काठमाडौं । नेपालमा पूर्ण विद्युतीय पिकअप ट्रक ‘रिड्डारा आरडी सिक्स’ को नयाँ मोडेल सार्वजनिक भएको छ । सीजी मोटर्सले सोमबार ललितपुरको हात्तीवन रिसोर्टमा एक कार्यक्रम आयोजना गर्दै यो गाडी सार्वजनिक गरेको हो ।
कार्यक्रममा गाडीको अफरोड क्षमताको परीक्षणसमेत गरिएको थियो, जसमा कच्ची उकालो-ओरालो सडक सहजै पार गरेको थियो । सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेमन्त अग्रवालले विद्युतीय पिकअप सेग्मेन्टमा यो गाडी नयाँ प्रविधि र सुविधासहित नेपाली बजारमा प्रवेश गरेको छ । उनका अनुसार यो गाडी सहरी तथा अफरोड दुवै यात्राका लागि उपयुक्त छ ।
‘रिड्डारा आरडी सिक्स’ मा नेपालका सडक अवस्थालाई ध्यानमा राखेर सात प्रकारका ड्राइभिङ मोड राखिएका छन्– स्यान्ड, मड, अफ-रोड, वाडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट । साथै, गाडी वरिपरिका दृश्य स्पष्ट हेर्न तथा सुरक्षा प्रदान यसमा ५४० डिग्री सराउन्डिङ भ्यु क्यामेरा जडान गरिएको छ ।
‘रिड्डारा आरडी सिक्स’ मा २.५ जेनेरेसनको एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (एड्यास) उपलब्ध छ । जसमा १४ किसिमका सुरक्षा प्रविधि छन् ।
एक पटक चार्ज गरेपछि गाडीले ४२४ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । गाडीमा ७३ केडब्लूएच क्षमताको ब्याट्री जडान गरिएको छ भने ५० वाटको वायरलेस चार्जिङ प्याडसमेत समावेश छ ।
पाँच जना यात्रु अटाउने क्षमता रहेको गाडीको कार्गो पेलोड क्षमता ३,००० किलोग्राम रहेको कम्पनीले उल्लेख गरेको छ । साथै, १४.६ इन्चको टचस्क्रिन डिस्प्ले, भ्वाइस कमान्ड सपोर्ट गर्ने स्टेरिङ ह्विल र विभिन्न स्मार्ट फिचर यसमा छन् ।
कम्पनीले गाडीको मूल्य सनरुफ बिनाको भर्सनको लागि ७९ लाख ९९ हजार, सनरुफसहितको भर्सनको लागि ८१ लाख ९९ हजार र डुअल सनरुफ भर्सनको लागि ८२ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।