close

पब्जी खेल्न साइकल बेचेर आईफोन किनेका ‘किलर वाईटी’ ले दिए आमा-बुवालाई कार उपहार

हिक्मत आचार्य हिक्मत आचार्य

चैत ६, २०८१ १९:४८

पब्जी खेल्न साइकल बेचेर आईफोन किनेका ‘किलर वाईटी’ ले दिए आमा-बुवालाई कार उपहार

काठमाडौं । कुनै समय पब्जी खेल्नकै लागि साहस भण्डारी उर्फ किलर वाईटीले आफ्नो प्यारो साइकल नै बेचेका थिए । साइक्लिङमा रुचि भएका उनले दह्रो मन गरेर आफ्नो प्यारो सहयात्री बेचिदिए । अनि आईफोनमा लगनशील भएर पब्जी खेल्न थाले । 

मनोरञ्जनका लागि सुरु भएको पब्जीको यात्रा कहिले टुङ्गिन्छ भन्ने उनलाई अड्कल नै थिएन । झन् ईस्पोर्ट्समा नेपालको सेलिब्रेटी खेलाडी बनेर निस्किन्छु भन्ने त कल्पनै गरेका थिएनन् । तर निरन्तरको अभ्यास, रणनीति बनाउने सीप, भिन्नै क्षमताका कारण आज उनी किलर वाईटीका नामले देश-विदेशमा परिचित छन् ।

सन् २०२२ मा भएको पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपमा नेपाललाई दोस्रो बनाउन डीआरएस गेमिङका तर्फबाट उनको महत्त्वपूर्ण योगदान थियो । त्यही प्रतियोगिताले नेपालमा ईस्पोर्ट्सलाई हेर्ने नजर बदलिदियो । 

पब्जी खेल्न साइकल बेचेका उनले केही समयपहिले आमा-बुवालाई कार उपहार दिएका छन् । यस बिचमा उनको यात्रा रोमाञ्चक तरिकाले अगाडि बढ्यो । उनी अहिले नेपालका सफल पब्जी खेलाडीका रूपमा परिचित छन् ।

बाल्यकालदेखि नै ईस्पोर्ट्सप्रति लगाव

सन् २०१८ तिरको कुरा हो । त्यतिबेला विश्वव्यापी रूपमा प्लेयर अननोन्स ब्याटल ग्राउन्ड (पब्जी) मोबाइल गेमले चर्चा पाइरहेको थियो । राम्रो चिपसेट र पर्फमेन्स भएको डिभासइमा चल्ने यो गेम नेपालमा चर्चामा थियो ।

कक्षा ९ मा पढ्ने ललितपुर गोदावरीका १५ वर्षीय साहस भण्डारीलाई चिनजानका एक दाइले पब्जीको बारेमा सुनाए । “ठ्याक्कै मिति त थाहा छैन । तर जे होस् पब्जी आएको सिजन टुदेखि होला सायद । एउटा दाइले रेकमेन्ड गरेर मैले खेल्न थालेको थिएँ,” उनी सुरुवाती दिन सम्झिन्छन् । 

घरमा आमाको मोबाइल हुन्थ्यो । पहिले उनी बुवाले बनाइदिएको टाइम टेबल अनुसार पढ्थे, गृहकार्य गर्थे र फुर्सदको समयमा साइक्लिङ जान्थे । तर, फुर्सदको समयमा पब्जी खेल्न थालेपछि उनी साइक्लिङका लागि समय दिन नभ्याउने भए । र, पछि निरन्तर पब्जी खेल्न थाले । 

सुरुवाती दिनमा उनी बुवा-आमालाई थाहै नदिएर पब्जी खेल्थे । हुन पनि डरको माहोल थियो । पब्जी भन्नासाथ नकारात्मक रूपमा हेर्ने प्रवृत्ति थियो । त्यसैले उनलाई पनि त्यतिबेला लुकेरै खेल्नमा रमाइलो लाग्यो । 

