काठमाडौं । बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्रीको पुनःप्रयोग र पुनर्चक्रणलाई प्रभावकारी बनाउने योजना अघि सारेको छ । ‘ग्लोबल रिसाइक्लिङ डे’ को अवसरमा कम्पनीले वातावरणीय दिगोपनप्रति प्रतिबद्धता जनाउन यस्तो योजना प्रस्तुत गरेको हो ।
विश्वभर विद्युतीय गाडीहरूको प्रयोग बढ्दै जाँदा प्रयोग भइसकेका ब्याट्रीहरूको सही व्यवस्थापन गर्नुपर्ने काम आफ्नो प्राथमिकता रहेको कम्पनीले उल्लेख गरेको छ । यस योजना अन्तर्गत बीवाईडीले दुई ठूला ब्याट्री पुन:प्रयोग गर्ने कम्पनीहरूसँग सम्झौता गरेको छ ।
अमेरिकाको क्यालिफोर्नियामा रहेको आईटी एसेट पार्टनर र चीनको वुहु सहरमा रहेको आनहुई लेचेङ लिथियम-आयन टेक्नोलोजी कम्पनीसँग सम्झौता भएको हो । मे २८, २०२४ मा भएको यो सम्झौताले बीवाईडीका विद्युतीय गाडीहरूमा प्रयोग हुने लिथियम-आयन ब्याट्रीहरूको सुरक्षित र प्रभावकारी पुन:प्रयोग सुनिश्चित गर्ने बीवाईडीको भनाइ छ ।
बीवाईडीका अनुसार यी दुवै कम्पनीहरूले वातावरणमैत्री पुन:प्रयोगको अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेका छन् । ब्याट्री पुन:प्रयोग प्रक्रियामा पहिलो चरणमा प्रयोग भइसकेका ब्याट्रीहरूलाई फेरि प्रयोग गर्न सकिन्छ कि भनेर क्षमता परीक्षण गरिनेछ ।
प्रयोग गर्न नमिल्ने ब्याट्रीहरूलाई सावधानीपूर्वक विच्छेदन गरी लिथियम, निकेल, कोबाल्ट जस्ता बहुमूल्य कच्चा पदार्थहरू निकालेर पुन:प्रयोगका लागि तयारी गरिनेछ भने त्यस्ता सामग्रीलाई तोकिएका प्रशोधन केन्द्रहरूमा पठाइनेछ । यो प्रक्रियाले वातावरणमैत्री पुनर्चक्रण सुनिश्चित गर्ने बीवाईडीले उल्लेख गरेको छ ।
नेपालमा पनि विद्युतीय सवारीप्रति आकर्षण बढ्दैछ । यस्तो अवस्थामा प्रयोगपछि ब्याट्रीको उचित व्यवस्थापन तथा पुनर्चक्रण अपरिहार्य रहेको भन्दै बीवाईडीले आफ्नो पहल नेपाल सरकारको दिगो विकास लक्ष्यसँग मेल खाने जनाएको छ ।
बीवाईडीको आधिकारिक नेपाली वितरक साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले भने, “दिगोपन केवल ईभी उत्पादनमा सीमित छैन, यसको प्रत्येक चरणमा जिम्मेवार पुनर्चक्रण अत्यावश्यक छ ।” बीवाईडीले वातावरण संरक्षणलाई आफ्नो विद्युतीय गाडी प्रणालीको हरेक भागमा लागू गर्ने प्रतिबद्धतालाई थप बलियो बनाएको उनले उल्लेख गरे ।