काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवाप्रदायक संस्थाहरूलाई नयाँ व्यवस्था लागु गर्न निर्देशन दिएको छ । भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै नियामकले विद्युतीय भुक्तानी सेवा निष्क्रिय र पुनः सक्रिय गर्न ग्राहकलाई सुविधा दिनुपर्ने व्यवस्था गरेको हो ।
योसँगै अब ग्राहकले आफ्नै एप वा वेब पोर्टलमार्फत विद्युतीय भुक्तानी सेवा निष्क्रिय र पुनः सक्रिय गर्न पाउनेछन् । यसअनुसार डिजिटल वालेट, मोबाइल बैंकिङ, क्यूआर कोड भुक्तानी लगायतका सेवा प्रदायकहरूले आफ्ना प्रणालीमा यस्तो सुविधा सुनिश्चित गर्नुपर्नेछ ।
नयाँ व्यवस्थाले ग्राहकलाई आफ्नो अकाउन्टको नियन्त्रण स्वयं लिन सहज बनाउने तथा साइबर सुरक्षामा सुधार ल्याउने राष्ट्र बैंकको विश्वास छ । विद्युतीय भुक्तानी सेवाप्रदायक संस्थाहरूले आगामी दिनमा राष्ट्र बैंकको निर्देशनअनुसार आफ्नो प्लेटफर्ममा यो प्रणाली परिमार्जन गरी सेवा दिनुपर्ने छ ।