्टहरूलाई 'संवेदनशील सामग्री' का रूपमा लेबल गरिएको थियो । 

मेटाको वेबसाइट अनुसार कम्पनीले आन्तरिक प्रविधि र १५ सयभन्दा बढी समीक्षकहरूको टोली प्रयोग गरेर नकारात्मक तस्बिर र भिडिओहरू डिटेक्ट गर्छ । यस प्रविधिमा एआई र मेसिन लर्निङ डिभाइस समावेश छन् । यी प्रविधिले मेटाको धेरै नीति उल्लङ्घन गर्ने सामग्री हटाउने काम गर्छ । 

त्यसैगरी, मेटाले आफ्नो प्लेटफर्महरूमा ‘न्यून-गुणस्तर, आपत्तिजनक, संवेदनशील वा युवाहरूका लागि अनुपयुक्त सामग्री’ रिकमेन्ड नगर्ने प्रयास गर्नेगरेको बताएको छ ।

पछिल्लो अध्यावधिक: फागुन १५, २०८१ १८:४८