close

ललितपुरमा गुड्न थाल्यो ई-बग्गी, एक महिनासम्म निःशुल्क यात्रा गर्न सकिने

टेकपाना टेकपाना

फागुन २०, २०८१ १५:३५

ललितपुरमा गुड्न थाल्यो ई-बग्गी, एक महिनासम्म निःशुल्क यात्रा गर्न सकिने

काठमाडौं । ललितपुरको पुल्चोक, महापाल, मंगल बजार, पाटन सुन्धरा हुँदै बुद्ध बिहारसम्म ई-बग्गी (इलेक्ट्रिक रिक्सा) गुड्न थालेको छ । फागुन १९ अर्थात् सोमबारदेखि ललितपुरका यी ठाउँमा ई- बग्गी चल्न थालेको हो ।

ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बिहान १० देखि साँझ ६ बजेसम्म पुल्चोकदेखि बुद्ध विहारसम्म ई-बग्गी पुग्दै फर्किरहेको जानकारी दिए । 

उनका अनुसार परीक्षणकाल अवधिभर यो बग्गीमा नि:शुल्क यात्रा गर्न सकिनेछ । “ललितपुरमा पर्यटकहरू घुम्न त आउँछन् । तर उनीहरू पाटन दरबार स्क्वायर र मंगलबजारमा मात्र सीमित छन् । उनीहरूलाई ललितपुरको अन्य पर्यटकीय स्थलमा पनि घुमाउने उद्देश्यले परीक्षण गरिरहेका छौँ,” उनले भने । 

परीक्षण सफल भए एक महिनापछि थप ४ ओटा ई-बग्गी किन्ने र व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने योजना रहेको हाछेथुले सुनाए । उनका अनुसार भविष्यमा लगनखेल, कुमारी पाटी जवाखेलहुँदै पुल्चोक फर्कने रुटमा चलाउने गरी योजना बनेको छ । “यो रिक्सा सानो गल्लीमा पनि जान सक्छ । विद्युतीय भएका कारण वातावरणमैत्री पनि छ,” उनले भने ।

हाल सञ्चालनमा रहेको ई-बग्गीमा चालकसहित सात जना बस्ने क्षमता रहेको छ ।

पछिल्लो अध्यावधिक: फागुन २०, २०८१ १५:४१