close

युट्युबमा भिडिओ हेरिरहँदा पनि जेमिनाईसँग च्याट गर्न सकिने

टेकपाना टेकपाना

फागुन २३, २०८१ १४:३

युट्युबमा भिडिओ हेरिरहँदा पनि जेमिनाईसँग च्याट गर्न सकिने

काठमाडौं । अब युट्युबमा भिडिओ हेरिरहँदा पनि जेमिनाईसँग च्याट गर्न सकिने भएको छ । गुगलले एन्ड्रोइड प्रयोगकर्तालाई लक्षित गर्दै चाँडै नै यस्तो सुविधा ल्याउने तयारी गरेको हो । योसँगै प्रयोगकर्ताले युट्युब भिडिओ सामग्रीका बारेमा तुरुन्तै जानकारी लिन तथा सोधपुछ गर्न सक्नेछन् । 

यो फिचर डेस्कटपमा रहेको जेमिनाई २.० को स्क्रिन शेयरिङ फिचरसँग मिल्दोजुल्दो रहने बताइएको छ ।‍ जेमिनाईको स्क्रिन शेयरिङ फिचरले प्रयोगकर्तालाई आफ्नो स्क्रिन जेमिनाईसँग शेयर गर्न सक्ने सुविधा दिनेछ । यसबाट प्रयोगकर्ताले स्क्रिनमा देखिएका सामाग्रीका बारेमा सोध्न सक्नेछन् । उदाहरणका लागि, यदि तपाईंले कतै घुम्न जानका लागि एउटा ज्याकेट छान्नु भएको छ र त्यसलाई कसरी स्टाइल गर्ने र जुत्ता कस्तो लगाउँदा सुहाउँछ भनेर जेमिनाईसँग सुझाव लिन सक्नुहुन्छ । 

जेमिनाईको स्क्रिन शेयरिङ फिचरले प्रयोगकर्ताको स्क्रिन जेमिनाईसँग शेयर गर्न सकिने सुविधा प्रदान गर्छ । यसरी स्क्रिन शेयर गरेर स्क्रिनमा देखिएका वस्तुहरू के के हुन् भनेर सोध्न वा जेमिनाईसँग सुझाव पनि लिन सकिने छ ।

यसका साथै, जेमिनाईले युट्युब जस्ता एपहरूसँग सहजै अन्तरक्रिया गर्न सक्नेछ । उदाहरणका लागि तपाईं युट्युबमा कुनै रेसिपी हेर्दै हुनुहुन्छ र भिडिओमा प्रयोग भएको मसलाको बारेमा थप जान्न चाहनुहुन्छ भने जेमिनाईसँग तत्कालै सोध्न सक्नुहुनेछ ।

यस्तै पीडीएफ फाइल राखेर उक्त फाइलको सङ्क्षेप जानकारी, त्यहाँ के-कस्ता कुरा छन् भनेर जेमिनाईलाई सोध्न सकिनेछ । यसले अनुसन्धान प्रक्रियालाई पनि थप सहज बनाउने गुगलको विश्वास छ ।

जेमिनाईमा ल्याउन लागिएका यी फिचरहरू गुगलको प्रोजेक्ट अस्त्रले तयार पारेको हो । प्रोजेक्ट अस्त्रले एआई असिस्टेन्टलाई वातावरणलाई बुझेर प्राकृतिक रूपमा अन्तरक्रिया गर्ने किसिमको बनाउनतर्फ ध्यान दिँदै आएको छ । 

यो फिचर शुल्क तिरेर एड्भान्स जेमिनाई प्रयोग गर्ने एन्ड्रोइड प्रयोगकर्ताले यसै महिनाको अन्तिमसम्ममा पाउने बताइएको छ ।


 

पछिल्लो अध्यावधिक: फागुन २३, २०८१ १४:३