काठमाडौँ । पठाओ नेपालले आफ्नो सिस्टममा रेन्टल सेवा थप गरेको गरेको छ । ‘मुभिङ नेपाल’ नारासहित सुरु भएको यस सेवाअन्तर्गत पठाओको मोबाइल एपमार्फत कार, एसयूभी, माइक्रो र मिनिबसदेखि ठुला बससम्म बुक गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार प्रयोगकर्ताले कम्तीमा एक घण्टा अगाडि वा बढीमा सात दिनअघि नै गाडी बुक गर्न सक्नेछन् । विवाह, पिकनिक, पर्यटन तथा कार्यालयको प्रयोजनका लागि पनि आवश्यकता अनुसारका गाडी बुक गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।
पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातका अनुसार सवारी बुक गर्दा प्रयोगकर्ताले आफैंले भाडा प्रस्ताव समेत गर्न सक्नेछन् भने दुवै पक्षबीच सहमतिपछि यात्रा सुनिश्चित हुनेछ । निर्धारित भाडामा सडक दस्तुर, पार्किङ, इन्धन र रातको बसाइलगायतका सबै खर्च समेटिनेछ ।
“पठाओ रेन्टल सेवा यात्रुहरूको सहजता र पठाओका चालकका लागि अतिरिक्त आम्दानीको अवसरका लागि ल्याइएको हो,” बस्न्यातले भने, “यस सेवामार्फत यात्रालाई अझ व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य लिएका छौँ ।”
अन्य सेवामा जस्तै यस सेवामा पनि बीमा सुविधा उपलब्ध गराइएको उनले जानकारी दिए ।