काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता साओमीले मोबाइल वर्ल्ड कङ्ग्रेस (एमडब्लूसी) २०२५ मा साओमी १५ सिरिजका स्मार्टफोन सार्वजनिक गरेको छ । यस सिरिजमा साओमी १५ अल्ट्रा र साओमी १५ मोडेल समावेश छन् ।
यी फोनमा लेइका ट्युन्ड क्यामेरा र एन्ड्रोइड १५ मा आधारित हाइपरओएस टु प्रयोग गरिएको छ । त्यस्तै राइटिङ, स्पिच रिकग्निसन, इमेज इन्ह्यान्समेन्ट र भिडियो शुटिङका लागि एआई टुलहरू उपलब्ध छन् । साथै, गुगलसँगको साझेदारीमा जेमिनाई एआईलाई साओमी नोट्स, क्यालेन्डर र क्लक एप्समा पहुँच दिइएको छ ।
दुवै मोडेलमा स्न्यापड्रागन ८ एलिट चिपसेट छ । साओमी १५ अल्ट्रा १६ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ भने साओमी १५ मोडेल १२ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टमा आएको छ ।
साओमी १५ अल्ट्रा मा ५,४१० एमएएच ब्याट्री, ९० वाट वायर्ड चार्जिङ र ८० वाट वायरलेस चार्जिङ सपोर्ट छ भने साओमी १५ मा ५२४० एमएएच ब्याट्री, ९० वाट वायर्ड चार्जिङ र ५० वाट वायरलेस चार्जिङ उपलब्ध छ ।
साओमी १५ अल्ट्रामा ६.७३ इन्च एलटीपीओ एमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट, ३२०० निट्सको पिक ब्राइटनेस छ भने साओमी १५ मा ६.३६ इन्च एमोलेड डिस्प्ले, ३२०० निट्सको पिक ब्राइटनेस छ ।
साओमी १५ अल्ट्रामा ५० मेगापिक्सेलको लेइका १-इन्च सेन्सर, २०० मेगापिक्सेल सुपर टेलिफोटो लेन्स, ५० मेगापिक्सेल फ्लोटिङ टेलिफोटो लेन्स, ५० मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा र ३२ मेगापिक्सेल फ्रन्ट क्यामेरा दिइएको छ ।
त्यस्तै, साओमी १५ मा ५० मेगापिक्सेलको मुख्य सेन्सर, ५० मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा र ५० मेगापिक्सेलकै टेलिफोटो लेन्स रहेको छ भने ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ ।
साओमी १५ (१२ जीबी/२५६ जीबी) को मूल्य ९९९ युरो (करिब एक लाख ४५ हजार रूपैयाँ) बाट सुरु हुनेछ भने साओमी १५ अल्ट्रा (१६ जीबी/५१२ जीबी) को मूल्य १,४९९ युरो (करिब दुई लाख १७ हजार रूपैयाँ) बाट सुरु हुनेछ ।