यसो त साहसका बुवा शान्त भण्डारी छोरालाई सानैबाट विभिन्न किसिमका अनलाइन गेम खेल्न सिकाइरहेका हुन्थे । शान्त भन्छन्, “सदुपयोग गर्न जानियो भने अनलाइन गेमले मस्तिष्कमा राम्रो प्रभाव पार्छ, रचनात्मक क्षमता बढाउँछ, टाठो बनाउँछ भन्ने मैले बुझेको थिएँ । त्यसैले सानैबाट मोबाइलमा क्रियटिभ गेम त्यो पनि फुर्सदको समयमा खेल्न सिकाइरन्थें ।”

त्यो समय पब्जीले विश्वव्यापी रूपमा व्यापक चर्चा पाएको थियो । खासगरी छिमेकी देश भारतमा बढी चर्चा थियो । त्यतिबेला यसका सकारात्मक पक्षभन्दा नकारात्मक पक्षबारे बहस हुन्थे । खासगरी पब्जी खेल्ने व्यक्तिलाई फोनको लत लाग्ने, त्यसमा खर्च गर्ने रकमका लागि लुटपाट गर्न पछि नपर्ने, खेल्न नदिए आमा-बुवा वा अभिभावककै हत्या गर्ने जस्ता समाचार बाहिर आइरहेका थिए । त्यसैको प्रभावले नेपालमा पनि सांसद्हरूले पब्जीमाथि प्रतिबन्ध लगाउनुपर्छ भन्ने आवाज उठाएका थिए । 

यही डर साहसका बुवा शान्त भण्डारी र आमा गीता भण्डारीलाई पनि थियो । “त्यतिबेला पब्जीका नराम्रा कुरामात्र आइरहेका हुन्थे । मैले पनि राम्रोसँग बुझेको थिएनँ,” शान्त भन्छन्, “घर आउँदा छोराले पब्जी खेलेको देख्दा चिन्ता लाग्थ्यो । हामीले रोक्नै खोजेका थियौं ।”

आमालाई पनि यस्तै पीर थियो । उनको कोमल मनले कहिल्यै चाहेन कि छोरा कुनै चुनौतीपूर्ण, डरलाग्दो र कठिन यात्रामा हिँडोस् । त्यो समयमा पब्जीलाई मानिसले त्यसरी नै परिभाषित गर्थे । पब्जी खेल्नु कुनै अनकन्टार वनमा पस्नु सरह भन्दै व्याख्या गरिन्थ्यो ।

साहसकी आमालाई लाग्थ्यो- यो खेल एउटा अँध्यारो सुरुङ हो, जसले छोरालाई आफूबाट टाढा लैजान्छ, उसको भविष्यलाई अनिश्चित बनाइदिन्छ । उनको मातृत्वको सागरमा छोराको सुरक्षाको चिन्ताले छाल उठाइरहेको थियो । त्यसैले उनी साहसका बुवालाई छोरालाई पब्जी खेल्नबाट रोक्न दबाब दिइरहन्थिन् । “आफन्तले पनि छोराछोरीलाई पब्जी खेल्न दिनुहुन्न भन्थे,” आमा गीता सम्झिन्छिन्, “मैले पनि बुझेको थिइनँ । एक्लो छोरा राम्रोसँग पढेर विदेश जाओस् भन्ने लाग्थ्यो । नेपालभन्दा विदेशमा नै भविष्य छ भनेर आफन्तहरू पनि मलाई छोरालाई विदेश पठाउनु पर्छ भन्ने सुझाव दिनुहुन्थ्यो ।”

पब्जीबारे नकारात्मक धारणा मात्र सुनेकाले उनी चिन्तित थिइन् । त्यसैले उनी छोरालाई साइक्लिङ गर्न प्रेरित गर्थिन् । तर, साहस साइक्लिङका लागि समय दिन भ्याउँदैनथे । यसरी छोराले आफूलाई सबैभन्दा मन पर्ने खेल साइक्लिङ छोडेर पब्जी खेल्न थालेकोमा आमालाई चित्त बुझेको थिएन । उनले यो कुरा साहसका बुवालाई सुनाइन् ।

“पढाइ राम्रो थियो । ऊ लगनशील भएर पढ्छ । पब्जी खेल्दा उसको ध्यान पढाइमा जाँदैन कि भन्ने चिन्ता थियो हामीलाई,” बुवा शान्त भण्डारी थप्छन्, “साहसले हामीलाई गेमका बारेमा सम्झाउन पनि खोज्थ्यो । तर, हामीले त्यतिबेला बुझेनौँ ।”

