close

एप्पलको स्याटलाइट सञ्चार योजनामा एलन मस्क बने तगारो

टेकपाना टेकपाना

चैत १९, २०८१ १३:४२

एप्पलको स्याटलाइट सञ्चार योजनामा एलन मस्क बने तगारो

काठमाडौं । मोबाइल नेटवर्कले काम नगर्ने ठाउँमा पनि फोन चलाउन सहज बनाउने स्याटलाइट सेवा विस्तार गर्ने योजनामा एप्पल र एलन मस्कको स्पेसएक्स कम्पनीबिच विवाद बढेको छ । स्टारलिङ्क, ग्लोबलस्टार,  इकोस्टार, भियास्याटजस्ता कम्पनीहरूले प्रयोग गर्ने ब्यान्डहरूमा यी दुई कम्पनीबिचको विवाद सतहमा आएको हो ।

एप्पलले स्याटलाइट अपरेटर ग्लोबलस्टारमा एक अर्ब डलर बढी लगानी गरिसकेको छ । एप्पलले आईफोनको लागि थप स्पेक्ट्रम पहुँच र कनेक्टिभिटी सपोर्ट प्रदान गर्न इकोस्टारजस्ता अन्य स्याटलाइट सेवा प्रदायकहरूसँग पनि काम गरिरहेको छ ।

अझ लगानी गरेर थप ब्यान्डहरू आफ्नो बनाउने रणनीतिमा रहेको एप्पललाई रोक्न एलन मस्क लागिपरेका छन् । मस्कले अमेरिकी सञ्चार नियामक निकायलाई ग्लोबलस्टारको नयाँ स्याटलाइट नेटवर्क बनाउने योजना रोक्न दबाब दिएका छन् ।

मस्कको स्पेसएक्सले आफ्नो स्टारलिङ्क नेटवर्कमार्फत मोबाइल सञ्चार प्रदान गर्न ५५० भन्दा बढी स्याटलाइ प्रक्षेपण गरिसकेको छ । वाल स्ट्रिट जर्नलका अनुसार यी दुवै कम्पनी आफ्ना सिग्नलहरू प्रसारण गर्न सीमित फ्रिक्वेन्सी स्पेक्ट्रमको लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

एप्पलले अन्तरिक्ष प्रविधिमा गरेको लगानीलाई लिएर मस्कले बारम्बार कटाक्ष गर्दै आएका छन् ।​ स्पेसएक्स र टी-मोबाइलले आईफोनमा स्टारलिङ्क ल्याउन एप्पललाई साझेदारीको प्रस्ताव गरेपछि विवाद बढेको थियो । लामो वार्तापछि ‍स्पेसएक्स र टी-मोबाइलको स्याटलाइट सेवाहरू आईफोनमा काम गर्न अनुमति दिने साझेदारीमा सहमत भएका थिए ।

एप्पल र स्पेसएक्सबिचको पछिल्लो विवाद कम्पनीहरूको स्याटलाइट सेवा विकास गर्ने फरक रणनीतिबाट उत्पन्न भएको विश्लेषण गरिएको छ । एप्पल ग्लोबलस्टारसँगको साझेदारीमार्फत कभरेज प्रदान गर्न चाहन्छ । जबकि स्पेसएक्स आफ्नो ठुलो स्याटलाइट फ्लिटको साथ आफ्नो स्टारलिङ्क नेटवर्कलाई अगाडि बढाउने प्रयासमा छ । ‍

यदि नियामक निकायले ग्लोबलस्टारको योजनालाई रोकेमा स्पेसएक्सलाई आर्थिक रुपमा केही फाइदा हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: चैत १९, २०८१ १४:१७