close

काठमाडौं महानगरको जरिवाना तिर्न भन्दै राजावादीले सामाजिक सञ्जालबाटै उठाए सबै रकम*

टेकपाना टेकपाना

चैत १८, २०८१ २०:२७

काठमाडौं महानगरको जरिवाना तिर्न भन्दै राजावादीले सामाजिक सञ्जालबाटै उठाए सबै रकम*

काठमाडौं । काठमाडौं महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा तोकेको जरिवाना तिर्न राजावादीहरूले सामाजिक सञ्जालबाट रकम सङ्कलन गरेका छन् । राजावादी समर्थक रमेशराज बास्तोलाले सोमबार बेलुकासम्म महानगरपालिकालाई तिर्ने रकम सङ्कलन भएको जानकारी दिएका हुन् । 

“हार्दिक कृतज्ञता व्यक्त गर्दछु । सात लाख ९७ हजार रुपैयाँ उठेको जानकारीसहित, साथै रकम उठाउन बन्द भएको जानकारी पनि गराउँछौं,” बास्तोलाले फेसबुकमा लेखेका छन् । उनले यस अभियानमा जोडिने सम्पूर्णलाई धन्यवाद दिँदै रकम सङ्कलनको काम बन्द भएको उल्लेख गरेका छन् ।

गत शुक्रबार राजधानीमा राजतन्त्र पुनर्स्थापनाको माग राख्दै भएको आन्दोलनका क्रममा फोहोरमैला गरेको र दमकलमा क्षति पुर्‍याएको भन्दै महानगरले ज्ञानेन्द्र शाहको नाममा सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको थियो । आइतबार जरिवाना पत्र बुझाउन निर्मल निवास पुगेको महानगर प्रहरीको टोलीले भित्र प्रवेश गर्न नपाएपछि हुलाकबाटै पत्र पठाइएको थियो ।

महानगरले पूर्वराजा ज्ञानेन्द्रको नाममा जरिवाना पत्र काटेपछि राजावादीहरूले काठमाडौंका मेयर बालेन शाहको आलोचना गरिरहेका छन् । पर्यटन प्रवर्द्धक समेत रहेका र राजतन्त्र पुनर्बहालीका पक्षधर बास्तोलाले भने बालेनले कसैको उस्काहटमा लागेर जरिवाना तिराउने निर्णय गरेको उल्लेख गरेका छन् । “बालेन साहले कसैको उक्साहटमा उनले राजा को नाममा जरिवाना पत्र लेखेकोमा खेद प्रकट गर्दछौं,” उनले लेखेका छन् । 

अब भने आन्दोलनका लागि जसले अनुमति लिएको थियो, उसैको नाममा पत्र काट्नुपर्ने उनीहरूको माग छ । त्यसपछि राजावादी समर्थकले महानगरलाई जरिवाना तिरिदिने उनले पोस्टमा उल्लेख गरेका छन् ।

*समाचारको शीर्षक सच्याइएको छ । स.

पछिल्लो अध्यावधिक: चैत १८, २०८१ २०:४८