सुरुमा साहसका बुवालाई पनि छोराले पब्जी खेलेको मन परेको थिएन । तर, बाहिर चर्चा भएजति यो खेल नकारात्मक भए त सबैले बन्द गर्थे वा खेल्नु हुँदैन भन्ने आवाज उठ्नुपर्ने जस्तो उनलाई लाग्थ्यो । पछि उनलाई यसका नकारात्मक पक्षको चर्चा बढि भएकाले पब्जीलाई आफूले नकारात्मक रूपमा हेर्ने गरेको भान भयो । र, उनी यस बारे थप अध्ययन गर्न थाले ।

“सुरुवातमा हामीले सपोर्ट गरेनौं । विश्वस्त भए पनि उसलाई सीमित समयका लागि मात्र खेल्न दियौं । सन् २०१९ मा कोभिड आएपछि उसलाई खेल्न दिने मौका मिल्यो,” साहसका बुवा सम्झिन्छन् ।

साहसले त्यतिबेला पब्जी कम्युनिटीमा राम्रो चर्चा पाउन थालेका थिए । छोराको चर्चा हुन थालेपछि बुवा शान्त भण्डारीले अनुसन्धानको दायरा बढाए । “मैले छोरालाई एउटा टाइम टेबल बनाइदिएको थिएँ,” बुवा शान्त भन्छन्, “पहिले टिभी हेर्न छुट्याएको समय अब पब्जी खेल भनेर सुझाव दिएँ ।”

साहसले पनि बुवाको सुझाव मान्दै गए । 

सन् २०१९ तिर साहसले एसईई दिए । एसईई सकिएसँगै विश्वव्यापी रूपमा कोभिड महामारी फैलिन थाल्यो । त्यसपछि अनलाइन खेलदेखि अनलाइन शैक्षिक प्लेटफर्मले राम्रो चर्चा पाए । कोभिडको लकडाउनमा समय दिएर पब्जी अभ्यास गर्दा साहस थप निखारिन पाए । 

प्लस टु र औपचारिक रूपमा ईस्पोर्ट्सको सुरुवात

सन् २०१८ बाट पब्जी खेल्न थालेका साहसले एक वर्षको अवधिमा आफूलाई राम्ररी तिखारेका थिए । पब्जीमा टुर्नामेन्ट (प्रतियोगिता) हुन्छ भन्ने थाहा पाएपछि उनी साथीसँग समूहमा पब्जी खेल्थे । ती दिन सम्झिंदै साहस भन्छन्, “टुर्नामेन्टमा राम्रो खेल्दै गएपछि विस्तारै ठुला ठुला प्रतियोगितामा सहभागी हुन थालें ।”

यसरी स-साना प्रतियोगितामा राम्रो प्रदर्शन गर्न थालेपछि उनी विभिन्न व्यक्तिहरूमाझ चिनिँदै गए । र, उनले सन् २०१९ मा औपचारिक प्रतियोगिताको सुरुवात पीएमसीओबाट गरे ।

पीएमसीओ भनेको स्थानीय स्तरको पब्जी प्रतियोगिता हो । त्यतिबेला उनले एनभीकेबाट खेलेका थिए । “त्यतिबेला क्वालिफाई गर्न सकेनौं हामीले । तर, कप खेल्नका लागि मेरो क्षमता देखेर एउटा दाइले बोलाउनु भयो,” उनी सम्झिन्छन् । यसरी एनभीकेबाट खेलेपछि उनको यात्रा भाइब्जमा मोडियो । 

भाइब्जबाट साहस भण्डारीलाई एक वर्षका लागि खेल्ने प्रस्ताव आयो । उमेर सानै भएकाले उनले आफै निर्णय लिन सकेनन् । र, सम्झौता पत्र बोकेर घर आइपुगे । त्यतिबेलासम्म साहसका बुवाले पब्जीका विभिन्न पक्षबारे बुझिसकेका थिए । त्यसलाई कसरी सदुपयोग गर्न सकिन्छ, त्यसको भविष्य कस्तो छ, त्यसले मानसिक रूपमा कस्तो प्रभाव पार्छ, करिअरका लागि उत्तम विकल्प बन्न सक्छ कि सक्दैन भन्ने ज्ञान थियो उनीमा ।

