काठमाडौं । नेपाली भाषा टाइप गर्न अब किबोर्डमा अक्षर खोजिरहनु नपर्ने भएको छ । बोल्नेबित्तिकै शब्द आफैं स्क्रिनमा देखिने प्रविधि विकास भएको छ । बर्क्ली कम्प्युटर प्राइभेट लिमिटेडले विकास गरेको वेबसाइट ‘लेख्नुस्’ (Lekhnus) मा प्रयोगकर्ताले आफ्नो आवाजलाई नेपाली टेक्स्टमा रूपान्तरण गर्न सक्छन् ।
कम्पनीका प्रबन्ध निर्देशक भूपाल सापकोटाका अनुसार ‘लेख्नुस्’ हाल वेब भर्सनमा उपलब्ध छ । यो वेबसाइट प्रयोग गर्न मोबाइल वा कम्प्युटरको ब्राउजरमा गई ‘lekhnus.com’ खोल्नुपर्छ ।
वेबसाइटमा गइसकेपछि त्यहाँ रहेको माइक्रोफोनको बटनमा थिचेर पर्मिसन दिनुपर्छ । अब नेपाली बोल्न थालेपछि स्वतः स्क्रिनमा नेपाली टेक्स्ट आउँछ । त्यहाँ दिइएको माइनस (-) बटनमा थिचेर अडिओ बन्द गर्न सकिन्छ ।
सापकोटाका अनुसार ‘लेख्नुस्’ १० हजारभन्दा बढी पटक भिजिट भइसकेको छ । कुनै शब्द सीमा नराखी बोल्दै टाइप गर्न मिल्ने यस वेबसाइटबाट रोमनमा लेखेर टाइप गर्न मिल्ने, प्रीति फ्रन्टमा टाइप भएका टेक्स्टलाई युनिकोडमा कन्भर्ट गर्ने काम पनि हुन्छ ।
उनका अनुसार यो वेबसाइट सामाजिक सञ्जालमा स्ट्याटस लेख्न, कन्टेन्ट राइटर तथा फ्रिल्यान्सरहरूको लागि निकै उपयोगी हुनेछ । यसमा वर्ड काउन्टको सुविधा पनि छ ।
प्रयोगकर्ताले ‘लेख्नुस् डटकम’ रुचाए मोबाइल एप विकासमा जुट्ने उनले बताए । “लेख्नुस डटकममा रहेको फिडब्याक बटनमा थिचेर प्रतिक्रिया दिन सकिन्छ । प्रतिक्रियाका आधारमा हामी प्लेटफर्म सुधार गर्दै लैजान्छौँ,” उनले भने ।
यस्तै लेख लेख्न तथा शुद्धाशुद्धि जाँच गर्न ‘लेख्नुस्’ मा एआई असिस्टेन्ट फिचर ल्याउने योजना रहेको उनले सुनाए ।