काठमाडौं । सोमबार मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने निर्णय गरेसँगै सामाजिक सञ्जालमा विभिन्न च्याटहरू भाइरल भइरहेका छन् ।
कुलमानलाई हटाउने निर्णयपछि सामाजिक सञ्जालमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीको फेसबुक आईडीबाट कुराकानी गरेको जस्तो देखिने च्याट भाइरल भयो । जहाँ प्रमुख सचेतक शाहीले प्रचण्डले कुलमानलाई हटाएमा राजावादी आन्दोलनलाई व्यापक बनाउन सहज हुने भन्दै लेखेको टेक्स्ट राखिएको छ ।
यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को फेसबुक च्याट जस्तो देखिने अर्को स्क्रिनशट पनि भाइरल भएको छ । जहाँ प्रचण्डले कार्यकर्तासँग टीआरसी विधेयकसँग कुलमान घिसिङ साटेको भन्दै कुराकानी गरेको जस्तो देखाइएको छ ।
त्यसपछि बुधबार प्राइम टेलिभिजनमा ऋषि धमलाले सञ्चालन गर्ने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा शाहीले उक्त सन्देश नक्कली भएको र आफूले त्यस्तो सन्देश नलेखेको दाबी गरे ।
शाहीले च्याट आफ्नो नभएको मात्र दाबी गरेनन्, यस्तो फेक च्याट कसरी र कुन एपमार्फत बनाउन सकिन्छ भन्ने पनि बताए ।
उनले टेलिभिजन कार्यक्रममा नक्कली च्याट बनाउन सकिने एपको नाम लिँदै त्यस एप प्रयोग गरेर कसरी फेक च्याट तयार पार्ने भनेर विस्तृत रूपमा जानकारी गराए । यो समाचार तयार पार्दासम्म युट्युबमा सार्वजनिक उक्त कार्यक्रमको भिडिओ एक लाख ४७ हजारभन्दा बढी पटक हेरिएको छ ।
शाहीले बिहीबार बिहान १० बजे उक्त च्याटलाई लिएर स्पष्टीकरण दिनुका साथै कसरी नक्कली च्याट बनाइन्छ भनेर टेलिभिजन कार्यक्रममा बोलेको भिडिओ जोडेर आफ्नो फेसबुक पेजमा राखेका छन् ।
यो भिडिओ दुई लाख ७१ हजार पटक हेरिसकिएको छ भने १८ हजारभन्दा बढी लाइक र १९ सयभन्दा बढी कमेन्ट गरिएका छन् ।
सामाजिक सञ्जाल तथा साइबर सुरक्षा जानकारहरूले भने शाहीजस्तो जिम्मेवार व्यक्तिले यस्तो जानकारी सार्वजनिक गर्नु गलत भएको टिप्पणी गरेका छन् । यस्ता गतिविधिले गलत सूचना फैलाउने प्रवृत्तिलाई बढावा दिन सक्ने उनीहरूको भनाइ छ ।