त्यसैले साहसको तर्फबाट सन् २०१९ मा भाइब्जको सम्झौतामा बुवा शान्त भण्डारीले हस्ताक्षर गरे । र, उनको औपचारिक ईस्पोर्ट्सको यात्रामा साँची बन्ने मौका पाए । “बाबा यो कन्ट्रयाक्ट छ हेरिदिनु भनेपछि मैले नै साइन गरिदिएँ,” बुवा शान्त भण्डारी अगाडि भन्छन्, “यसरी उसको औपचारिक खेलको सुरुवाती विन्दुदेखि नै म जोडिएको छु ।”

एसईईमा ३.५५ जीपीए ल्याएर उत्तीर्ण भएका साहस प्लस टुका लागि सन् २०२० मा बिजनेस अध्ययन गर्न द ब्रिटिश कलेजमा भर्ना भए ।

पब्जी खेल्न सघाउने बुवा !

छोराले खेलमा दिनानुदिन उत्कृष्ट प्रदर्शन गर्न थालेका थिए । त्यतिबेलासम्म बुवा शान्त भण्डारीले पनि पब्जीबारे धेरै थाहा पाइसकेका थिए । र, छोरालाई खुलेर समर्थन गर्न थाले । 

“प्रविधिमा हाम्रो पुस्ता र नयाँ पुस्ताबिच ठुलो ग्याप छ । छोराले यसैबाट राम्रो उपलब्धि गर्न थालेपछि मलाई पनि त्यतातिर रुचि लाग्यो,” उनी भन्छन्, “विश्वव्यापी रूपमा पब्जीको प्रभाव थाहा पाउने अवसर पाएँ । त्यहीँबाटै मलाई त्यतातिर रुचि लाग्यो ।”

सुरुवाती समयमा खेल बुझ्न उनका बुवा आफै पनि पब्जी खेल्थे । तर, उनलाई विस्तारै पब्जी आफ्ना लागि होइन भन्ने महसुस भयो । खासगरी विभिन्न रणनीति बनाउने, रचनात्मक हुने क्षमता आवश्यक पर्ने भएपछि उनका बुवाले सैद्धान्तिक ज्ञान लिने विचार गरे । र, अध्ययन गर्न थाले । अनि यसबारे बुझेर छोरालाई सुझाव दिने गरेका छन् ।

 

अहिले शान्त भण्डारी पब्जी कम्युनिटीमा चर्चित छन् । उनी आफूले जानेका कुरा, थाहा पाएका जानकारी, आवश्यक सूचना र सुझाव डीआरएसको फेसबुक फ्यान ग्रुपमा शेयर गर्छन् । ५८ हजार बढी समर्थक रहेको द रियल सोल्डर’स (डीआरएस फ्यान क्लब)लाई उनै शान्त भण्डारीले हाँकिरहेका छन् । उनी सोही ग्रुपमा पब्जी र ईस्पोर्ट्ससँग सम्बन्धित जानकारी शेयर गरिरहेका हुन्छन् । कहिले आफ्नो धारणा राख्छन्, कहिले अरूका धारणालाई स्थान दिन्छन् । समग्रमा ईस्पोर्ट्स, त्यसमा पनि पब्जीका समर्थकलाई एक ठाउँमा ल्याउन उनले महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

धेरै अभिभावक आफ्ना छोराछोरी अनलाइन गेमिङ वा ईस्पोर्ट्समा लागेको देख्दा चिन्तित हुन्छन् । सुरुवाती समयमा त्यही अवस्थाबाट गुज्रिएका साहसका बुवाले भने छोरालाई हौसला दिँदै आएका बताउँछन् । उनी भन्छन्, “म छोरालाई धेरै सपोर्ट गर्छु । आफूले थाहा पाएका विषयको जानकारी दिन्छु । उसको धारणा बुझ्न खोज्छु ।”

