काठमाडौं । नेपाली बजारमा नयाँ बिजुली गाडी ‘एमजी एस फाइभ’ सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै एमजी मोटर्सको आधिकारिक नेपाली बिक्रेता पारामाउन्ट मोटर्सले यो मोडेल सार्वजनिक गरेको हो । यो गाडी अत्याधुनिक प्रविधि, उच्च कार्यक्षमता र आधुनिक विशेषताहरूले भरिपूर्ण रहेको कम्पनीको दाबी छ ।
पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनील बहादुर क्षेत्रीले एमजी एस फाइभ ईभी इनोभेसन, सुरक्षा र आरामदायी यात्राका लागि बनाइएको उत्कृष्ट विद्युतीय गाडी भएको भनाइ राखे । गाडीमा समावेश आधुनिक प्रविधिले नेपालमा ईभीको परिभाषा नै परिवर्तन गर्ने उनले दाबी गरे ।
एमजी एस फाइभ ४९ किलोवाट आवर र ६२ किलोवाट आवर गरी दुई फरक ब्याट्री क्षमतासहित उपलब्ध छ । ४९ किलोवाट आवर ब्याट्री कम्फर्ट र डिलक्स गरी दुई भेरियन्टमा उपलब्ध छ भने ६२ किलोवाट आवर ब्याट्री डिलक्स भेरियन्टमा उपलब्ध छ ।
कम्फर्ट भेरियन्टले ३४० किलोमिटर र डिलक्स भेरियन्टले ४३० किलोमिटर रेन्ज दिने कम्पनीले उल्लेख गरेको छ । यस ईभीमा ९९ किलोवाटको मोटर जडान गरिएको छ । जसले २५० एनएम टर्क प्रदान गर्ने र अधिकतम १७५ किलोमिटर प्रतिघण्टा गति दिने बताइएको छ ।
यो गाडी विश्वकै सबैभन्दा पातलो ब्याट्रीयुक्त विद्युतीय गाडी भएको कम्पनीको दाबी छ । यसमा सहज यात्राका लागि रियर-ह्विल ड्राइभ सिस्टम, फाइभ-लिङ्क सस्पेन्सन र अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ । त्यस्तै १२.८ इन्चको सेन्ट्रल टचस्क्रिन र १०.२५ इन्चको डिजिटल क्लस्टर डिस्प्ले, वाई-फाई, युट्युब, स्पोटिफाइ, टिकटक जस्ता इन-बिल्ट एप्स, ४५३ लिटर बुट स्पेस र अत्याधुनिक स्टेरिङ ह्विल लगायतका सुविधा पाउन सकिन्छ । कम्पनीले एमजी आईस्मार्ट एपको ३ वर्षसम्मको निःशुल्क सब्सक्रिप्सन प्रदान गर्नेछ ।
कति छ मूल्य ?
एमजी एस फाइभको मूल्य ४९ किलोवाट आवर कम्फर्ट भेरियन्टको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै डिलक्स भेरियन्टका लागि ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । ६२ किलोवाट आवर डिलक्स भेरियन्टका लागि ५४ लाख ९९ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।