काठमाडौं । सामाजिक सञ्जालमा कलाकार प्रकाश सपुतबारे नकारात्मक टिप्पणी आउन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेको भन्दै सञ्जाल प्रयोगकर्ताको एक जमात प्रकाश विरुद्ध खनिएको हो ।
गत सोमबार प्रधानमन्त्री ओलीको जीवनीमा आधारित पुस्तक ‘केपी शर्मा ओली: सपना, सङ्घर्ष र सङ्कल्प’को लोकार्पण कार्यक्रममा बोल्नका लागि प्रकाशलाई बोलाइएको थियो । सो अवसरमा उनले ओलीको व्यक्तित्व र संघर्षको प्रशंसा गरेपछि सामाजिक सञ्जालमा कटाक्ष गर्दै सयौंले नकारात्मक कमेन्ट गरेका छन् ।
लोकार्पण समारोहमा प्रकाशले करिब सात मिनेट मन्तव्य दिएका थिए । उक्त मन्तव्यका साना क्लिपहरू टिकटक, फेसबुक, युट्युब, इन्स्टाग्राम लगायतका प्लेटफर्ममा अपलोड तथा शेयर गरिएका छन् । भिडिओमा प्रकाशले प्रधानमन्त्री ओलीको मुक्तकण्ठले प्रशंसा गरेको देखिन्छ ।
उनले जस्तोसुकै पृष्ठभूमिबाट आएपनि पछि गएर सफल हुन सकिन्छ भन्ने प्रेरणा प्रधानमन्त्री ओलीको जीवनबाट मिलेको बताएका थिए । ओली र अन्य नेताहरूको त्यागकै कारण देशमा परिवर्तन आएको र आजको स्थिति आइपुगेको उनले उल्लेख गरेका थिए ।
प्रधानमन्त्री ओलीले कलाकारितामा पनि चासो राख्ने गरेको बताउँदै प्रकाशले ‘सकम्बरी’ लगायतका आफ्ना गीत ओलीलाई याद रहेको सुनाए । उनले जनताका लागि भविष्यमा ओली लगायतका नेताहरूले नवीनतम प्रयासमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
यसपछि प्रकाशको मन्तव्यलाई साना साना क्लिप बनाई सामाजिक सञ्जालमा अपलोड गर्ने क्रम बढेको छ । ती क्लिपमा कमेन्ट गर्ने अधिकांशले नकारात्मक शैलीमा आफ्ना विचार राखेका छन् ।
एक प्रयोगकर्ताले प्रकाशलाई लक्षित गर्दै भनेका छन्, “गायकी छाडेर पार्टीको झोला बोक्न जाँदा हुन्छ ।” अर्का प्रयोगकर्ता लेख्छन्, “अब प्रकाश सपुतको करियर नै धरापमा पर्ने भयो ।”
कतिपयले प्रकाश सपुतको डेब्यु निर्देशनमा आगामी महिना प्रदर्शनमा आउने चलचित्र ‘बसन्त’ लाई बहिष्कार गर्नेसम्मको चेतावनी दिएका छन् ।
केही प्रयोगकर्ताले भने नेपाली समाजमा नकारात्मक मानसिकता मौलाउँदै गएको भन्दै जेमा पनि विरोध गर्ने प्रवृत्ति देखिनु दु:खद भएको धारणा राखेका छन् । उनीहरूले व्यक्तिगत रूपमा कसैको प्रशंसा वा आलोचना गर्दैमा विरोध गरिहाल्नु उचित नहुने बताएका छन् ।
प्रकाशको चलचित्र ‘बसन्त’ आगामी चैत २२ गतेदेखि प्रदर्शनमा ल्याउँदैछ । जसमा स्वस्तिमा खड्कासँगै उनी मुख्य भूमिकामा देखिनेछन् ।
चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्रका गीत तथा प्रचार सामग्री सार्वजनिक भइरहेका छन् । गत शनिबार चलचित्रको ‘बिना स्वादैको’बोलको गीत सार्वजनिक भएको थियो । उक्त गीतसँग प्रकाशको पछिल्लो क्लिप जोड्दै कतिपयले ‘बिना स्वादको भाषण’ भन्दै टिप्पणी गरेका छन् ।
प्रकाश सहभागी भएको कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमाले नेताहरू, दिनेश डीसी, केकी अधिकारी लगायतका कलाकारहरूको पनि उपस्थिति थियो । कार्यक्रममा नायिका अधिकारीले पनि प्रधानमन्त्री ओलीको प्रशंसामा शब्द खर्चिएकी थिइन् । त्यसपछि केही सामाजिक सञ्जाल प्रयोगकर्ता उनीमाथि पनि खनिएका छन् ।