धेरै अभिभावकले उनीसँग आफ्ना छोराछोरी ईस्पोर्ट्समा लागेको बारेमा सल्लाह लिने गरेका छन् । “धेरै जनाले मलाई सोध्नुहुन्छ, ‘हाम्रो छोरा पनि ईस्पोर्ट्समा लागिरहेको छ, कसरी अगाडि बढ्ने होला ? तपाईंले सम्झाइ दिनुपर्यो।‍’ यो एउटा चुनौती पनि हो,” उनी आफूलाई आउने प्रश्न सुनाउँछन् । 

उनी अभिभावकलाई गेमका नियम र उमेरको हदबारे जानकारी लिन सुझाव दिन्छन् । उनी थप्छन्, “गेम धेरै प्रकारका छन् र त्यसमा उमेरको प्रतिबन्ध पनि हुन्छ । त्यसैले अभिभावकले यी कुरा बुझ्नुपर्छ ।” अभिभावक र बच्चाबिचको सम्बन्ध बलियो हुनुपर्नेमा उनको जोड छ । उनी भन्छन्, “बच्चालाई ग्याजेट दिएपछि उनीहरूले त्यसको कसरी प्रयोग गरिरहेका छन् भन्ने कुरा बुझ्नुपर्छ । अभिभावक र बच्चाबिचको सम्बन्ध एकदम महत्त्वपूर्ण हुन्छ । हामीले खुलेर कुरा गर्नुपर्छ ।”

किलर वाईटीको उदाहरण दिँदै उनी भन्छन्, “हामी सँगै बसेर समय तालिका बनाउँथ्यौँ । कहिले खेल्ने र कहिले पढ्ने भन्ने योजना बनाउँथ्यौँ । हामीले कक्षा ५-६ देखि नै सँगै बसेर तालिका बनाउन थालेका थियौं । अहिले पनि त्यसरी नै तालिका बनाएका छौं । तर, व्यावसायिक रूपमा खेल्न थालेपछि भने फरक पर्ने रहेछ ।”

ईस्पोर्ट्समा भविष्य छ कि छैन भनेर जान्नको लागि खेलाडीले आफ्नो क्षमता बुझ्न्नुपर्ने उनी बताउँछन् । “ईस्पोर्ट्समा आउनेले एउटा निश्चित समयमा आफ्नो क्षमता थाहा पाउनुपर्छ । मनोरञ्जनका लागि एक-दुई वर्ष खेल्नु ठिकै छ, तर यदि क्षमता छ भने खेलाडीको रूपमा अगाडि बढ्नुपर्छ,” उनी भन्छन् ।

अहिले धेरै प्रतिस्पर्धा भइरहेकोले खेलाडीले आफूलाई प्रमाणित गर्ने अवसर पाउँछन् । किलर वाईटीले पनि कप्सबाट नै आफूलाई प्रमाणित गरेका थिए । त्यसपछि बुवाले उनलाई समर्थन गर्दै गए ।

उनी भन्छन्, “बच्चा खेलिरहेको छ, तर आमा-बुवालाई केही थाहा छैन भने त्यो गलत हुन्छ । अभिभावक र बच्चा दुवैको प्रयास हुनुपर्छ ।” पढाइ र कामलाई निरन्तरता दिँदै समय व्यवस्थापन गरेर खेल्नुपर्ने उनको सुझाव छ ।

अहिले ईस्पोर्ट्समा व्यावसायिक खेलाडी पनि छन्, जसले तलब पाउँछन् । तर, नयाँ खेलाडीलाई सही प्रशिक्षणको आवश्यकता पर्ने उनी बताउँछन् । “डीआरएस जस्ता टिमहरूले नयाँ खेलाडीलाई मार्गदर्शन गर्नुपर्छ,” उनी भन्छन् । उनी कलेजमा पनि ईस्पोर्ट्स सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने विचार राख्छन् ।

अहिले समय नै प्रविधिको भएकाले यसैलाई आफ्नो करिअरको माध्यम बनाउन चाहने सन्तानलाई बाधा नपुर्‍याउन उनी अभिभावकलाई सुझाव दिन्छन् । “हामीले प्रविधिकै युगमा जन्मेका पुस्तालाई प्रविधिबाट टाढा राख्ने कुरा हुँदैन । राख्यो भने उनीहरू अन्धकारमा पर्छन्,” उनी थप्छन्, “त्यसैले सन्तानको क्षमता थाहा पाएर उचित मार्गनिर्देश गर्नुपर्छ ।”

