close

पार्टनरको गोप्य कुरा थाहा पाउन जासुसी एप प्रयोग गर्दा आफ्नो डेटा पनि लिक !

टेकपाना टेकपाना

फागुन १९, २०८१ १६:१८

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौं । लाखौं एन्ड्रोइड र हजारौं आईफोन प्रयोगकर्ताहरूको संवेदनशील डेटा स्पाउजवेयर एप ‘स्पाइजी’ (Spyzie) मार्फत लिक भएको पाइएको छ । यस एपमार्फत लाखौं मानिसको ईमेल एड्रेस, टेक्स्ट मेसेज, कल रेकर्ड, फोटो लगायतका व्यक्तिगत जानकारी चोरी भएका अनुसन्धानले देखाएको छ ।

स्पाउजवेयर एपहरू प्रायः विवाह वा प्रेम सम्बन्धमा रहेका जोडी, अभिभावक वा प्रियजनहरूले जासुसी गर्न गोप्य रूपमा अरूको मोबाइलमा डाउनलोड हुने गर्छन् । अनुसन्धानकर्ताले ती एपसँग सम्बन्धित व्यक्तिगत जानकारीहरू शेयर मात्र नभइ गलत प्रयोग भइरहेको तथ्य बाहिर ल्याएका छन् । 

यस्ता स्पाइवेयर एप आफ्नो पार्टनरको फोनमा थाहै नदिई इन्स्टल गरिन्छ । यस्ता एपको प्रचार गर्दा कानुनी रूपमा निगरानी गर्न सकिने एपको रूपमा प्रस्तुत गरिन्छ । तर यी एप एप्पलको एपस्टोर र  गुगल प्ले स्टोरमा उपलब्ध हुँदैनन् । अरू वेबसाइटबाट डाउनलोड गर्नुपर्ने हुन्छ ।

डेटा लिक हुने समस्या ‘स्पाइजी’ एपमा मात्र देखिएको छैन । यसअघि ‘कोकोस्पाई’ र ‘स्पाइक’ जस्ता चर्चित स्पाइवेयर एपमा पनि डेटा लिक भइरहेको पाइएको थियो ।

यी एपको कोडिङमा समान किसिमका कमजोरी रहेको पाइएको थियो । अनुसन्धानकर्ताले ती कमजोरीहरूको फाइदा उठाउँदै तिनीहरूको सर्भरबाट संवेदनशील जानकारी प्राप्त गर्न सकेका थिए ।

अनुसन्धानकर्ताले ‘कोकोस्पाई’बाट १८ लाख १० हजार ईमेल ठेगाना र ‘स्पाइक’बाट करिब आठ लाख ८० हजार ईमेल ठेगाना फेला पारेका थिए । यी एपमार्फत संकलन गरिएका तस्बिर, मेसेज र कल रेकर्डहरू पनि अनुसन्धानकर्ताले आफ्नो पहुँचमा ल्याएका थिए ।

त्यस्तै, ‘स्पाइजी’का पाँच लाख १० हजारभन्दा बढी एन्ड्रोइड प्रयोगकर्ताको ईमेल ठेगाना र कम्तीमा चार हजार नाै सय जना आईफोन तथा आईप्याड प्रयोगकर्ताको संवेदनशील जानकारी सङ्कलन गरिएको अनुसन्धानले उल्लेख गरेको छ ।

-टेकराडारको सहयोगमा

पछिल्लो अध्यावधिक: फागुन २०, २०८१ १३:४०