close

काठमाडौंमा यी क्षेत्रमा सवारी जामको सम्भावना, यात्रा गर्नु पहिले यसरी लिनुहोस् ट्राफिक अपडेट

टेकपाना टेकपाना

चैत २६, २०८१ ८:३६

काठमाडौंमा यी क्षेत्रमा सवारी जामको सम्भावना, यात्रा गर्नु पहिले यसरी लिनुहोस् ट्राफिक अपडेट

काठमाडौं । आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आयोजना हुने आन्दोलन तथा प्रदर्शनका कारण मुख्य सडकखण्डहरूमा सवारी जामको सम्भावना अत्यधिक देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्वमा बल्खु क्षेत्रमा राजतन्त्रको पक्षमा र्‍याली र सभा हुने भएकाले त्यहाँ सबैभन्दा ठुलो भिड हुने अनुमान गरिएको छ ।

यसबाहेक माइतीघर–बबरमहल क्षेत्रमा शिक्षकहरूको आन्दोलन, रत्नपार्कमा राष्ट्रिय जनमोर्चाको कार्यक्रम र सहकारी तथा लघुवित्त पीडितहरूको विरोध प्रदर्शन पनि आजकै दिन तय भएकाले सवारी व्यवस्थापनमा असर पर्ने ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

एकैदिन चार स्थानमा प्रदर्शन तथा जुलुस हुने भएकाले सकेसम्म बिहान १० बजेसम्म नै गन्तव्यमा पुग्न ट्राफिक प्रहरीले यात्रुहरूलाई अनुरोध गरेको छ । प्रमुख प्रदर्शन स्थलहरूमा डाइभर्सनको व्यवस्था गरिएको र वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको छ ।

डाइभर्सनका लागि खसीबजार–मकालु–कलंकी चोक–बाफल, बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक–टेकु, कीर्तिपुर–सुन्दरीघाट–सानेपा–एकान्तकुना, टीयू गेट–चोभार, सानेपा करिडोर सडक र चोभार सुक्खा बन्दरगाह क्षेत्रमा मार्ग परिवर्तन र पार्किङको व्यवस्था गरिएको छ । नयाँ बसपार्क र सीतापाइला–बाफल सडकखण्डमा एकतर्फी पार्किङको सुविधा पनि मिलाइएको छ ।

नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघरबीच जुलुस गर्ने तयारी गरेको छ भने सहकारी तथा लघुवित्त पीडितहरूले शान्तिबाटिकामा कार्यक्रम तय गरेका छन् । यी क्षेत्रहरूमा पनि आवश्यकतानुसार डाइभर्सन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

यात्रुहरूले ट्राफिक एफएम ९५.५ मेगाहर्ज, ट्राफिक प्रहरीको फेसबुक पेज, मेट्रो ट्राफिक डिभिजनको पेजमार्फत लाइभ अपडेट लिन सक्नेछन् । साथै, ट्राफिकको तत्कालीन अवस्था बुझ्न ‘१०३’ नम्बरमा सम्पर्क गर्न सकिनेछ । ट्राफिक प्रहरीले बिहान घरबाट निस्कनुअघि एकपटक ट्राफिक जानकारी लिएर मात्र यात्रा गर्न सुझाव दिएको छ ।

पछिल्लो अध्यावधिक: चैत २६, २०८१ ९:११