सरकारले पनि देशमा ईस्पोर्ट्स प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनको तर्क छ । खासगरी विभिन्न स्थानीय र राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गरेर ईस्पोर्ट्स खेलाडीको क्षमता अभिबिद्धी गर्न सक्ने उनी सुनाउँछन् । पछिल्लो समय सरकारले गरेका समर्थनलाई उनले सकारात्मक रूपमा लिएका छन् । खासगरी खेलाडीलाई सम्मान र विभिन्न प्रतियोगितामा सरकारको साथ हुनुलाई नेपालका लागि राम्रो पक्ष भएको उनी सुनाउँछन् । 

आईफोन किन्न साइकल बेच्नुपर्ने अवस्था 

कक्षा ११ मा पढ्दा साहसलाई आमाको एन्ड्रोइड फोन स्लो लाग्न थाल्यो । फोनले राम्ररी पब्जी नधान्दा महत्त्वपूर्ण खेलमा उनको प्रदर्शन खस्किरहेको हुन्थ्यो । त्यसैलाई विचार गर्दै उनले बुवालाई अर्को फोन खरिद गर्न अनुरोध गरे । साहसका बुवाले ताम्राकार हाउसबाट उनका लागि ३० हजार रुपैयाँ पर्ने ओप्पो फोन खरिद गरिदिए ।

तर, पब्जी खेल्दै जाँदा उनलाई उक्त फोन स्लो लाग्न थाल्यो । र, उनले आईफोन खरिद गर्न अनुरोध गरे । छोराले भन्ने बित्तिकै खोजेकै आईफोन टक्रयाउन सक्ने क्षमता साहसका बुवामा थियो । तर, उनले छोरालाई त्यसको महत्त्व बुझाउन चाहे । उनले त्यतिबेला साहसलाई भने, “आईफोन चाहिन्छ भने तिम्रो साइकल बेच्नुपर्छ । कि साइक्लिङलाई नै निरन्तरता देऊ । होइन, पब्जी खेल्ने हो भने साइकल छोड्नुपर्छ ।”

साहसका लागि यो कठिन परिस्थिति थियो । साइक्लिङका विभिन्न प्रतियोगितामा राम्रो गर्दै आएका उनलाई उक्त साइकल गुमाउन थिएन । तर, उनको लगाव भने पब्जीमै थियो । त्यसैले उनले आफ्नो प्यासन अर्थात् साइक्लिङ छोड्ने योजना बनाएर र आईफोन किन्न तयार भए । यसरी साहसका बुवाले उनका लागि सन् २०२० तिर आईफोन ११ खरिद गरे ।

किन राखे साहसले आफ्नो नाम किलर वाईटी ?

साथीहरूसँग मिनी मिलिटिया खेल्दै गर्दा साहसले आफ्नो नामको पछाडि किलर भन्ने शब्द जोड्थे । यो टुडी अनलाइन गेममा सहभागीले एउटा समूहले विपक्षी समूहका सदस्यलाई विभिन्न हतियार प्रयोग गरी मार्नुपर्ने हुन्छ । त्यसैले साहसले आफ्नो नाम पछाडि किलर राख्न थाले । 

पब्जी खेल्न सुरु गरेपछि उनलाई त्यही नाम अर्थात् ‘साहस किलर’ मन परेको थियो । तर, पछि समूहमा जोडिएर खेल्ने क्रममा उक्त नामको क्यारेक्टर धेरै भए । उनले आफ्नो नामलाई किलर मात्र बनाए । तर, त्यो नाममा उनलाई केही अभाव भए जस्तो लाग्यो । “नाम छोटो भयो । केही नपुगेको जस्तो लाग्यो । के थप्ने भन्दा दिमागमा वाईटी आयो । त्यही राखिदिएँ,” उनी भन्छन् ।

त्यस बखत केही अर्थ नभएको उक्त वाईटी अहिले उनको युट्युब च्यानल जनाउने नाम बनेको छ । खासगरी युट्युबलाई छोटोमा वाईटी भन्ने भएकाले उनको नामको पछाडिको वाईटीले पनि युट्युब च्यानलकै झल्को दिन्छ । साहस भने युट्युबको वाईटी र आफ्नो नामको पछाडिको वाईटीको कुनै सम्बन्ध नभएको सुनाउँछन् । 

