close

स्पेसएक्सको स्टारशिप रकेट फेरि असफल, प्रक्षेपणको केही मिनेटमै विस्फोट

टेकपाना टेकपाना

फागुन २४, २०८१ १२:१८

स्पेसएक्सको स्टारशिप रकेट फेरि असफल, प्रक्षेपणको केही मिनेटमै विस्फोट

काठमाडौं । प्रक्षेपणका क्रममा स्पेसएक्सको स्टारशिप रकेट फेरि विस्फोट भएको छ । बिहीबार टेक्सासबाट उडेको केही मिनेटमै रकेट विस्फोट भएको हो । 

मङ्गल ग्रह रकेट कार्यक्रमका लागि तय भएको उक्त उडान यस वर्षको दोस्रो परीक्षण उडान थियो । योसँगै अर्बपति उद्यमी एलन मस्कले तीन महिनामा दुई ओटा असफलताको सामना गर्नु परेको छ ।

सामाजिक सञ्जालमा देखिएका भिडिओमा स्टारशिपको भग्नावशेष दक्षिण फ्लोरिडा र बहामास नजिकै आकाशमा छरिएको देखिन्छ । द गार्डियनका अनुसार रकेटको इन्जिन बन्द भएर अनियन्त्रित रूपमा घुम्न थालेपछि दुर्घटना भएको थियो ।

गत महिनामात्रै कम्पनीको सातौं स्टारशिप उडान पनि विस्फोटमा टुङ्गिएको थियो । लगातारको यो असफलताले मस्कको योजनामा गम्भीर असर पारेको बताइएको छ । मस्कले यस वर्ष आफ्नो कार्यक्रमलाई तीव्रता दिने लक्ष्य राखेका थिए ।

४०३ फिट (१२३ मिटर) अग्लो रकेट प्रणाली टेक्सासको बोका चिका (Boca Chica) स्थित स्पेसएक्सको रकेट प्रक्षेपण केन्द्रबाट साँझ ६:३० बजे (इस्टर्न टाइम) उडेको थियो । सुपर हेभी पहिलो चरणको बुस्टर योजना अनुसार नै फर्किएको थियो ।

तर, केही मिनेटपछि स्पेसएक्सको लाइभस्ट्रिम भिडिओमा स्टारशिपको माथिल्लो भाग अन्तरिक्षमा घुमिरहेको देखियो । रकेटको इन्जिनको दृश्यमा धेरै इन्जिन बन्द भएको देखियो र कम्पनीले रकेटसँगको सम्पर्क टुटेको पुष्टि गर्‍यो ।

स्पेसएक्सका प्रवक्ता ड्यान हुओटले लाइभस्ट्रिममा भने, “दुर्भाग्यवश, अघिल्लो पटक पनि यस्तै भएको थियो । त्यसैले अब त केही अभ्यास भइसकेको छ ।” उक्त रकेटमा कुनै पनि अन्तरिक्षयात्री थिएनन् । प्रक्षेपणलगत्तै स्पेसएक्सले लाइभस्ट्रिम बन्द गरेको थियो भने भग्नावशेष कहाँ खस्यो भन्ने बारेमा कुनै जानकारी दिएको थिएन ।

स्पेसएक्सले एक्समा लेखेको छ, “रकेट अचानक अनियोजित रूपमा विच्छेदन भयो र सम्पर्क टुट्यो ।” 

कम्पनीले आफ्नो टोली सुरक्षा अधिकारीहरूसँग समन्वय गरिरहेको र विस्फोटको कारण पत्ता लगाउन उडान डेटाको समीक्षा गर्ने बताएको छ । “हामीले सिकेका कुराबाट सफलता मिल्छ र आजको उडानले स्टारशिपको विश्वसनीयता सुधार गर्न थप पाठ सिकाउनेछ,” कम्पनीले थपेको छ ।

क्यारेबियन क्षेत्रमा भग्नावशेष छरिएपछि संघीय उड्डयन प्रशासन (एफएए) ले मायामी फोर्ट लोडेरबल, पाम बीच र ओर्लान्डो एयरपोर्टमा व्यावसायिक उडानलाई कम्तीमा ८ बजे (इस्टर्न टाइम) सम्मका लागि रोकेको थियो । टर्क्स र कैकोस वरपरका उडानहरूलाई पनि डाइभर्ट गरिएको थियो ।

द गार्डियनका अनुसार प्रशासनले घटनाको अनुसन्धान सुरु गरेको छ भने स्पेसएक्सलाई असफलताको कारण पत्ता लगाउन र स्टारशिपलाई फेरि उडान गर्नुअघि एजेन्सीबाट स्वीकृति लिन आवश्यक हुने बताएको छ ।

१६ जनवरीमा अन्तरिक्षमा विस्फोट भएपछि स्टारशिपको यो पहिलो प्रक्षेपण प्रयास थियो । यो असफलताले मस्कको विकास योजनामा धक्का पुर्‍याएको छ । उनले ठूलो संख्यामा स्याटलाइटलाई अन्तरिक्षमा पठाउनुका साथै मानिसहरूलाई चन्द्रमा र मंगल ग्रहमा लैजान सक्ने रकेट बनाउने लक्ष्य राखेका छन् ।

जनवरीमा उडानको आठ मिनेटपछि रकेट अन्तरिक्षमा विस्फोट भएको थियो । त्यतिबेला क्यारेबियन टापुहरूमा भग्नावशेषहरू छरिएको देखिएको थियो । उक्त विस्फोट रकेटको तरल अक्सिजन ट्याङ्की नजिकै आगो लागेर भएको कम्पनीले जनाएको छ । त्यस समयमा प्रशासनले अस्थायी रूपमा व्यावसायिक उडानहरू रोकेको थियो भने स्पेसएक्सलाई अनुसन्धान गर्न आदेश दिएको थियो । स्पेसएक्सले त्यसपछि इन्धन लाइन र इन्धनको तापक्रममा परिवर्तन गरी यो प्रक्षेपण गरेको जनाएको थियो । 

पछिल्लो अध्यावधिक: फागुन २४, २०८१ १२:३४