डीआरएसको यात्रा, आम्दानी र पढाइ 

सन् २०१९ देखि २०२१ सम्म भाइब्जमा उनले आफ्नो महत्त्वपूर्ण समय दिए । तर, सन् २०२१ को अन्तिमतिर भाइब्ज टिम खल्बलियो ।  यता राम्रो प्रदर्शन गरिरहेका किलर वाईटीलाई डीआरएसका मेनेजर सगिन भण्डारीले उक्त टिममा समावेश गर्ने प्रस्ताव गरे । 

किलर वाईटीले उक्त प्रस्ताव सहजै स्वीकारे र निरन्तर डीआरएसका लागि खेल्न थाले । त्यतिबेला उनीसँगै उक्त टिममा डेल्टा, रिपर, रेबेल आदी जोडिएका थिए । यसरी ईस्पोर्ट्समा प्रवेश गर्दा उनी कक्षा १२ मा अध्ययन गरिरहेका थिए । पढाइ पनि राम्रै हुँदै गयो ।

तर, उनी अधिकांश समय पब्जी खेलेरै बिताए । हालसम्म डीआरएसबाट उनले १०० भन्दा बढी म्याच खेलिसकेका छन् । त्यसमध्ये सबैभन्दा ठुलो उपलब्धि पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२२ मा हासिल गरे । त्यस बखत नेपाली टिम डीआरएस गेमिङ दोस्रो भएको थियो भने कूल दुई लाख ९२ हजार डलर बराबरको पुरस्कार जितेको थियो । २२ वर्षीय किलर वाईटीले सुरुवातदेखि आजसम्म एक करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।

ईस्पोर्ट्सको भविष्य र किलर वाईटीको आगामी यात्रा 

साहस भण्डारी नेपालमा ईस्पोर्ट्सको विकासको गतिलाई लिएर सन्तुष्ट छैनन् । उनी भन्छन्, “नेपालमा स्पोर्ट्सको सिन हेर्दा मलाई खासै चित्त बुझेको छैन । बाहिरका टिमहरूले जस्तो तयारी गर्छन्, यहाँ त्यस्तो वातावरण छैन । तर, यो सुधार भइरहेको छ ।”

उनी थप्छन्, “यहाँ एक-दुई दिन राम्रो खेल्यो, त्यसपछि सकिन्छ । यो तयारी र मानसिकता दुवैको कारणले हुन्छ ।” प्रोफेसनल टिमले राम्रो तयारी गरेपनि केही कमी रहेको उनी औंल्याउँछन् । “प्रोफेसनल टिमहरूले बुट क्याम्प गरिरहेका होलान्, तर पनि कोचको अभाव, ग्याजेटको अभाव वा सरकारको सहयोगको कमी लगायतका कुरा छन्,” उनी भन्छन् ।

खेल कस्तो हुने भन्ने विषय खेलाडीको मानसिकता र निरन्तरको अभ्यासमा भर पर्ने उनी बताउँछन् । “सानोतिनो टुर्नामेन्टमा आनन्दले खेलिन्छ, तर जब प्रेसर आउँछ, तब पर्फर्मेन्समा उतारचढाव आउँछ,” उनी भन्छन् ।

खेलको नियममा आउने परिवर्तनले पनि यसमा असर पारेको हुनसक्ने उनको बुझाइ छ ।

हाल डीआरएसबाटै खेलिरहेका उनले अहिले नै वैकल्पिक बाटो रोजिसकेका छैनन् । यद्यपि आम्दानी गरेको रकमलाई सदुपयोग गर्ने योजनामा छन् । “सधैं पब्जी खेलिन्छ भन्ने हुँदैन,” आफ्नो योजना सुनाउँदै उनी भन्छन्, “गेमिङसँग सम्बन्धित कुनै बिजनेस गर्ने सोच छ । म फुर्सदको समयमा व्यवसायकै बारेमा अध्ययन गरिरहेको हुन्छु ।”

छोराको भविष्यको योजनामा बुवा शान्त भण्डारी र आमा गीता भण्डारीले भरपूर साथ दिएका छन् । हरेक संघर्षबाट विचलित नभई निरन्तरता दिन उनीहरूले प्रेरित गरेका छन् । बुवा शान्त भण्डारी पनि विभिन्न बिजनेस आइडियाबारे‍ छोरासँग छलफल गरिरहेका हुन्छन् ।

व्यावसायिक खेलाडीले पब्जीबाट कति आम्दानी गर्छन् ?

पब्जीमा सधैं प्रतियोगिता हुन्छन् भन्ने हुँदैन । कहिलेकाहीँ सधैंजसो प्रतियोगिता परिदिन्छन् । यस्तोमा आम्दानी तलमाथि हुन्छ । औसतमा पब्जी खेलेर मासिक दुईदेखि तीन लाख रुपैयाँसम्म कमाउन सकिने उनी सुनाउँछन् । “व्यावसायिक रूपमा खेल्दै जाने हो भने मासिक तीन लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ,” उनी भन्छन्, “तर, सधैं आम्दानी त्यति नै हुन्छ भन्ने हुँदैन । थपघट भइरहन्छ ।”

आमा-बुवालाई कार उपहार !

करिअरको सुरुवातमा किलर वाईटीले गफै गफमा आमालाई एकदिन कारमा चढाउँछु भनेका थिए । उनकी आमा सम्झिन्छिन्, “कसैले पब्जी खेलेर पनि कही कमाई हुन्छ र ! भनेको उसले सुनेको थियो क्यारे । मनमा बिझेछ । ममी म एकदिन हजुरलाई कारमा चढाउँछु भनेको थियो ।”

छोराको यही भनाइ आमा गीता भण्डारीको मनमा गढेर बसेको थियो । उनी सुरुवाती समयमा जति चिन्तित भए पनि पछि खुलेर समर्थन गर्न थालिन् । आमालाई चिन्ता नमान्न किलर वाईटी सम्झाइरहन्थे । “बाबुले बाबा मामुलाई कार गिफ्ट गर्छु भन्ने कुरा मनमै राखेको रहेछ,” उनका बुवा भन्छन्, “पीएमजीसीपछि २०२२ मा उसले कार किन्ने पैसा जम्मा गरेर राखेको रहेछ । पहिले नै हामीलाई आईफोन गिफ्ट गरिसकेका थिए । ठुलो सपना भनेको कार गिफ्ट गर्ने रहेछ ।”  

राम्रो आम्दानी हुदै गएपछि २०२४ को सुरुवातमा किलरवाईटीले बुवा-आमालाई साढे ४१ लाख पर्ने सुजुकी फ्रोन्क्स कार गिफ्ट गरे । छोराले मूल्यवान् उपहार दिएपछि शान्त भण्डारीले कारको पछाडि ठुलो अक्षरमा लेखेका छन्, “अ गिफ्ट बाई माई सन ।’ अर्थात् मेरो छोराले दिएको उपहार । 

पुरस्कार र सम्मान

किलर वाईटीले आज पर्यन्त सयौं म्याच खेलेका छन् । अनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट नेपाललाई प्रतिनिधित्व गरी उपलब्धि हासिल गरेका छन् । सन् २०२२ मा १९ औं एसियाली खेलकुदमा उनी सम्मानित भएका थिए । त्यस्तै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले २०२२ मा उनलाई ईस्पोर्ट्सबाट सर्वोत्कृष्ट खेलाडीका रूपमा सम्मान गरेको थियो । 

त्यस्तै काठमाडौं युथ कन्क्लेभले पनि २०२३ मा ​ईस्पोर्ट्समा उनको योगदानको कदर गर्दै सम्मान गरेको थियो । त्यसैगरी उनको जन्मथलो गोदावरी नगरपालिकाले २०२४ मा शिक्षा दिवसको अवसरमा सम्मान गरेको थियो । 

२०२२ मा पीएमजीसीमा पहिलो रनरअप भएपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमै गएर किलर वाईटीसहित डीआरएसका अन्य टिमलाई सम्मान गरेका थिए ।

पछिल्लो अध्यावधिक: चैत ७, २०८१ १३:५५